पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा

विजय नेपाल
भाद्र ३१, २०८०
samikshya bijayas

पोखरा । लामाचौर तीज महोत्सवको दोस्रो दिन आइतबार प्रमुख आकर्षण बनिन् चर्चित गायिका समीक्षा अधिकारी । उनले आफ्ना आधा दर्जनभन्दा बढी गीत गाउँदै दर्शकलाई खुबै नचाइन् ।

गृहजिल्ला कास्की भए पनि यहाँका मेलामहोत्सवमा उनी कमैमात्र देखा पर्छिन् । २०७८ पुसमा पृथ्वीनारायण क्याम्पसमा आयोजित विद्यार्थी स्वागत कार्यक्रममा गायन प्रस्तुतिपछि उनी पोखराका कुनै पनि मेला महोत्सवमा देखाएकी थिइनन् । किनकि त्यसैबेला उनको जीवनमा नसोचेको घटना, अभिनेता पल शाह बलात्कार प्रकरण जोडियो ।

त्यसो त अभिनेता पल अदालतबाट सफाइसँगै अभिनयमा फर्किंदा समीक्षा पनि वर्षदिन बढी समयसम्म मानसिक विचलनपछि हाल सांगीतिक बजारमा घुलमिल भइसकेकी छन् । उनको माग गृहजिल्लामा मात्र हैन, देशदेशावरसम्म छ । तीजकै बेलामा अष्टे«लियामा सांगीतिक कार्यक्रमका लागि जान चाहे पनि भिसा नपाएको चर्चाले पनि सामाजिक सञ्जाल खुबै तातेको थियो ।

तीजको बेलामा गृहजिल्लामा पाउँदा पोखरेली दर्शक पनि समीक्षाको गायनमा छमछमी नाचेर साथ दिए । तीजको मौसममा रातो कुर्थासलवारमा सजिएकी समीक्षाले गत वर्ष खुबै चलेको ‘कुरा बुझ्नु पर्छ’ गाउँदा त दर्शकमाझ घेरिन पुगेकी थिइन् । बीचबीचमा ‘पोखराको माहोल अझ तताउनुपर्छ’ भन्दै दर्शकलाई पनि जोसाउँथिन् । उनले धनगढीको बसमा, सूर्ति माड्दा–माड्दै गयो जोवान, हजुरलाई जाडो भा, पछ्यौरी लिइस्यो लगायत चर्चित गाइन् । सूर्ति माड्दा–माड्दैलाई अधिकांश दर्शकले वान्स मोर भन्दै थिए ।

कार्यक्रममा लोकदोहोरी गायक दीपक खड्का, चोलेन्द्र पौडेल, गायिका लक्ष्मी बानियाँ, सरस्वती लामिछाने पनि विभिन्न प्रस्तुतिमा महोत्सव हेर्न पुगेका दर्शकलाई मनोरञ्जन दिलाए । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा जारी २५ औं संस्करणको लामाचौर तीज महोत्सवको दोस्रो दिन सोमबार लोकदोहोरी कलाकार चिज गुरुङ, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्काले गीत गाउने प्रचार संयोजक दिनेश भण्डारीले बताए ।

यसैबीच, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए । सान्त्वना प्रगति इङलिस बोर्डिङ स्कुल, कुमुदिनी होम्स् र बालकल्याण मावि सान्त्वना भए । सिर्जना मावि उत्कृष्ट भेषभूषामा पुरस्कृत हुँदै ५ हजार पुरस्कार जितेको छ । महोत्सवको अर्को आकर्षण अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता हो । जसको फाइनल तीजकै दिन सोमबार हुने निर्णायक संयोजक दीपक खड्काले बताए । जसमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार दिइने छ । उक्त दिन भलिबलको फाइनलसहित पुरस्कार वितरण एवं स्रष्टा सम्मान गरिने अध्यक्ष स्वागतसिंह भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width