पोखरा । जतिबेला मातृभूमि नेपाल भुकम्पले थिलथिलो हुने गरी ढलेको थियो । व्यक्तिका घरदेखि सरकारी संरचना र विद्यालयहरूमा अपत्यारिलो क्षति भयो । विदेशमा हुनेहरूको मन देशमा पुगिसकेको थियो । संयोग नै मान्नुपर्छ मैले त्यति नै बेला सहारा युकेको नेतृत्व सम्हाल्नुपर्ने अवस्था आयो । त्यति नै बेलादेखि भूकम्पको पुन: निर्माणमा जुट्ने अवसर मिल्यो । सहारा युकेको अध्यक्ष हुँदै गर्दा मसँग दुइटा जिम्मेवारी थिए: एउटा अध्यक्षको हिसावले संस्थाको उचाइ थप्ने, अर्को भूकम्पले थिचिएको मेरो मातृभूमिलाई उठाउन अभियान चलाउने । सहारा युकेले सहारा पोखरासँग समन्वय गरी नेपालमा ध्वस्त भएका विद्यालयको पुन: निर्माणका लागि विभिन्न कार्यक्रम गर्यो । हाम्रो पहिलो प्राथमिकता विद्यालयको पुन: निर्माणमा थियो । अध्यक्षमा निर्वाचित नहुँदै मैले महाविपद्विरुद्ध जुध्न आर्थिक संकलन अभियानको संयोजन गरिसकेको थिएँ । सहारा पोखराका अध्यक्ष वीरभद्र आचार्यसँग निरन्तर संवाद र छलफलपश्चात् रणनीति तयार गर्यौं ।
भूकम्पले ठूलो क्षति पुर्याएका कारण सानो कामका लागि पनि धेरै बजेट आवश्यक पथ्र्यो । त्यसैले अर्थ संकलन हाम्रा लागि बढी नै चुनौतीपूर्ण रह्यो । अर्थ संकलनका लागि नै भूकम्पपछि बनेको कार्यसमितिले एभरेस्ट कप ११–ए साइड फुटबल प्रतियोगिता आयोजना गर्यौं । यसबाट संकलन भएको रकम सिन्धुपाल्चोक स्थित हैबुङ महादेवस्थान माविको भवन पुन: निर्माणमा खर्च गर्ने पुर्व उद्घोष हाम्रो थियो । नेपालका विभिन्न जिल्लाबाट विद्यालय निर्माणको लागि प्रस्तावहरू आइरहेका थिए । सबै प्रस्ताव हेरेर आवश्यकताका आधारमा ती परियोजनालाई प्राथमिकीकरण गर्यौं । तीनवटा स्कुल पुन: निर्माणमा सहाराले जिम्मा लियो । विद्यालय निर्माणकै लागि ठाउँठाउँमा पुगेर भेटघाट तथा इभेन्टहरू आयोजना गरिएको थियो ।
सामान्य समयमा सहाराले परिकल्पनामात्रै गरे पुग्थ्यो । किनकि मन, वचन र कर्मले समाजसेवा गर्दै आएको सहारा क्लबका अभियानमा सहयोग गर्ने सहयोगी मनहरू प्रशस्तै छन् । सहारा क्लब नेपालमा मात्र नभई युके, हङकङ र अस्ट्रेलियामा समेत फैलिएकाले रकम संकलन केही सहज भयो । तर विपद्को समय भएकाले त्यतिबेला धेरै संघ संस्थाहरू आर्थिक संकलनमा जुटेका थिए । आ–आफ्ना गाउँठाउँ अन्तर्गतका संस्थाहरू, एनआरएनए, गोर्खा समाज, तमु र्धीं लगायत संस्थाहरू राहतका लागि चन्दा उठाइरहेका थिए । फलस्वरुप: हामीलाई रकम उठाउन ठूलै मेहनत गर्नुपरेको थियो ।
सन् २०१७ जुनमा मैले सहारा हङकङ साँझमा उपस्थित भएर हैबुङको विद्यालय पुन: निर्माणको प्रस्ताव गर्दा चारै अध्यक्षले सहमति जनाउनुभयो, हामी सफल भयौं । सन् २०१८ मा सहारा युकेले हैबुङ महादेवस्थान माविमा ५ कोठाको भवन पुन: निर्माण सम्पन्न गरेको थियो । यसमा सहारा युके र पोखरासहित हङकङ र अस्ट्रेलिया तथा अरुण चौधरी फाउन्डेसनको सहयोग छ । सहारा युकेको तर्फबाट योगेश गुरुङले गर्नुभएको संयोजन उदाहरणीय छ ।
