लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन शुक्रबार सुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साधारणसभा उद्घाटन गर्ने कार्यक्रम छ ।
पहिलो दिन उद्घाटन समारोह एवं बन्दसत्र हुने र भोलिपल्ट शनिबार निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिले जनाएको छ । मतदान शनिबार संघको कार्यालय परिसर भण्डारढिकमा हुने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।
संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको १४ औं महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागि ३६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन । संघको एसोसिएट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भएका छन् । उक्त पदमा शर्माको मात्रै उम्मेदवारी परेको हो । विगतदेखि सहमतिको आधारमा नेतृत्व चयन गर्ने परिपाटी रहेको संघले दावी गर्ने गरेपनी उम्मेदवारहरु भने प्यानल नै खडा गरेर चुनावी कार्यक्रममा लागेका थिए । अधिवेशनको पूर्वसन्ध्यामा दुवै टिम व्यवसायीहरुको मत आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा लागेका छन् ।
संस्थापन पक्षको प्रतिनिधित्व गर्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन भने कार्यसमिति सदस्य हँुदै महासचिवको भूमिकासम्म निर्वाह गरेका भरतकुमार अधिकारी अर्काे समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । श्रेष्ठले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समेटेर टिम बनाएका छन् भने अधिकारीले नेपाली कांग्रेस निकटलाई समेटेर अर्को टिम बनाएका छन् । प्रतिस्पर्धामा रहेका श्रेष्ठ र अधिकारीबीचको यो पहिलो प्रतिस्पर्धा भने होइन । अघिल्लो महाधिवेशनमा दुवै जना वरिष्ठ उपाध्यक्ष पदका लागि भिडेका थिए ।
पर्यटन र औद्योगिक विकास प्राथमिकतामा : अधिकारी
व्यावसायिक र सामाजिक क्रियाकलापमा आफ्नो छुट्टै पहिचान बनाएका भरतकुमार अधिकारीले व्यावसायिक अनुभवलाई साटासाट गर्न, लेखनाथका हर व्यवसायीका पीरमर्कामा साथ दिन अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । ‘आर्थिक मन्दीका कारण अहिले व्यवसाय क्षेत्र धरापमा छ । व्यवसायीहरु पलायन भएका छन् । व्यावसायिक क्षेत्रमा थुप्रै समस्याहरु छन् । जसलाई सम्बोधन गर्ने योजनाका साथ चुनावी मैदानमा होमिएको छु,’ उनले भने । सबै व्यवसायीको मन र भावनालाई आत्मसात् गर्दै व्यवसायीहरुकै माझमा रहिरहने उनको प्रतिबद्धता छ ।
लेखनाथको विकासका लागि पर्यटन सबैभन्दा मुख्य विषय भएको भन्दै यसलाई बढ्वा दिने उद्देश्य आफ्नो भएको उनले बताए । उद्योग बिना उद्योग वाणिज्य संघ हुनुको अर्थ नभएको भनाइ उनको छ । त्यसैले लेखनाथमा औद्योगिक विकास गर्न यसअघि अग्रजले चालेका कदमलाई अनुसरण गर्दै अगाडि बढ्ने लक्ष्य उनले लिएका छन् । पोखरा ३३ को पुँडीटारमा बन्ने प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणमा उल्लेख्य पहलकदमी लिने समेत उनले प्रतिवद्धता जनाएका छन् । लेखनाथका ७ तालको सम्बद्र्धन र त्यसको संरक्षण, पर्यटन विकासका लागि खोलिएका होटल रिर्सोटहरुको प्रवद्र्धन, होमस्टेको बजारीकरण गर्ने योजनासहित निर्वाचनमा उनी होमिएका छन् । साना व्यवसायीहरुलाई तालिम मार्फत् सुसूचित गर्ने, आवश्यक तालिम उपलब्ध गराई व्यावसायिक प्रवद्र्धन गर्ने उनले बताए ।
छरिएर साना युनिटमा रहेका व्यवसायहरुका १३ वटा बजारलाई व्यवस्थापन गर्दै व्यावसायिकमैत्री वातावरण बनाउन लाग्ने प्रण उनको छ । जसका लागि उद्योग बाणिज्य संघ बजारसँग भन्ने अवधारणा नै उनले बनाएका छन् । व्यवसायीका अफ्ठ्याराहरु साझा रुपमा ग्रहण गर्दै प्राप्त प्रतिक्रियालाई सम्बोधन हुने गरी नै लाग्ने उनले उल्लेख गरे ।
