म्याग्दीमा जेसीजको क्षेत्र ‘ख’ सम्मेलन

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
jesis a

म्याग्दी । म्याग्दी जेसीजको आतिथ्यमा बेनीमा बिहीबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

२ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट करिब ६ सयभन्दा बढीले सहभागिता जनाएका छन् । त्यसैगरी देशभरका १ सय ७८ वटै नेपाल जेसीजका शाखाहरूबाट समेत पर्यवेक्षकको रूपमा सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनले म्याग्दी जिल्लाको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताए । ‘आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र संघीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ,’ उनले भने, ‘गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।’ २ सय ४० वर्षको राजतन्त्र, ३० वर्षे पञ्चायती व्यवस्था र १ सय ४ वर्षे राणा शासनको इतिहास अध्ययन गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीका मुख्य सडकलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्यसहित योजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए ।

अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शय्या क्षमताको भवनलाई पूर्णता दिन संघीय सरकार र निर्माण व्यवसायीलाई सहजिकरण गरेर काममा फर्काउने प्रयास गरिरहेको उनको भनाइ छ ।

उद्घाटन अवसरमा विभिन्न व्यक्तिगत विधागत सम्मान गरिएको छ । कृषि र पशुपालन क्षेत्रमा योगदान पुर्‍याउने धवलागिरि गाउँपालिका–५,मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्याल (देवान), लोकसंगीतमार्फत जिल्लालाई चिनाउन सफल भएकोमा मंगला गाउँपालिका–३ का गायक प्रकाश दुतराज, विपत् व्यवस्थापन तथा उद्धारमा क्रियाशील भएर समाजमा उत्कृष्ट योगदान दिएकोमा अन्नपूर्ण गाउँपालिका–३, दानाका इन्द्रसिंह शेरचन र धवलागिरि गाउँपालिका–७, धारापानीका युवा लघुउद्यमी किरण थापालाई सम्मान गरिएको नेपाल जेसीजका सिनेटर रमेशकुमार श्रेष्ठले बताए ।

मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’, गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेश सभाका सदस्यहरू हरि भण्डारी, विमला गौचन र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत जेसीजका पदाधिकारीहरूले लगायतले जनही ६ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

उद्घाटन पूर्वसन्ध्यामा पुख्र्यौली हनुमान नाच, जातीय नृत्य, बाजागाजा र झाँकी सहितको निकालिएको र्‍यालीले बेनी बजार परिक्रमा गरेको थियो । म्याग्दीका विभिन्न समुदायले चोक चोकमा झाँकी देखाएर अतिथिलाई स्वागत गरेका थिए ।

अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पवित्र कालीगण्डकी नदीमा पाइने शालिग्राम मायाको चिनोको रुपमा प्रदान गरिने सम्मेलनका निर्देशक सुविन श्रेष्ठले बताए ।

प्रतिनिधिहरुलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानीलगायतका क्षेत्रमा भ्रमण गराउने कार्यक्रम छ । सम्मेलन स्थल बेनीको खुला मञ्च परिसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियासँगको सहकार्यमा नदेखिएको म्याग्दी शीर्षकको तस्बिर प्रदर्शनी गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width