सन् २०१८ जनवरीमा कास्कीको सिदिङस्थित सरस्वती आधारभूत विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग हस्तान्तरण गर्यौं । बोर्न एन्ड कुखम रोटरी क्लब युकेका अध्यक्ष क्रिस वेब्लीसहितको उपस्थितिमा कम्पाउन्ड, फेन्सिङ र फर्निचरका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । सन् २०१८ मा नै सप्तरीमा शौचालय निर्माण गरिएको छ । यसमा सहारा युकेका सल्लाहकार सेरा गुरुङ र याक यति याक फाउन्डेसनले सहयोग गरेका छन् । तत्कालीन कार्यकाल समाजसेवा सँगै केही महŒवपूर्ण सम्बन्धहरूको शिलान्यास गरेको छ । पहिलो पटक सहारा युकेले इङ्ल्यान्ड एफए र ह्याम्पसायर एफएसँग विशेष सम्बन्ध स्थापना गर्यो । पहिलो पटक गोर्खा कपमा इङ्ल्यान्डको प्रख्यात एफए कप प्रदर्शन गर्यौं । पहिलो पटक नै नेपाली राष्ट्रिय फुटबल टोलीलाई बेलायत भ्रमणका लागि वातावरण तयार गरेका थियौं । यस काम लागि सहारा युके, एल्टरसट एफसी र एन्फाबीच त्रिपक्षीय बैठक गरिएको थियो । त्यसपछि नेपाली दूतावासमा इङ्ल्यान्ड एफए, सहारा युके र नेपाली दूतावासबीच भेटवार्ता भयो र पुन: अल्टरसट एफसीमा इङ्ल्यान्ड एफए, सहारा युके, एल्टरसट आर्मी ग्यारिसन र एल्टरसट एफसीसँग बैठक भयो ।
मसँग अध्यक्षको हिसाबले संस्थाको उचाइ थप्ने र भूकम्पले थिचिएको मेरो मातृभूमिलाई उठाउन अभियान चलाउने जिम्मेवारी थिए
उक्त बैठकले तुरुन्तै अल्टरसट एफसी र नेपालमा केही मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सबै योजनाहरू तुहिए । तथापी यि योजनालाई पुन: ताजगी गर्न सकिनेछ । सहारा युकेको आधिकारिक टोलीले १५ र १६ औं आहा रारा गोल्डकपमा भाग लिएको छ । उक्त प्रतिश्पर्धामा ट्रफीसहित सहयोगहरू प्रदान गरिएको छ भने पहिलो पटक खेलाडीलाई नगद पुरस्कार दिने परम्पराको सुरुआत गरेको छ । तत्कालीन सचिव ओमप्रकाश गुरुङको संयोजकत्वमा सहारा एकेडेमी कल्याण कोषलाई सहारा युकेले सहयोग गरेको थियो भने कोषाध्यक्ष नारायण गुरुङले आहा रारा गोल्डकपमा खेलाडी सीट बक्स निर्माणमा संयोजन गर्नुभएको थियो । कहिले सहारा बाढी पीडितको चुल्होमा पुगेको छ । कहिले पोखरा म्याराथनसँगै दौडिएको छ । पत्रकार, कलाकारलगायत राष्ट्रका गहनाहरूलाई दुख पर्दा साथ र सहयोग गरेको छ ।
पहिलो पटक सहारा परिवारलाई भेला गर्न र सहाराको भविष्यका योजनामा छलफल गर्न, सुखदुखका कुरा गर्न सहारा वार्षिक क्याम्पियन आयोजना मेरै कार्यकालमा सुरु भएको थियो । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ एनआरएनए युके र सहारा युकेबीच मैत्रीपूर्ण फुटबल आयोजना भयो । सोही समयदेखि प्रत्येक आइतबार फुटवल खेल्ने परम्पराको सुरु भएको छ । यसमा ग्राउन्ड शुल्क रस्मुर बरो काउन्सिलका काउन्सिलर लिडर डेभिड क्लिफर्डले ६० प्रतिशत छुटको व्यवस्था गर्नुभएको छ । सन् २०१८ मा सहारा युके (एफसी) सन्दिप उपाध्यायको समन्वयमा ह्याम्पसायर मिड वीक प्रिमियर डिभिजनमा सामेल भई खेल्नुभएको थियो ।
