पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २०८० वैशाखमा नियुक्त भएका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान थियो । तर आर्थिक वर्षको अन्त्यमा नियुक्त भएकोले नयाँ आर्थिक वर्षसँगै सम्पत्ति विवरण सार्वजनिक गरेको उनीहरुले जनाएका छन् । उनीहरुले सार्वजनिक गरेको विवरण अनुसार कसैसँग निजी वन छ भने घर जग्गा र सुनचाँदी प्रशस्त छन् ।
गोरखा पालुङटार नगरपालिका स्थायी घर भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका विभिन्न ठाउँमा घर र जग्गा छन् । उनले गोरखाको पालुङटारमा ५ रोपनी १० आना जग्गा र घरसहित काठमाडौं ३ नम्बर वडामा २ सय १२ वर्ग मिटरमा घर देखाएका छन् । पालुङटारमा करिव ३६ रोपनी जग्गा छ । कपिलवस्तुमा साढे ५ कठ्ठा जग्गा देखाएका छन् भने भक्तपुरको सूर्यविनायक नगरपालिका ७ मा करिव १० रोपनी जग्गा देखाएका छन् । सबै जग्गा र घरहरु पैतृक रहेको उनको विवरणमा उल्लेख छ । भक्तपुरको जग्गा भने मोहीबाट कमोद भएको सगोलको जग्गा हो ।
उनले ४२ तोला सुन, ५ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोती सम्पत्ति विवतरणमा उल्लेख गरेका छन् । सुनचाँदी भने केही पैतृक र अन्य जग्गा बिक्री तथा तलव बाट खरिद गरेको जनाएका छन् । पाण्डेको एभरेस्ट बैंक, नबिल बैंक, एसबिआई बैंक र कृषि विकास बैंकमा २४ लाख ९६ हजार नगद छ । व्यवसाय, तलब र जग्गा बिक्रीबाट उक्त रकम जम्मा गरिएको विवरणमा देखिएको छ । उनकी पत्नी बिना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख र ग्लोबल आइएमई बैंकमा २ लाख ५२ हजार मुद्दती खातामा जम्मा भएको छ । उक्त रकम तलब, उपदान र जग्गा बिक्रीबाट प्राप्त भएको पाण्डेले बताए ।
छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आइएमई, एसबिआई र प्रभु बैंकमा १ लाख ५६ हजार नगद छ । पाण्डेले दियालो फुडल्यान्डमा ६१ हजार १ सय कित्ता र बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता सेयर देखाएका छन् । पत्नी बिनाको नाममा ५ हजार कित्ता, छोरा सुयोग्यराजको नाममा ४ हजार कित्ता सेयर छ । मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकबाट २३ लाख ऋण लिएका छन् । पत्नी बिना पाण्डेको नाममा ३२ लाख पर्ने मारुती कार छ । २ वटा टिभी, २ वटा फ्रिज, एउटा वासिङ मेसिन, एउटा डिसवासर, माइक्रो ओभन, ल्यापटप पनि सम्पत्तिका रुपमा पाण्डेले देखाएका छन् ।
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडासँग पनि जग्गा धेरै देखिएको छ । गैंडाकोट नगरपालिका २ मा करिब १३ रोपनी जग्गा छ भने उनैको नाममा ललितपुरमा सवा रोपनी जग्गा छ । दुवै ठाउँका जग्गा व्यवसायबाट खरिद गरेको उनले जनाएकी छिन् । दाजु विष्णु सिंखडाको नाममा गोरखामा पुख्र्यौली घर छ । उनका पती जनक बुढाको नाममा जुम्लास्थित तातोपानीमा १९ रोपनी जग्गा छ । उक्त जग्गा जनकले पैतृक रुपमा प्राप्त गरेका हुन् । उनले आफूसँग सून, चाँदी लगायत गरगहना नभएको बताएकी छन् ।
