१ जनाको आत्महत्याले १ सय ३५ जनालाई असर

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०८०
sucide a

पोखरा । मानसिक अवस्थाका कारण आत्महत्या गर्ने अवस्थामा पुगेका कतिपयलाई कोशिश नामको संस्थाले थाहा पाएसम्म मनोपरामर्श मार्फत् सामान्य जीवनमा फर्काएको छ । कोशिशबाट गण्डकीमा परियोजना प्रमुखका रुपमा कार्यरत सुदीप घिमिरेको अनुभवमा बिरामीले समयमा मनोपरामर्श पाए आत्महत्याको दर निकै घटाउन सकिन्छ । कोशिशले १ सय ९० जनालाई मनोविमर्शको सेवा दिएको छ ।

‘जोखिमको स्कृनिङ सबैभन्दा पहिले गर्न जरुरी छ । त्यसपछि मात्रै अवस्था अनुसारको उपचार गर्न सकिन्छ,’ घिमिरेले भने । तर बिरामीहरु खुल्न चाहँदैनन् । आत्महत्याको एउटा मात्रै कारण छैन । सोमबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र कोशिशले आयोजना गरेको आत्महत्या रोकथामका लागि नीति निर्माता र सरोकारवालाबीचको छलफलमा उपस्थित कतिपयले आफूहरु जीवनका विभिन्न समयमा आत्महत्या गर्ने मनसाय बनाए पनि सचेतना र मनोपरामर्शपछि सामान्य अवस्थामा फर्किएको बताए । विवरणहरु हेर्दा आर्थिक अवस्था र बेरोजगारीका कारण आत्महत्या गर्नेहरु धेरै छन् । ‘विभिन्न कारणले मानिसहरुको मानसिक अवस्थामा समस्या आउँछ,’ सरोकारवालाहरुले भने, ‘मानसिक अवस्थालाई समाजमा हेलाहोंचो गर्ने चलन नराम्रो छ । यसले दुर्घटना निम्त्याएका उदाहरण बढी छ ।’

मानसिक अवस्था असहज भएका व्यक्तिहरु समाजमा खुलेर आफूलाई देखाउन नसकेकाले भित्रभित्रै पीडित बन्दै आएका छन् । यसले कहिलेकाहीं आत्महत्याको रुप लिन पनि सक्छ । गण्डकी प्रदेशमा बर्सेनि ७ सय हाराहारीले आत्महत्या गरेको रेकर्ड छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ६० जनाले आत्महत्या गरेका थिए भने २०७८/०७९ मा ७ सय १९ तथा २०७९/०८० मा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । कास्कीमा सबैभन्दा धेरै र मनाङमा सबैभन्दा कम व्यक्तिले आत्महत्या गरेको तथ्यांक प्रहरीले अध्यावधिक गरेको छ । गण्डकी प्रहरी प्रमुख बुद्धिराज गुरुङका अनुसार अशिक्षा, गरिवी वा बेरोजगारी, घरेलु हिंसा, मानसिक अवस्था लगायत विभिन्न कारणले आत्महत्या हुने गरेको छ । केही आत्महत्या अत्यधिक महत्वकांक्षाका कारण पनि भएका छन् । अध्ययनका अनुसार १ जनाको आत्महत्याका कारण समाज र परिवारका १ सय ३५ जनालाई असर पर्छ । ‘आत्महत्या एकजनाले गरे पनि त्यसको असर धेरैतिर पर्छ,’ गुरुङले भने, ‘यस्तो अवस्था आउन नदिन सकेसम्म सचेतनाका कार्यक्रम घरघरमा पुर्‍याउनुपर्छ ।’

आत्महत्या जोखिममा रहेका व्यक्तिले ११६६ नम्बरको हेल्पलाइनमा सम्पर्क गर्न सकिन्छ ।

गण्डकी सरकारको समन्वयमा प्रहरीले टोलटोलमा सचेतना अभियान सुरु गरेको छ । ‘जोखिम भएका व्यक्तिसँग आत्मीय व्यवहार गर्नुपर्छ । बिरामीका कुरा सुनिदियौं भने पनि धेरै घटना कम हुन्छ,’ उनले अघि थपे, ‘कोही शंकास्पद भेटिए मनोपरामर्शकर्ता र मनोचिकित्सकसम्म पुर्‍याउनुपर्छ । घातक चिज सकेसम्म टाढा राख्नुपर्छ ।’

इन्सेकका गण्डकी प्रमुख शिव खकुरेलले अहिलेको अवस्थामा मानसिक रोगको उपचार गर्ने अस्पताल निर्माणमा सरकारको ध्यान नपुगेको बताए । ‘अहिले पनि गण्डकी सरकारको अधिकांश बजेट मन्दिर–गुम्बा निर्माणमा खर्च भएको छ । कमसेकम केही वर्ष मन्दिर बनाउन छोडेर ठूला अस्पताल निर्माण गरौं,’ उनले भने । आत्महत्याको अवस्थाबारे सरकार गम्भिर नभएको गुनासो खकुरेलले गरे ।

सामाजिक विकास मन्त्री सुशीला सिंखडा सरकारका कार्यक्षेत्र धेरै भएकोले सबैलाई सोही अनुसार प्राथमिकता दिइरहेको बताइन् । ‘यसो हेर्दा सरकारले काम गरेन जस्तो लाग्छ । तर स्रोत र साधनको तुलनामा धेरै काम गरिरहेको छ,’ उनले भनिन्, ‘आत्महत्या रोकथामका लागि पनि हाम्रो जोड धेरै छ ।’ उनले बजेटको अभावमा कुनै पनि कार्यक्रम रोकिने अवस्था आउन नदिने बताइन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने छैन । गरिवी र आर्थिक कारण मुख्य आत्महत्याको कारण भएपनि यो मात्रै कारण छैन,’ उनले भने, ‘आत्महत्या न्यूनीकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनाले गर्छ ।’ आत्महत्या न्यूनीकरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारले पनि कार्यक्रम गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला,’ उनले भने ‘तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ विकसित देशहरुमा पनि आत्महत्याको घटना धेरै हुने गरेको भन्दै उनले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ गण्डकीमा आईतबार र सोमबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width