एमाले गण्डकीले सम्झियो सुवास नेम्वाङ

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८०
subash

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीको आयोजनामा ‘ नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी मंगलबार पोखरामा भएको छ ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सुवास नेम्वाङसँग सबैलाइ मिलाउन सक्ने खुबीका कारण नै तत्कालीन अवस्थामा संविधान जारी हुन सकेको बताइन् । नेम्वाङको प्रभावशाली। शालीन शैली सबैका लागि अनुकरणीय रहेको उनको भनाइ थियो ।

पार्टी सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले संविधान सभाको असहमतिका दर्जनौं बुँदालाई सहमतिमा परिणत गर्दै सर्बस्वीकार्य समाधान निकाल्ने संयम धैर्य व्यक्तित्व सुवास नेम्बाङ भएको उल्लेख गरे । पार्टी भित्रका र अन्तर पार्टी द्वन्द्वलाई सोच विचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलीकै कारण संविधान सम्भब भएको उनले बताए ।

एमालेबाट सभामुख र अध्यक्ष भए पनि संसदीय मर्यादा र शैलीलाई नेम्वाङले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको विष्टको भनाइ थियो । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्वाङ नेपाली राजनीतिको समाधान भएको भन्दै भद्र, मिजासिलो नेता भएको उल्लेख गरे । गुरुङले सार्थक कुशल बहसमार्फत् प्रभावकारी नेतृत्व प्रदान गर्ने व्यक्ति नेम्वाङ भएको भन्दै उनको नेतृत्व नभएको भए संविधान जारी नहुने ठोकुवा गरे ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरुका लागि चित्तबुझ्दो उपाय खोज्नसक्ने अद्वितीय क्षमता नेम्बाङसँग भएको उल्लेख गरे । । अधिकारीले सुक्ष्म व्यवस्थापकीय कौशल भएका नेम्वाङका कारण नै संविधान सम्भव भएको दाबी गरे ।

कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश सरकारका कृषि मन्त्री महेन्द्रध्वज जिसी, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा संविधान सभा सदस्य राजकाजी गुरुङ लगायतले नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङको योगदानका विषयमा चर्चा गरे । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र सञ्चालन सचिव धनन्जय दवाडीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width