लेखनाथ उद्योग वाणिज्य संघको साख जोगाउँदै परिस्कृत गर्दै लैजाने उनले बताए । ३ तहको सरकारसँग समन्वय गर्दै व्यवसायी मात्र नभई समग्र लेखनाथबासीको आवश्यकतालाई परिपूर्ति गर्ने गरी नेतृत्वदायी भूमिका निभ्याउने प्रतिबद्धता उनले गरेका छन् । उद्योग वाणिज्य संघमा २ कार्यकाल सदस्य, २ कार्यकाल उपमहासचिव, १ कार्यकाल महासचिवमा र एक पटक सल्लाहकार बनेर महत्वपूर्ण योगदान गरेका अधिकारीले अघिल्लो महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा केही मतले पराजित हुँदा निरास भएका व्यवसायीहरु समेत अहिले आफ्नो उम्मेदवारीले उत्साहित भएकाले हारपछि जीत हुनेमा विश्वस्त छन ।
साना व्यापारीको रक्षा मुख्य एजेन्डा : विनोद श्रेष्ठ
संस्थापन पक्षको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका विनोद श्रेष्ठ वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । ३ कार्यकाल कार्यसमिति सदस्य हुँदै द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र वर्तमान वरिष्ठ उपाध्यक्ष रहेकाले स्वतः अध्यक्षमा उठ्नुको विकल्प नभएको र आम व्यवसायीहरुको इच्छा, चाहना र भावना यही पाएको उनी दाबी गर्छन् । यहाँसम्म ल्याउने व्यवसायीहरुले पक्कै पनि अध्यक्ष पदमा विजयी गराउने उनको विश्वास छ ।
संघलाई सम्पूर्ण व्यवसायीहरुको साझा फूलबारी बनाउने श्रेष्ठले लक्ष्य लिएका छन । ‘जहाँ एउटै प्रकृतिका हजारौं फूलका बोट हुन्छन्, त्यो फूलबारी हैन । तर सयौं फरक फूलका बोटहरु छन् भने त्यो फुलबारी हो,’ त्यसैले संघलाई १ हजार ८ सय ६६ जना व्यवसायीहरुकै फूलबारी बनाउने वचनबद्धता व्यक्त गर्दछु । साना व्यापारीलाई कसरी सफल बनाउने, आत्मनिर्भर बनाउने र व्यावसायिक रक्षा कसरी गर्ने भन्ने विषयलाई उनले प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
समग्र गण्डकी प्रदेशकै आर्थिक तथा सामाजिक विकासका लागि सातै प्रदेशका उद्योग वाणिज्य संघमा भगिनी सम्बन्ध विस्तार गर्दै पुलको रुपमा काम गर्ने, कृषिलाई पर्यटनसँग जोडेर व्यावसायीकरण गर्ने, विभिन्न तालिम, सेमिनार र गोष्ठी गर्ने लक्ष्य छ । यसबाट व्यवसायीको क्षमता अभिवृद्धि, महिला उद्यमीलाई आत्मनिर्भर बनाउने कार्यक्रम चलाउने उनको योजना प्रस्तुत गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा जमरकट्टेल र ओझा
संघको वरिष्ठ उपाध्यक्ष पदका लागि एकै ठाउँका २ व्यवसायीहरु आपसमा भिडेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझा दुवै पोखरा–३० शिशुवाका बासिन्दा हुन् । एउटै ठाउँका दुई व्यवसायीहरु नै चुनावी प्रतिष्पर्धामा उत्रीएपछि उक्त ठाउँका व्यवसायीहरु भने रनभुल्लमा परेका छन् । तर यो नितान्त प्रजातान्त्रिक प्रणाली भएको र केही प्राविधिक विषयसमेत भएकाले आफूहरुको प्रतिस्पर्धाले आपसी सम्बन्ध र सामाजिक सम्बन्धमा कुनै असर नगर्ने उनीहरु दुवैको तर्क छ ।
जमरकट्टेल व्यवसायको हिसाबले हार्डवेयर व्यवसायी हुन् भने हाल लेखनाथ हाडवयर एसोसिएसनका अध्यक्ष समेत हुन् । उनी भरतकुमार अधिकारीको समूहबाट उम्मेदवार बनेका हुन् । समाज रुपान्तरणका लागि ज्ञान, सीप र क्षमता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राख्दै सरकारी जागिरसमेत छोडेर व्यवसायमा प्रवेश गरेका उनले संघमा २०७२ देखि अनवरत रुपमा विभिन्न उपसमितिमा बसेर काम गरेका छन् ।
तालिम प्रशिक्षणमा समेत दक्षता राख्ने जमरकट्टेलले विज्ञता हस्तान्तरणलाई नै पहिलो योजना बनाएका छन । संघमा आवद्ध आम व्यवासीलाई प्रशिक्षणको माध्यवाट क्षमता अभिवृद्धि गर्नु नै उनको प्रमुख चुनावी एजेन्डा छ । जे गरिन्छ, त्यसमा पूर्ण ज्ञान हुनु पर्छ । त्यसैले संघमा आवद्ध १ हजार ८ सय ६६ व्यवसायीलाई आफ्नै स्रोत र साधनबाट सूचना एवम प्रविधिबारे तालिम दिनका लागि छुट्टै टे«निङ सेन्टरको विकास गरी स्थानीय तह र व्यवसायीको टे«निङ हब बनाउनुपर्नेमा उनको जोड छ ।
यस्तै वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार राजेन्द्र ओझा पनि हार्डवेयर व्यवसायी हुन् । ओझा लेखनाथ हाडवयर्स एसोसिएसनका संस्थापक अध्यक्ष हुन् । उनी विनोद श्रेष्ठको समूहबाट उम्मेदवार बनेका हुन् । आगामी कार्यकालका लागि नियमानुसार नै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउने उनले कोषाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् ।