विभिन्न बैंकहरुमा १ लाख ७० हजार नगद छ । विभिन्न कम्पनीहरुमा आइपिओ मार्फत १ लाख हाराहारीको सेयर छ । उनले २ जनालाई ६ लाख ७५ हजार ऋण दिएको देखाएकी छिन् । जनक बुढाको नाममा एउटा स्कुटर छ भने २६ हजारको मोबाइल र ७ हजारको घडी छ । कृषि तथा पशुपालन नगरेकोले कुनै विवरण उल्लेख गरिएको छैन ।
ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यालसँग सगोलको सम्पत्ति बढी छ । स्याङ्जाको वालिङ नगरपालिका ८ मा पैतृक सम्पत्तिबाट बनेको मणि तिवारीको नामको घर छ । उक्त घर मणि सहित ५ भाइको नाममा छ । यस्तै, सिद्धार्थ राजमार्गको मापदण्डमा पर्ने अर्को एउटा घर छ । सगोलमा करिब ७ रोपनी जग्गा छ । सोही ठाउँमा क्षेत्रफल नखुलाइएको जग्गा पनि छ । आफैले खरिद गरेको ८ आना अर्को जग्गा छ । नवलपरासीमा २ कठ्ठा १५ धुर जग्गा उनका पतिको नाममा छ । सबै जग्गा जग्गा बिक्री र तलबभत्ता बाट खरिद गरेको देखाएकी छिन् ।
तिवारीको नाममा २३ लाख नगद छ भने २२ तोला सुन, ४० तोला चाँदी पनि छ । उक्त सम्पत्ति पैतृकसँगै घरभाडा र तलबभत्ताबाट किनेको बताएकी छिन् । विभिन्न बैंकहरुमा पति र छोराका नाममा साढे ३ लाख नगद छ । उनको नाममा उपकार बचत तथा ऋण सहकारीमा ५० हजारको सेयर छ भने कालिका सामुदायिक अस्पतालमा १० हजार, आँधिखोला एफएममा ११ हजार १ सय, वालिङ बचत तथा ऋण सहकारीमा ५० हजार तथा मणिप्रसाद तिवारीका नाममा अपर तामाकोशी हाइड्रोमा १२ हजार २ सयको सेयर छ । मणिले नेपालगञ्जका पार्थ भुसालसँग ३० लाख ऋण लिएका छन् भने दर्शन सहकारीबाट ३० लाख तथा लक्ष्मी बैंकबाट ३५ लाख ऋण लिएका छन् । मणिसँग होण्डा मोटरसाइकल र सरस्वतीसँग २ वटा स्कुटर छ ।
सपथ लिएको ६० दिनभित्रमा सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान अटेर
कृषि मन्त्री महेन्द्रध्वज जिसीको नवलपुरमा १ रोपनी ७ आनाभित्र साढे २ तले घर छ । उक्त सम्पत्ति पैतृक हो । उनकै नाममा बर्दघाटमा करिब ७ रोपनी जग्गा छ । शिशवारमा १२ धुर र मंगलपुरमा करिब ३ आना जग्गा छ । उनीसँग ४० तोला सुन र २० तोला चाँदी छ । सबै सम्पत्ति पैतृक रुपमा प्राप्त गरेको जनाएका छन् । उनको नाममा कृषि विकास बैंकमा सेयर छ । सेयरको संख्या र रकम भने खुलाएका छैनन् । उनले सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएको देखाए पनि रकम भने उल्लेख गरेका छैनन् । उनीसँग एउटा ट्रयाक्टर पनि छ । ट्रयाक्टर स्वआर्जन गरेको जनाएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीको पैतृक जग्गा धेरै छ । म्याग्दीको मालिका ७ मा ११ आनाभित्र बनेको एक तले ५ कोठाको घर छ । सोही ठाउँमा २ रोपनी १० आना जग्गासहित २ तलाको घर छ । उनको नाममा ७ रोपनी र बाबु खड्कबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा देखाएका छन् । सबै जग्गा र घर पैतृक हो । उनले ७ तोला सुन विवरणमा भरेका छन् । जुग्जालीसँग गरिमा विकास बैंकमा ५ लाख ४० हजार र प्रभु बैंकमा ५० हजार नगद छ । उक्त रकम व्यवसाय र तलबबाट प्राप्त भएको हो ।
