पोखरा । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीको साढे २ महिनाअघि सरुवा भयो । प्रदेश खेलकुद परिषदको सदस्य सचिव नियुक्तिमा अघिल्लो सरकारले गढबडी गरेका कारण मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सचिव सुवेदीलाई बोलाएर नियमित जानकारी लिइरहेका थिए । त्यसको केही दिनमै सचिव सुवेदीको सरुवा भयो । तर उनी सरुवा भएको ४ दिनपछि मात्र मुख्यमन्त्रीले थाहा पाए ।
प्रदेशमा आउने वा यहाँबाट जाने सचिवको बारेमा मुख्यमन्त्री बेखबर नहुनुपर्ने हो, तर त्यसै भइरहेको छ । मुख्यमन्त्री पाण्डेले व्यक्तिगत भेटघाटमा मात्र होइन सार्वजनिक फोरममा समेत यस्ता असन्तुष्टि व्यक्त गर्दै आएका छन् । निजामती कर्मचारी दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पनि मुख्यमन्त्री पाण्डे यही विषय दोहो¥याए । उनले कर्मचारी सरुवा बढुवामा केन्द्रीकृत मानसिकता कायम रहँदा काम गर्न असहज भएको बताए ।
‘कर्मचारीको सरुवा हुँदा, संघ सरकारबाट प्रदेशमा आउँदा प्रदेश सकारले थाहा नपाइ आउने र यहाँबाट जाँदा पनि थाहा नपाई जाने प्रथाको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘यसमा संघीय कानुनभित्र नै एउटा परिपाटी बसाल्नुपर्छ भनेर मैले भनिरहेको छु । यो कुरा कानुनमा आएन भने पनि प्रक्रियामा लानुपर्छ भनेर मेरो आवाज उठिरहन्छ ।’ संघ, प्रदेश र संघ सरकारमा कर्मचारी सरुवा बढुवा गर्नका लागि आधार र मापदण्डमा रहेर हुनुपर्ने उनको भनाइ थियो ।
संघीय शासन व्यवस्थामा समेत रहेको केन्द्रीकृत शासन प्रणाली परिवर्तन गर्न नसकिएको भन्दै उनले भने, ‘राजनीतिक र प्रशासनिक क्षेत्रमा पनि परिवर्तन भएको छैन । सरकार नै ३ तहको छ भने हामी पनि ३ तहकै कर्मचारी हुन्छौं ।’
मुख्यमन्त्री पाण्डेले तीनै तहका कर्मचारीले पाउने सेवा, सुविधा र वृत्तिविकास एकै किसिमको हुनुपर्नेमा जोड दिए । ‘यदि कोही स्थानीय तहबाट प्रदेश सरकार आउन चाहन्छ र प्रदेश सरकारबाट संघीय सरकारमा जान चाहन्छ भने त्यसको बाटो र वृत्तिविकासका आधारहरु सामान हुनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘कर्मचारीको सेवा र सुविधा समान हुनुपर्छ भन्ने कुरामा साथ दिन म तयार छु ।’
सरकारको सफलता/असफलतामा कर्मचारीको पनि जनप्रतिनिधि जतिकै समान भूमिका हुने उनले बताए । राजनीतिक दलका आधारमा पक्षपात नगरी सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । संघ सरकारले बिहीबार मन्त्रिपरिषद्बाट संघीय निजामती सेवा ऐन पास गरी सदनमा पेश गर्ने गरी अगाडि बढाएको उल्लेख गर्दै उहाँले ऐनलाई सकरात्मक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
सोही कार्यक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले संघीय निजामती सेवा ऐनमा छलफल गरी सुझाव संकलन गरी संघमा लैजाने प्रयास गरिने बताइन् । प्रदेशको कर्मचारीहरुको व्यवस्थापन गर्दै कर्मचारीको अभिलेख राख्ने कामका लागि किताबखाना स्थापना गरी अघि बढेको जानकारी दिइन् । ‘किताबखानाले प्रदेशमा रहने सम्पूर्ण कर्मचारीहरुको अभिलेख व्यवस्थापनदेखि लिएर सरुवा बढुवा अन्य कर्मचारीसँग सम्बन्धित सम्पूर्ण काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन्, ‘छिट्टै नै यसको हामीले माननीय मुख्यमन्त्रीबाट शुभारम्भ गरेर अघि बढ्ने हामीले प्रयास गरिरहेका छौं ।’ किताबखाना स्थापनापछि कर्मचारी सेवा निवृत्त भइसकेपछि पाउनुपर्ने सेवा सुविधा लगायतका विषयमा सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय कास्कीकी सचिव मनमाया पंगेनीले निजामती सरकारका सहयोगी रहेको बताइन् । राज्यले कर्मचारीलाई गर्नुपर्ने दायित्व र कर्मचारीले राज्यप्रति गर्ने दायित्व समान हुनुपर्ने उनको भनाइ थियो । सरकारले ल्याएको निजामती सेवा ऐनले कर्मचारीलाई भुईमान्छेसँग जोड्न सक्ने उनको अपेक्षा छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले सरकारका नीति कार्यान्वयन गराउने तथा सेवाग्राहीको काम गर्न निजामती कर्मचारीको अहम भूमिका रहने बताए ।
कार्यक्रममा सचिव विनोदबहादुर कुँवरले निजामती कर्मचारीको विगत, वर्तमान र भविष्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा २०६२ साल भदौदेखि निजामती सेवा दिवस मनाइँदै आएको उनले बताए । २०१३ साल भदौ २२ गते पहिलो निजामती सेवा ऐन ल्याएको मितिमा निजामती सेवा दिवस मनाइएको उनले जानकारी दिए । यसको धेरै राम्रा पक्ष भए पनि केही नराम्रा पक्ष भएकाले त्यसलाई सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कास्कीबाट विभिन्न सरकारी कार्यालयमा कार्यरत सेवा निवृत्त भएका जेष्ठ निजामती कर्मचारीलाई सम्मान गरिएको थियो । सो सम्मानबाट पोखरा ८ राष्ट्रबैंकचोक बस्ने ८० वर्षका प्रेमराज अधिकारी सम्मानित भएका थिए । उनी क्षेत्रीय हुलाक कार्यालय कास्कीमा लेखा अधिकृतका रुपमा कार्यरत थिए । यसैगरी पोखर ५ पस्र्याङका ७९ वर्षीय बासुदेव बराल पनि सम्मानित भए । उनी गृह मन्त्रालयमा सचिवमा रुपमा काम गरेका थिए । यस्तै पोखरा १० रामबजारकी ७१ वर्षीया लक्ष्मीकुमारी श्रेष्ठलाई पनि सम्मान गरियो । उनी महिला विकास कार्यालय, कास्कीमा महिला कार्यकर्ताका रुपमा कार्यरत थिइन् ।
सोही अवसरमा निजामती दिवसका अवसरमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको उच्च अदालत पोखरा, द्वित्तीय भएको राजश्व न्यायाधीकरण, तृतीय भएको रुपा गाउँपालिका र सान्त्वना भएको हुलाक निर्देशनालयलाई पनि पुरस्कार प्रदान गरियो । उनीहरुलाई नगद क्रमशः १२, ९, ६ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै फुटसल प्रतियोगितामा विजेता खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरियो । फुटसलमा सडक डिभिजन कार्यालय कास्की प्रथम, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) द्वित्तीय र नेपाल निजामती कर्मचारी युनियन कास्की तृतिय भएको थियो । उनीहरुलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
सोही अवसरमा र नेपाल निजामती कर्मचारी युनियन कास्कीले रक्तदान आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । सो रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पाल्पाली सहकारी र मणिपालबीच सम्झौता
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०