लोकतन्त्रका लाभको समतामूलक वितरण आवश्यक

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८०
Prithviman Gurung

नेपालको संविधान व्यापक जनसहभागितासहित निर्वाचित संविधानसभाद्वारा जारी गरिएको पहिलो ऐतिहासिक संविधान हो । वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यसै संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् । यसै संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेको छ ।

संविधान राज्यको मूूल कानुन भएकाले संविधानमा लिपिबद्ध गरिएका जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्दतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नेतर्फ हाम्रो ध्यान जान जरुरी रहन्छ । यति बेला सानातिना राजनीतिक स्वार्थहरूलाई बिर्सेर सक्दो छिटो सामाजिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु आजको आवश्यकता हो । यसका लागि एकातिर राज्यको नेतृत्व गर्नेसँग दृढ राजनीतिक इच्छाशक्ति र इमान्दारिताको आवश्यक हुन्छ भने अर्कोतिर आम नेपाली जनताको सकारात्मक र रचनात्मक भूमिका जरुरी हुन्छ ।

नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गण्डकी प्रदेशबासी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा बधाई तथा शुभकामना । साथै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली ।

Related News

सम्बन्धित समाचार

hero news full width