चुनावको डरले कांग्रेस रोइरहेको छ: थापा

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०८०
gagan

पोखरा । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचन डरले नेपाली कांग्रेसका नेता कार्यकर्तामा रुवाबासी चलेको बताएका छन् । ‘२०७९ सालमा जताततै चुनाव जितेको छ । जहाँ हेर्‍यो त्यहीँ जनप्रतिनिधि छन् । ३ सय ३२ पालिकामा कांग्रेसले जितेको छ, २६ सय २८ वडाध्यक्ष जितेको छ,’ उनले भने, ‘चुनाव लडेर जित्छ तर २०८४ को चुनाव हारिन्छ भनेर रुवाबासी छ । मैले कांग्रेस रोएको भेटेको छु ।’ उनले कांग्रेस निर्वाचनसँग मात्रै जोडिएको मेसिन नभएकोले जनपक्षीय काम गर्न सुझाए । ‘कांग्रेस निर्वाचन जित्ने वा निर्वाचनसँग जोडिएको मात्रै मेसिन होइन । हामी कहीँ कतै अलमलिएका छौं । कांग्रेस धेरैतिर जोडिएको छ । त्यसको ख्याल गरौं ।

थापाले कांग्रेसकै कारण चुनाव महँगो हुन थालेको टिप्पणी गरेका छन् । ‘पार्टीको अधिवेशन कसरी लड्ने र देशको चुनाव कसरी लड्ने भन्नेमात्रै हाम्रो दिमागमा छ । अहिले टिकट माथिल्लो नेताले दिन्छ,’ उनी भन्छन्, ‘टिकट दिन जे पनि गर्न तयार हुने र चुनाव जित्न जे पनि गर्न तयार हुने अवस्था आयो । यसले चुनाव यति खर्चिलो भएको छ कि सामान्य मान्छे चुनाव भनेपछि डराउनुपर्ने भयो ।’

उनले कांग्रेसको महाधिवेशन २०८२ मंसिरभित्रै सम्पन्न गर्ने दाबी गरे

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्र मर्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘पार्टीभित्र डेमोक्रेसी हाइज्याक गरिएको छ । यो डेमोक्रेटिक पार्टी हो । हामी सबै कांग्रेसको सदस्य हो,’ उनले थपे, ‘शेरबहादुर देउवा र कुनै दूरदराजमा बसेको सदस्य बराबर हो । सभापतिले पाएको जिम्मेवारी मात्रै हो । जिम्मेवारीलाई तहगत रुपमा विभाजन गर्नु हुँदैन ।’ अहिलेको निर्वाचन प्रणालीले स्थिर सरकार नदिने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था लागु गर्नुपर्ने बताए ।

उनले कांग्रेसको महाधिवेशन २०८२ मंसिरभित्रै सम्पन्न गर्ने दाबी गरे । ‘अधिवेशन हुने वर्ष क्रियाशील सदस्यता वितरण नगर्ने विधानमा व्यवस्था छ । २०८२ सालको बैशाख १ गतेबाट कसैलाई क्रियाशील सदस्यता पनि दिइन्न, रिन्यु पनि हुँदैन,’ उनले थपे, ‘२०८२ मंसिरभित्र अधिवेशन हुन्छ, हुन्छ, हुन्छ । मंसिरभन्दा पर अधिवेशन जाँदैन ।’ उनले पालिकाको चुनावका लागि सम्बन्धित तहले नै टिकट वितरण गर्ने बताए । थापाले विभेद र छुवाछूत गर्नेहरु कांग्रेस हुन नसक्ने बताए ।

‘जसले छुवाछूतमा विश्वास गर्छ, जसले महिला र पुरुषबीच विभेद गर्छ त्यो कांग्रेस हुनै सक्दैन । मैले मान्ने धर्मले छुवाछूत मान्दैन । महिला र पुरुषबीच विभेद गर्दैन,’ उनी भन्छन्, ‘त्यस्तो कसले बनायो ? हामीले बनाएको हो, नेपाली कांग्रेसले त्यो विभेद मान्दैन । बिपीले नेतृत्व गरेको पार्टीले त्यो कुरा मान्दैन ।’ २००७ सालअघि नै कांग्रेसले विभेदविरुद्ध आवाज उठाएको उनले सुनाए । उनले भ्रष्टाचार नेपालको सबैभन्दा ठुलो रोग भएको बताए । ‘नेपालको सबैभन्दा ठुलो रोग आजको दिनमा भ्रष्टाचार हो । हामी कांग्रेसका सांसदहरु भ्रष्टाचारविरुद्धको अभियानमा लाग्ने हो भने, अख्तियारलाई बलियो बनाउने हो भने, तेरो र मेरो नभनेर छानबिन गर्ने हो भने भ्रष्टाचार निर्मूल पार्न सकिन्छ,’ उनले भनेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width