पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज २, २०८०
5 photo

पोखरा । राष्ट्रिय शिक्षा दिवसका अवसरमा गण्डकी प्रदेशका शिक्षासेवी, क्याम्पस तथा विद्यालय पुरस्कृत भएका छन् । शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार प्रदेशका ११ वटै जिल्लाका सार्वजनिक विद्यालयका १÷१ जनाले राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् ।

कास्कीको शीतलादेवी माविका प्रधानाध्यापक बाबुराम अधिकारी, गोरखाको महालक्ष्मी माविका प्रअ चूडामणि काप्री, मनाङकाृे प्रकाश ज्योति माविका प्रअ पद्यमराज पन्थी, लमजुङको जनकल्याण माविका झपेन्द्रराज न्यौपाने पुरस्कृत भएका छन् ।

यसैगरी पुरस्कृत हुनेमा स्याङ्जाको भाग्योदय माविका निमावि शिक्षक भेषराज रेग्मी, नवपुरको जनक माविका प्रअ चूडामणि शर्मा, मुस्ताङको योगेन्द्र माविका प्राथमिक शिक्षक सन्त थकाली, म्याग्दीको मंगला माविका शिक्षक हुमनाथ पाण्डे, बागलुङको जनप्रेमी मावि ताराखोलाका प्रअ नइन्द्रबहादुर गुरुङ र पर्वतको मदनआश्रित माविका प्रअ खड्कबहादुर क्षेत्री छन् ।

निजीतर्फ एसओएस हर्मनमाइनर मावि पोखराका प्रअ चूडामणि सुवेदी, मदरल्यान्ड माविका शिक्षक वामनकुमार घिमिरे, फेवा पब्लिक स्कुलका संस्थापक अच्युत पाण्डे, बागलुङको चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् ।

विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकरी, प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्ताले राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् । गोरखाको सरस्वती माविका विद्यालय कर्मचारी इलिमबहादुर गुरुङ, गोरखाकै सिद्धस्थानी माविकी बालविकास सहजकर्ता मीना परियार, कास्कीको गोगन मावि व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेल, स्याङ्जाको कालिका माविका अध्यक्ष मीनप्रसाद कोइराला र स्याङ्जाकै काजीमान हरिटीका माविका अध्यक्ष अनुप श्रेष्ठ पुरस्कृत भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसैगरी पोखरा विश्वविद्यालय स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका उपप्राध्यापक डा. अर्जुनकुमार थापा, स्कुल अफ बिजनेसका उपप्राध्यापक सुजाता अधिकारीले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।
‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा १ सय ७७ जनाको नामावली समेत मंगलबारै सार्वजनिक भएको छ ।

निजीतर्फ एसओएसका प्रअ चूडामणि सुवेदी, मदरल्यान्डका शिक्षक वामनकुमार घिमिरे, फेवा पब्लिकका संस्थापक अच्युत पाण्डेलाई पुरस्कार

यसैगरी, स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त ७ सय ९० लाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वाेत्कृष्ट हुने ४४ लाई ‘ग’ श्रेणीको पदक पाउनेको नामवाली पनि सार्वजनिक भएको छ ।

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ मंगलबार शिक्षा दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईका संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post