शिक्षकको राजधानीकेन्द्रित आन्दोलन

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८०
teacher

पोखरा । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक र कर्मचारीहरुले राजधानीकेन्द्रित आन्दोलन चर्काएका छन् ।

देशभरका विद्यालय बन्द गरेर राजधानी पुगेका शिक्षकहरूले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुल्े बुधबार माइतीघर–बानेश्वर सडकमा व्यापक प्रदर्शन गरे । प्रदर्शनमा शिक्षकहरुको ठुलो संख्यामा उपस्थिति थियो ।

विधेयक तयारीका क्रममा सरकार, विभिन्न दलका नेता र सांसदहरूसँग पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गराउँदा पनि नसमेटिएको आरोप उनीहरूको छ । शिक्षकहरूले अघि सारेका अधिकांश माग शिक्षाको पेसागत सुरक्षा र सेवासुविधासँग छ । यद्यपि यी माग सम्बोधन भएमा देशको सार्वजनिक शिक्षामा आमूल परिवर्तन आउने दाबी शिक्षक नेताहरूको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनमा महासंघमा सम्बद्धरआबद्ध डेढ दर्जनभन्दा बढी घटक सहभागी छन् । माग सम्बोधन नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुले अडान लिएका छन् ।

राजधानीकेन्द्रित आन्दोलन सुरु भएपछि काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । उनले भनेका छन्, ‘विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि (बिहीबार) सबै खुला गर्न आग्रह गरिएको छ ।’

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post