सहारा युकेले २०१८ नोभेम्बरमा १० औं वार्षिकोत्सव मनाएको थियो । स्मारिका प्रकाशन गरेर मनाइएको वार्षिकोत्सव यो नै पहिलो हो । स्मरिकामा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय सांसद लियो डोचर्टी, मन्त्री युरोप उप–सचिव राज्य, सहारा युकेका संरक्षक अरुण चौधरी, ह्याम्पसायर एफए अध्यक्ष जेम्स पर्सन, एल्टरसट एफसीका अध्यक्ष साहिद अजीम, बोर्न एन्ड कुखम रोटरीका अध्यक्ष क्रिस वेब्लीका शक्तिशाली सन्देशहरू समावेश छन् । सहारा पोखराका तत्कालीन अध्यक्ष केशब थापा, सहारा हङकङका तत्कालीन अध्यक्ष दिपक गुरुङ, सहारा अस्ट्रेलियाका तत्कालीन अध्यक्ष राजमान थकाली र सबै शुभचिन्तकहरू ले शुभकामना सन्देश पठाउनुभएको थियो ।
कार्यकालको २ वर्षमा केही महान् र उत्कृष्ट व्यक्तित्वहरूसँग भेट्ने र काम गर्ने अवसर पाउँदा र यो प्रक्रियामा सहारा यूकेलाई प्रवर्द्धन गर्न पाउँदा गर्व गरेको छु । धेरै ठूलो उपलब्धि हासिल भएको छ र यसले अब पाइला अगाडि बढाउँछ भन्ने विश्वास लिएको छु । जहाँ हामी एक उत्साही, ऊर्जावान् र सफल युवा पुस्ताको साथमा आत्मविश्वास लिएर निरन्तर चल्न सक्छौं । विगत र वर्तमानका कामहरूले सहारा युकेको भविष्य अत्यन्त उज्ज्वल बन्दै गएको छ ।
सहारा गौरवको परियोजना
भूकम्पले ढालेपछि बनेका भूत बंगलाहरू सर्लक्कै सग्लो बनाउन सहाराले मात्रै सम्भव थिएन र छैन । तथापि सहारा क्लबले पुन: निर्माणको बिउ रोपिदियो । जतिबेला नेपाल सरकार र दातृ निकायहरू पुन: निर्माणको रणनीति बनाइरहेका थिए, त्यतिबेलासम्म सहाराले विद्यालयका भवनहरूको पुन: निर्माण गरीवरी समुदायलाई हस्तान्तरण गरिसकेको थियो । यसअर्थमा पनि सहारा क्लब नेपालको पुन: निर्माणको सुरुआतकर्ता हो भन्न कुनै हिचकिचाउनुपर्ने अवस्था छैन । सन् २०१५ देखि २०१८ सम्मको अवधिमा सहारा क्लबले गौरवका परियोजना पूरा गरेको छ । भूकम्पपछि पहिलो चरणमा तत्काल राहतअन्तर्गत गोरखाका विभिन्न गाउँहरूमा कपडा, कम्बल र खाद्यान्न सहयोग गरेका थियौं । संस्थापक अध्यक्ष नवीन गुरुङले कपडा, वाटर फिल्टर मेसिन र मेडिकल किटसहितको कार्गो नेपाल पठाउनुभएको थियो । जतिबेला क्लबका अध्यक्ष दिलीप गुरुङ हुनुहुन्थ्यो । अबस्था अलि सामान्य हुन थालेपछि पुन: निर्माणमा जुट्यौं ।
सबैभन्दा पहिले गोरखाको सहिद लखन गाउँपालिका ६ (साविक घैरुङ गाविस १) ज्यामिरस्वाँरामा रहेको गणेश प्राविको भवन पुन: निर्माण गरियो । नेपालमा कुनै पनि प्रणाली र मापदण्ड नभएकाले आयोजना खोज्न र सुरु गर्न अनुमति पाउन निकै गाह्रो भएको थियो । त्यसैले पुन: निर्माणका लागि आयोजना स्वीकृति लिन राजनीतिज्ञ र पत्रकारको प्रयोग गर्नुपरेको थियो । सय हाराहारी विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा सहारा युकेले ३५ लाखभन्दा बढी खर्च गरेर ८ कोठाको भवन तयार गरेको हो । फेन्सिङ र फर्निचरको समेत व्यवस्था सहाराले नै गरेको थियो । यो भवन निर्माण गर्न सहारा युके, सहारा पोखरा, एल्टरसट एफसी युके, अरुण चौधरी फाउन्डेसन नेपाल, वर्किङ एसियन बिजनेस फोरम युके, चेल्सी एफसी युके, सराज होम्स युके, बोर्न एन्ड कुखम रोटरी क्लब युके र लिन्डेन हाउस युकेले सहयोग गरेका थिए ।