उनले ऋण गरेर हाइड्रोपावरमा २५ लाखको सेयर किनेका छन् । परिचय नेपाल सहकारीमा ४ लाख र मितेरी बचत तथा ऋण सहकारीमा १ लाखको सेयर किनेका छन् । जुग्जालीले गरिमा विकास बैंकबाट ४० लाख ऋण लिएका छन् भने विभिन्न व्यक्तिहरुबाट २० लाख ऋण लिएको उल्लेख गरेका छन् । उनीसँग महिन्द्राको ट्रयाक्टर र मोटर साइकल पनि छ । उनको मुख्य आम्दानी सुन्तला बँगैचाबाट हुन्छ । वार्षिक ५ लाख आम्दानी सुन्तला बेचेर गर्ने जुग्जालीले बताए । यसबाहेक सह लगानीमा एस्काभेटर पनि खरिद गरेका छन् ।
अर्थमन्त्री जीतप्रकाश आलेसँग निजी वनसँगै वन्दुक समेत सम्पत्तिका रुपमा रहेको छ । भीमाद नगरपालिका ६ मा डेढ रोपनी जग्गाभित्र घर छ । भिमादमै २५ वटा कित्तामा करिब १८ रोपनी जग्गा छ । तनहुँकै साविक भगवतीपुरमा १२ रोपनी हाराहारी जग्गा छ । २१ तोला सुन र २७ तोला चाँदी छ । सबै सम्पत्ति पैतृक भएको उनले उल्लेख गरेका छन् ।
उनका नाममा ४ वटा बैंकमा खाता छ । खातामा कति रकम छ भन्ने चाहिँ उल्लेख गरेका छैनन् । कृषि विकास बैंकमा ३३ कित्ता र कामना बचत तथा ऋण सहकारीमा ३ हजार कित्ता सेयर छ । उनले एनएमबी बैंकबाट ३२ लाख र मुक्तिनाथ विकास बैंकबाट २ लाख ७० हजार ऋण लिएर चलाएका छन् । उनीसँग एउटा मोटरसाइकल छ भने आफ्नै नाममा निजी वन पनि छ । २०५४ सालमा उक्त वन पैतृक सम्पत्तिका रुपमा आलेले प्राप्त गरेका थिए । उनले आफूसँग एकनाले १२ बोर बन्दुक रहेको खुलाएका छन् । उक्त बन्दुक २०५४ सालमा खरिद गरेका हुन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले बागलुङ नगरपालिका ३ मा २०६८ सालदेखि व्यवसाय चलाएका छन् । २०७७ सालपछि उनले जीप, ट्रयाक्टर र फार्मेसी पनि सञ्चालन गरेका छन् । थापाको नाममा बागलुङ ११ मा २२ रोपनी भन्दा बढी जग्गा छ । पोखराको शिशुवामा १२ आना जग्गा पनि उनले खरिद गरेका छन् । थापासँग १७ तोला सुन र २ किलो चाँदी छ । यी सम्पत्ति पैतृक र नोकरी तथा व्यवसायबाट खरिद गरेको जनाएका छन् । उनको ग्लोबल आइएमई बैंकमा २ लाख २५ हजार नगद छ ।
सिद्धार्थ डेभलपर्स कम्पनीमा ६ लाखको सेयर छ भने मल्टी ट्रेडर्समा ५ लाख १ हजार, शिक्षा सदनमा २ लाख ५० हजार तथा सिवाइसी नेपालमा १ लाखको सेयर छ । उक्त सेयर व्यापार, नोकरीबाट प्राप्त पैसाले खरिद गरेको बताएका छन् । उनले सिवाइसी नेपालबाट २२ लाख र निलगिरी सहकारीबाट १५ लाख ऋण लिएका छन् । थापासँग बोलेरो पिकअप जीप छ भने एउटा ट्रयाक्टर पनि छ । उनीसँग २ वटा भैंसी छ ।
Related News
सम्बन्धित समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१