बदलिँदो शैलीको तीज

धनबहादुर गुरुङ
भाद्र ३१, २०८०
TEEJ-Nepal

पोखरा । 

खाना पिना जुठो भाडा गएँ म त मेलामा
बिहादान आँटेछन् त्यसै बेलामा ।
मेलाबाट आए म त बेलुकी साँझमा
वरिपरि दाजुभाइ बसे माझमा ।
जति छोरा भए पनि यहीँ घरमा अटाउने
म एउटी छोरीलाई डाँडै कटाउने ।’

पोखरा २५, हेमजाकी विष्णु केसी ऊबेलाका तीजे गीतका भाका सम्झिन्छिन् । यस्तै शब्दमा गीत नसुनेको धेरै भयो । नगाएको पनि उति नै समय । ऊबेला आफूलाई परेको दुख गीतमार्फत प्रस्तुत गरेको सम्झना ताजै छ, विष्णुलाई । ‘जमाना धेरै फेरिएको छ । अहिले धेरैले भागेर बिहे गर्छन् । हाम्रो पालामा त माग्न आउने चलन थियो । अनि हामीले गीतमार्फत माइतीघर बस्न मन हुँदाहुँदै बिहे गरिदिएको भन्दै दुख पोख्थ्यौं,’ उनले भनिन्, ‘पहिला तीजमा माइती वा मावलीघरमा गएर दर खाइन्थ्यो । अहिले एक महिना अघिदेखि नै पार्टी प्यालेसमा गएर खाने चलन भयो । हाम्रो संस्कार पहिलाजस्तो छैन ।’

पोखरा २८ की गंगा भण्डारी पनि पहिलेको तीज र अहिले मनाइने तीजमा आकाशपाताल फरक पाउँछिन् । गीतदेखि पहिरनसम्म सबै परिवर्तन भएको उनको भनाइ छ । ‘हामीलाई त आफ्नै दाजुभाइ नजिक भए’सी गीत गाउन शर्म लाग्थ्यो । अहिले त क्या हुन् क्या हुन्, यस्ता गीत । हामी अहिले पनि गुन्यूचोलो लगाएर हिंडेको छौं,’ उनले भनिन्, ‘खानामा पनि उस्तै परिवर्तन भएको छ । हाम्रा पालामा गाभा पकाउने भन्थे । दहीमही खाइन्थ्यो । अहिले त होटल नभई हुँदैन । अनि बोत्तल नभई नहुने ।’

यस्तो प्रवृत्तिले तीजको मौलिकता विस्तारै हराउने उनमा चिन्ता छ । तीज मनाउने नाममा मौलिकता हराउँदै गएको उनले बताइन् । ‘जे छ चलन, त्यही गर्नुपर्छ अनि यसलाई जोगाउनतिर लाग्नुपर्छ,’ उनले भनिन्, ‘यस्तै हुने हो भने त हाम्रा छोरीनातिनालाई पहिलाको जमानामा यस्तो थियो रे ! अनि यस्तो हुन्थ्यो भन्ने कहानी हुने भयो ।’

संस्कृतकर्मी तीर्थ श्रेष्ठ समय परिवर्तनसँगै संस्कृतिले पनि रुप परिवर्तन गर्दै जानु स्वभाविक हो भन्छन् । ‘हिजोजस्तो थियो आज हामी त्यस्तै छैनौं । हामीसँग भौतिकतावादी दृष्टिकोण पनि वृद्धि हुँदैगएको छ । हिजो सहरबजार स–साना थिए,’ उनले भने, ‘गाउँबस्तीमा मान्छेहरु बस्थे । जहाँ एकअर्कासँग मिलेर आवश्यकताहरु पूरा गर्ने, सुख बाँड्ने अनि दुख घटाउने बाटोमा लाग्थे । २ दशकयता गाउँघर शून्य छ । यसले पारेका प्रभावहरु छन् ।’

हिजो निश्चित स्थानमा नाचगान हुने गरेको उनले बताए । पोखराकै पनि अमरसिंहचौर र बाटुलेचौरमा भव्य मेला लाग्ने गरेको उनले सम्झिए । केही समयमा प्रतियोगिता आयोजना गरेर तीज जोगाउनु परेको उनको भनाइ छ । ‘तीज संस्कृति जोगाउन ठाउँठाउँमा प्रतियोगिताहरु हुन थाले । त्यसमा पनि एउटै समूह १० ठाउँमा भाग लिन जाने विकृति हुन थाल्यो,’ उनले भने, ‘विस्तारै प्रतियोगिता हट्दै गएपछि विभिन्न संघसंस्थाहरु भए । महिलाहरुमा पनि संगठित हुने सोच पनि पलायो । यसले तीजलाई पार्टी प्यालेस, होटलमा पुग्यो ।’ यसले तीज सबैको साझा बनेको उनले सुनाए ।

तीज मनाउनेक्रममा मर्यादा उल्लघंन हुँदै गएको संस्कृतकर्मी श्रेष्ठलाई पनि महसुस हुन्छ । उनी सुझाव दिन्छन्, ‘तीजलाई मर्यादित ढंगले सम्पूर्ण समाज मिलेर मनाउनुपर्छ । समाजमा परिवर्तन भइरहन्छन् । सधैं एउटा आँगनमा सीमित भएर मनाउनुपर्छ भन्ने पनि छैन ।’

उनी थप्छन्, ‘पार्टी प्यालेस अनि स्पिकरलाई अन्यथा लिनु हुँदैन । तर, हामीले कहिलेसम्म मनाउने ? त्यसलाई हप्ता दिन वा ३ दिनमा सीमित गर्ने कि ?’ विकृति विसंगति बाबजुत तीजले नेपाली महिलाहरुमा एकता र सद्भाव बढाउन महत्वपूर्ण योगदान दिएको उनले बताए ।

पछिल्लो समय तीजले मौलिकता बिर्सिंदै गएको गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपति सूर्य खड्का ‘बिखर्ची’ पनि स्वीकार्छन् । उनले सबै महिलाले नभई केहीले संस्कृति नाममा विकृति ल्याएको उनले बताए । पहिलेको जस्तो तीजका गीतमा मौलिकता भेट्न गाह्रो भएको उनको भनाइ थियो । तीज संस्कृति जोगाउन कार्यक्रम आयोजना गर्ने संघसंस्थालाई आर्थिक सहयोग गरिरहेको उनले बताए । ‘नेपालको कुल जनसंख्याको ५१ प्रतिशत महिलाहरु छन् । महिलाहरुको चाड तीजमा उहाँहरुमा उत्साह बढोस् भनी सहयोग गरेका छौं,’ कुलपति खड्काले भने, ‘महिलाहरुका लागि मादल, बाँसुरीलगायत वाद्यवाधन सिकाउन पनि हामी तयार छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width