‘दोष संविधानको हैन, सरकारको’

आदर्श समाज सम्वाददाता
असाेज ४, २०८०
uml (1)

पोखरा । लामो रस्साकस्सीपछि संविधानसभाबाट संविधान बन्यो । संविधान कार्यान्वयन भएको पनि ८ वर्ष पूरा भयो । नागरिकका हक सुरक्षित गर्दै दायित्वको समेत व्याख्या गरेको यो संविधान उत्कृष्ट रहेको संविधानविद्हरुले विश्लेषण गर्दै आएका छन् । पहिलो संविधानसभाले बनाउने नसकेको संविधान दोस्रो संविधान सभाले बनायो । त्यतिबेला सरकारको नेतृत्व सुशील कोइराला र संसदको नेतृत्व सुवाशचन्द्र नेम्वाङले गरेका थिए । दुवै नेताको शालीनता र समन्वयकारी भूमिकाका कारण २०७२ असोज ३ मा संविधान जारी भयो र मुलुकमा संघीयता लागु भयो ।

जसै संविधान कार्यान्वयन हुँदै गयो, तब यसको विरोध समेत सुरु भयो । राजनीतिक नेतृत्व सत्ताको खिचातानीमा रुमलिन्छ, विकासका काम अवरुद्ध हुन्छन्, दोष थोपरिन्छ संविधानमाथि । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट भन्छन्, ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेको विषय, दलहरुको कमजोरीबाट सिर्जित समस्याको दोष संविधानमाथि लगाउनु हुँदैन, दोष त सरकारको हो ।’ बुधबार पोखरामा आयोजित सञ्चारकर्मीसँग एमाले कार्यक्रममा इन्चार्ज विष्टले संविधानको कार्यान्वयन गराउने जिम्मा सबै सरोकारवालाको रहेकाले एकअर्कालाई आरोप लगाएर मात्र नहुने भनाइ राखे ।

अहिले संविधानप्रति वितृष्णा फैलाउने तत्वको सक्रियता बढेको भन्दै व्यवस्थालाई नै असफल बनाउन गरिने हर षडयन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उनले उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानले व्यवस्था गरेका आधारभूत अधिकारको पूर्ण प्रत्याभूति जनतालाई दिलाउनु पर्नेमा उनले जोड दिए ।

संविधानले प्रत्याभूत गरेका सम्पूर्ण अधिकारको निर्वाध प्रयोग गर्दै नागरिकहरू पनि राज्यप्रति जिम्मेवार र जवाफदेही हुनु पर्ने बिष्टको भनाइ थियो । अहिले नै संविधान संशोधनको विषय उठाउने बेला नभएको उनले बताए ।

पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको भन्दै अब दृढतापूर्वक संविधान कार्यान्वयनमा लाग्नु पर्ने उल्लेख गरे । संविधान कार्यान्वयनको पहिलो पाइला पार भएको भन्दै उनले पहिलो पाइलाको यात्रामा नै यसको लेखाजोखा गर्नु उपयुक्त नहुने बताए ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधान निर्माणका क्रममा देखिएका कमी कमजोरी हटाउँदै अगाडि बढ्नुपर्ने भन्दै संविधान धेरै ठूलो बलिदानीले आएको उल्लेख गरे ।

संविधान क्रमश: सबल बनाउनुपर्ने अधिकारीको भनाइ थियो । संविधानको कार्यान्वयन गर्ने पात्रहरुका कमजोरीहरू सुधार्नुपर्ने भन्दै अधिकारीले सुशासन कायम गर्न वर्तमान संविधान सबल भएको बताए । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश कमिटीका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले गरेका थिए । कार्यक्रममा पत्रकार नारायण कार्की, भरत कोइराला, रमेश पौडेल, रामकृष्ण ज्ञवाली, रामजी लम्साल लगायतले संविधानको कार्यान्वयनमा देखिएका समस्याका बारेमा भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width