श्रीकृष्ण जन्मिएको खुसीयालीमा दहीको होली

धनबहादुर गुरुङ
भाद्र २२, २०८०
Dahi Jatra Photo 3

पोखरा । भगवान् श्रीकृष्ण जन्मेको खुसीयालीमा मथुरामा दहीको होली खेलेर मनाइने जात्रालाई कास्कीकोटवासीले पनि निरन्तरता दिँदै आएका छन् । बिहीबार पनि उनीहरुले दहीजात्रा गरे ।

स्थानीय गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले परम्परागतदेखि कास्कीकोटमा दहीको होली खेलेर जात्रा निकाल्ने गरेको समिति सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार पोखरा २४, कास्कीकोटको भारदारी चौतारीमा पूजा गरी दहीको होली खेलेर जात्रा प्रारम्भ हुन्छ । ‘घरघरबाट दही ल्याएर भाँडामा राख्दै भजनकीर्तन सुरु गरिन्छ । त्यहाँ श्रीकृष्ण, राधा, कंशलगायतको भेषमा मानिसहरु जम्मा हुन्छन्,’ त्रिपाठीले भने, ‘केही समयको पूजाआजापछि दही छ्यापाछ्याप गर्दै अन्य सहभागीलाई होलीमा सहभागी गराइन्छ ।’

दहीजात्रामा त्रिपाठी, रानामगर, दवाडी र अधिकारी थरका पुजारीले सुरुमा पुजा गर्नुपर्ने परम्परा रहेको सचिव त्रिपाठीले बताए । उनीहरुले नै कास्कीकोटका भद्रकाली, क्षेत्रपाल, चण्डी, वराह, वसाहा, मनकान्छी लगायत मन्दिरमा दहीले पूजा गर्दै हिंड्ने प्रचलन रहेको उनले बताए ।

दहीजात्रामा विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा, भजनकीर्तन समेत निकालिएको बासपानी कालिका मन्दिरमा पुजारी तथा जात्राका कर्ता टीका पुरीले बताए । दही छ्यापाछ्याप गर्नुअघि भारदारी चौतारास्थित चाँपको रुख श्रीकृष्ण मानेर अन्य देवीदेवताको पूजा गर्ने प्रचलन छ । ‘गुप्तकालीबाट पूजापाठ गरी सुरु दहीजात्रा बासपानी कालिका मन्दिरमा पुगेर सकिन्छ,’ उनले भने, ‘जात्रामा करिब २ किमी दुरीको यात्रा गरिन्छ । त्यसबीचमा पर्ने सबै मठमन्दिरमा दहीले पुज्ने चलन छ ।’

यो जात्रा विसं १५२४ देखि सुरु भएको किंवदन्ती छ । समिति सचिव त्रिपाठीका अनुसार यस्तो जात्रा कास्कीकोटसहित विराटनगरको राधाकृष्ण मन्दिर र तानसेनमा मात्रै निकाल्ने प्रचलन छ । आफूहरुले संरक्षणको प्रयास गरेको स्थानीय युवा धनबहादुर नेपालीले बताए । ‘यो जात्रा हामी जन्मनुअघि नै बाबाहरुले पनि मनाएको थाहा पाएका हौं । यसको सुरुवात १५२४ भन्दा पहिलेदेखि नै सुरु भएको भन्ने छ,’ उनले भने, ‘अरु ठाउँमा कृष्ण जन्माष्टीमा विभिन्न कार्यक्रम गरेर मनाइन्छ भने हाम्रोमा भोलिपल्ट मनाउने चलन छ ।

परापूर्वकालमा कास्कीका विभिन्न स्थानबाट दही संकलन हुने गरेको समिति सचिव त्रिपाठीले बताए । तर, अहिले कास्कीकोटका स्थानीयले मात्र संकलन गर्छन् । ‘परापूर्वकालमा दही ल्याउनेलाई खरबारी र लेक बिर्ता दिइन्थ्यो भन्ने मैले सुनेको हो । यसरी भदौरेतामागी, सिदिङ, अर्मलालगायत क्षेत्रबाट एक मुरीसम्म दही जम्मा हुन्थ्यो,’ उनले भने, ‘अहिले धेरैले भैंसी पाल्न छोडे अनि टाढा पनि भयो । त्यसैले यहीको स्थानीयले जम्मा गरेको दहीले होली खेल्ने चलन छ ।’ यसलाई संरक्षण गर्न वडा कार्यालयले सहयोग गरिरहेको उनले सुनाए ।

जात्रा संरक्षण तथा प्रवद्र्धन गर्न पोखरा २४ वडा कार्यालयले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिबद्धता जनाए । उनले विगत वर्षभन्दा यस वर्ष जात्रा अझै व्यवस्थित भएको बताए । ‘जात्रा संरक्षण गर्दै यसमार्फत २४ नम्बर वडालाई चिनाउन वडाबाट १ लाख विनियोजन गरिएको थियो,’ उनले भने, ‘अबदेखि प्रत्येक वर्ष १/१ लाख छुट्याउने निर्णय भएको छ । साथै, प्रदेश र संघ सरकारबाट पनि बजेट माग गर्ने काम भइरहेको छ ।’

ऐतिहासिकस्थल कास्कीकोट दरबार, कश्यपधाम र सरुन खेललगायत जात्रा तथा मेलामा धार्मिक क्षेत्र विकास समिति र कास्कीकोट सम्पदा संरक्षण समितिले अगुवाइ गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । सरकारले तामझामका साथ सामाजिक सुरक्षा कोष लागु गरेको ५ वर्ष पू्रा भएको छ । असाध्यै राम्रो र प्रभावकारी…
  • राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    नवलपुर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र कुनै हालतमा नफर्कने बताएका छन् । सोमबार नेपाली कांग्रेस नवलपुरको प्रथम…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • केपी कपमा आर्मीद्वारा आयोजक पराजित

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा पोखरा रंगशालामा जारी केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा सोमबारको खेल…
  • पोखरामा आइटिएफ जे–३० टेनिस सुरु

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । कास्की जिल्ला टेनिस संघ आयोजनामा सोमबारदेखि यहाँ आइटीएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा २…

hero news full width

trending post

ट्रेन्डिङ्ग