सहारा गौरव परियोजनाअन्तर्गत दोस्रो काम मेलम्ची नगरपालिकामा पर्ने हैबुङ महादेवस्थान माविको पुन: निर्माण पूरा गरिएको छ । ५ कक्षाकोठाको यो भवन बनाउन सहारा युके, सहारा पोखरा, सहारा हङकङ, सहारा अस्ट्रेलिया र अरुण चौधरी फाउन्डेसन नेपालले सहयोग गरेका थिए । योगेश गुरुङको संयोजकत्वमा सहारा युकेको तर्फबाट प्रमुख सल्लाहकार महेश गुरुङ र सहारा पोखराका तत्कालीन अध्यक्ष केशव थापाको टोलीले पूर्ण सहयोग गरेको थियो ।
यस्तै, कास्कीको माछापुच्छ«े ९ मा पर्ने सिदिङस्थित सरस्वती प्राविमा विद्यालय परिसर निर्माणसँगै बार र फर्निचरमा सहयोग प्रदान गरिएको छ । ७० जना विद्यार्थी पढ्ने यहाँ ८ लाख ५० हजार लागतमा सबै काम पूरा भएको हो । बोर्न एन्ड कुखम रोटरी क्लब युके र सहारा युकेले विद्यालयको कम्पाउन्ड, फेन्सिङ र फर्निचरका लागि आर्थिक सहयोग गरेको थियो । यही बीचमा सप्तरी जिल्लामा शौचालय निर्माण गर्न सहयोग गरिएको थियो । २ लाखभन्दा बढीको लागतमा परियोजना पूरा भएकोमा उक्त परियोजनाका लागि याक यती याक फाउन्डेसन र सहारा युकेका सल्लाहकार सेरा गुरुङले सहयोग गर्नुभएको थियो । गोरखा र सिन्धुपाल्चोकको विद्यालय पुन: निर्माणमा सुरुदेखि अन्तिमसम्म सहयोग गर्नुभएकोमा पत्रकार प्रकाश ढकाललाई विशेष धन्यवाद दिन चाहन्छु । साथै उहाँले हाम्रा भूकम्प पुन: निर्माण परियोजनालाई मिडियामार्फत् प्रचारप्रसार गरिदिनुभएको थियो ।
यो अत्यन्तै कठिन समयमा हाम्रो मातृभूमिलाई नेपाल आमा रोएको बेला सहयोग गर्न पाउनु ठूलो सौभाग्य ठानेको छु । मलाई ति मान्छेहरू देखेर आजपनि गर्व लाग्छ, उनिहरू आफ्नो भग्नावशेष घरलाई छोडेर विद्यालय पुन: निर्माणमा जुटेका थिए । उनीहरूलाई आफ्नो भन्दा देशको भविष्यको चिन्ता धेरै थियो । त्यसैले विद्यालयमा देशको भविष्य देखेर हाम्रो सहयात्रामा साथ दिने तमाम सहयोगी मनहरूलाई हार्दिक धन्यवाद । भूकम्पको जर्जर अवस्थामा सरकारलाई मात्रै एक्लै छोडेको भए आजसम्म पनि पुन: निर्माण पूरा हुने थिएन । विश्वमा रहेका नेपालीहरूले साथ दिए, छोटो समयमा भूकम्पले ढलेका संरचनाहरू ठडिएका छन्, पहिले भन्दा पनि अग्लिएर । यो ऐतिहासिक जिम्मेवारी मैले मेरा सहृदयी मित्रहरूको साथबाट अधिकतम पूर्ण गरेको छु । यस अभियानमा साथ दिनुहुने सम्पूर्णलाई आभार र धन्यवाद व्यक्त गर्दछु ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
नारी उत्थान समाजसेवा पुरस्कारबाट सुष्मा पौडल सम्मानित
hero news full width
मुख्य समाचार
पोखरामा खटिए नयाँ नगर प्रहरी
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०