संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८०
pradesh pramukh (1)

पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । नवौं संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष कार्यक्रममा वक्ताले सो कुरा बताएका हुन् ।

उनीहरुले संविधानले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन एवं दायित्व पूरा गर्न सम्पूर्ण राजनीतिक दल एवं आमनागरिकको सार्थक पहल र सहकार्य आवश्यक भएको बताए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान दिवसले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई संविधानले बृहत् राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको बताउँदै उनले संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित भएको र जनता राज्यशक्तिको स्रोत भएको उल्लेख गरे । सुशासनका पक्षमा हामी बलियोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्तासमेत बढिरहेकोे पनि बताए । उनले प्रदेश सञ्चालनका लागि आवश्यक र महत्वपूर्ण कानुन अझै बन्न नसकेको भनेर प्रश्नसमेत उठिरहेको जनाए । सुशासनलाई पहिलो प्राथमिकतामा राखेर यस्ता विषय टुंगाउन सकिएन भने जनताले खोजेको संघीयता र शान्तिको चाहना पूरा हुन नसक्ने औंल्याए ।

सुशासनका पक्षमा बलियोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरण हुने चिन्ता

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा नीहित भएको र राज्यशक्तिको स्रोत जनता भएको बताए । संविधानले निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाबाट सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको जनाए । देश संघीय शासन व्यवस्थामा रुपान्तरित भई संघ, प्रदेश र स्थानीय तहबाट नागरिकको अपेक्षा बमोजिमका विकासका काम र सेवा प्रवाह भइरहेको उनले बताए । मुख्यमन्त्री पाण्डेले संविधानले निर्दिष्ट गरेको कार्यसूची बमोजिम गण्डकी प्रदेश सरकारले प्रदेशवासीप्रतिको जिम्मेवारी र दायित्वलाई बोध गरी आफ्नो स्रोतसाधन र क्षमताले भ्याएसम्म नागरिकमैत्री सरकारको रूपमा उपस्थित भएको जनाए । उनले गण्डकी प्रदेश सरकारले हालसम्म विभिन्न ६३ वटा ऐन र २२ वटा नियमावली तर्जुमा गरेको जानकारी दिए । सरकार सञ्चालनको क्रममा प्राप्त अनुभव, लैंैगिक न्याय, अन्तरसरकारी संयन्त्रको बैठकबाट प्राप्त सुझाव, कानुन कार्यान्वयनमा प्राप्त भएका पृष्ठपोषण लगायतका पक्षको आधारमा बाझिएका ३४ वटा कानुनलाई केही प्रदेश कानुन संशोधन ऐनमार्फत् संशोधन गरिएको पाण्डेले जनाए । नेपालको संविधान, कार्यविस्तृतीकरण प्रतिवेदन र प्रचलित कानुन समेतको आधारमा गण्डकी प्रदेशभित्र थप ४२ वटा क्षेत्रगत कानुन निर्माण गर्नुपर्ने पहिचान भई सूची तयार गरिएको उनले जानकारी दिए ।

असार १५ मा अन्तरप्रदेश मुख्यमन्त्री बैठक सफलतापूर्वक सम्पन्न गरी संघीयतालाई सवलीकरण गर्न १७ बुँदे साझा धारणा जारी गरेको उनले स्मरण गरे । नेपालको संविधान, १५औंं योजना, प्रदेशको आवधिक योजना, दिगो विकास लक्ष्य र प्रदेशवासीको विकास चाहना तथा राजनीतिक दलहरूको विकासप्रतिको प्रतिबद्धतालाई दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा सार्वजनिक गर्दै खाका कोरिएको उनले जनाए । संघीय निजामती सेवा ऐन जारी नहुँदा सेवा प्रवाहमा परेको असरलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहका कर्मचारीको वृत्ति विकास र उत्प्रेरणालाई सम्बोधन गर्दै नतिजा प्राप्त गर्न प्रदेश निजामती सेवा ऐन, २०७९, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र गण्डकी प्रदेश निजामती सेवा नियमावली, २०७९ जारी गरिएको मुख्यमन्त्रीले बताए । यसबाट लामो समयसम्म रहेको कानुनी रिक्तता पूरा भई जनशक्ति व्यवस्थापनको वातावरण निर्माण भएको उनको दाबी थियो ।

पूर्व मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले जनताका प्रतिनिधिको व्यापक सहभागितामा निर्मित संविधानलाई गरिने हलुका टिप्पणीको कुनै अर्थ नभएको बताए । सरकारका काम हेरेर देशको मूल कानुनप्रति टिप्पणी गर्नु वाञ्छनीय नहुने उल्लेख गर्दै उनले हाम्रा क्रियाकलापको दोष संविधानलाई दिन नहुने धारणा राखे । प्रदेश सभा सभामुख कृष्णप्रसाद धितालले उच्च लोकतान्त्रिक विधिद्वारा निर्मित संविधानको विकल्प नभएको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको रजानीतिक आन्दोलनको सफलतापछि देशले संविधानसभाबाट संविधान प्राप्त गरेको जनाए ।

दिवस अवसमा प्रभातफेरी गरिएको थियो । सहिदचोकस्थित स्मृति पार्कमा माल्यार्पण गरी नेपाल राष्ट्र बैंक चोक, रत्नचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरिएको हो । सो अवसरमा विभिन्न सांस्कृतिक झाँकी तथा नृत्यहरू प्रदर्शन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post