पेसाले हाडवयर व्यवसायी भए पनि सञ्चार, निर्माण, शैक्षिक संस्था र अन्य धेरै सामाजिक संघ, संस्थामा संलग्न ओझा आम व्यवसायीलाई आर्थिक रुपमा कसरी सक्षम बनाउन सकिन्छ भन्नेमा आफ्नो सोच केन्द्रित हुने गरेको बताउँछन् । संस्थागत हितका सवालमा अहिलेसम्म गरेका कामका उपलब्धि र आगामी दिनमा संघमा अल्पकालीन र दीर्घकालीन योजनालाई आगाडि सार्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।
व्यवसायीका समस्याहरु धेरै रहेको र त्यसमा पनि मुख्य समस्या अव्यवस्थित एवं पोके व्यापारीको भएको बताउँदै त्यसका लागि आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गरेर न्यूनीकरण गर्ने अभियान चलाउने उनको योजना छ ।
संघको प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु) को उम्मेद्वारी रहेको छ । यातायात व्यवसायी हुँदै काष्ठ उद्योग व्यवसाय क्षेत्रमा प्रवेश गरी २२ वर्षको अनुभव संगालेर २०७२ सालदेखि लेखनाथ उद्योग वाणिज्य संघमा प्रवेश गरेका सुवेदी एसोसिएट सदस्य, खुला सदस्य, उपमहासचिव र वर्तमान कार्यसमितिको महासचिवको निर्वाचनमा समेत लोकप्रिय मतका साथ विजयी भएकाले पनि यस पटक पनि सोचे अनुरुपकै परिमाण आउनेमा विश्वस्त देखिन्छन् ।
यस्तै विगत १४ वर्षसम्म लेखनाथ उद्योग वाणिज्य संघमा रहेर काम गरिरहेको अनुभव आफूसँग भएको बताउने बास्तोला विभिन्न उपसमिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपमहासचिव र महासचिवको भूमिकामा रहेर संघको वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष रहेर काम गरिसकेका छन । आफूले हरेक व्यवसायीका पीर, मर्कामा प्रत्यक्ष रुपमा सहभागी भएर साथ दिएको र उनीहरुका समस्यालाई पनि नजिकबाट नियाल्ने मौका पाएको एवं आजका दिनसम्म इमान्दार भएर आफ्नो व्यववसायलाई भन्दा उद्योगी, व्यवसायीको हितका लागि काम गरेकाले पनि आफूलाई व्यवसायीहरुले साथ दिने विश्वास व्यक्त गर्छन् ।
संघको द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठले उम्मेद्वारी दिएका छन । व्यावसायिक घरानाको प्रेरणाबाट व्यावसायक क्षेत्रमा होमिएका कर्माचार्य संघ सस्थाको नेतृत्व पनि अनिवार्य ठानेर पहिलो कार्यकाल आमन्त्रित, दोस्रो कार्यकालमा एसोसिएट र हाल खुल्ला सदस्य पदमा विजयी भई अहिले द्वितीय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन । कर्माचार्य ग्रुपको कार्यकारी निर्देशक समेत रहेर खुद्रा पसल सञ्चालन देखि होलसेल हुँदै उद्योगसम्मको यात्रामा सबै जसो व्यव्सायीहरुको पीरमर्का बुझेको आम व्यवसायीका समस्यालाई समाधान गर्नका लागि पुलको काम गर्ने गरी चुनावी मैदानमा उभिएको उनी दाबी गर्छन् ।
यता हस्तकला व्यवसायी तथा प्रशिक्षकको परिचय बनाउन सफल क्रिस्टलबाट बनेका नौगेडी पोतेको मुख्य सिर्जनाकार भएर करिव २ सयभन्दा बढीलाई तालिम र सयांै जनालाई स्वरोजगार बनाएकी श्रेष्ठले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन महिला व्यवसायीको साझा उमेदवारको रुपमा आफू आएको बताउँछिन । ‘सृजनशीलता र उद्यमशीलता, आर्थिक समृद्धि, सामाजिक रुपान्तरणको आवश्यकता’ भन्ने नारासहित उम्मेद्वारीको तयारी गरेकी श्रेष्ठले महिला उद्यमीलाई प्रोत्साहन गर्दै स्वरोजगार तथा व्यवसायी बनाउने प्रतिवद्धता अगाडि सारेकी छन् । २०७० मा कार्यसमिति सदस्य हुँदै संघमा प्रवेश गरेकी उनी ३ कार्यकाल कार्यसमिति सदस्य बनिसकेकी छन् ।
महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारीले उम्मेद्वारी दिएका छन् । संघको इतिहासमा नै पहिलो पटक वर्तमान कार्यसमितिकी जानुका पराजुली अधिकारीले सदस्य, कोषाध्यक्ष र उपमहासचिवको जिम्मेवारी पूरा गर्दै आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएकी हुन् । संघमा प्रवेश गर्दा एक कार्यकाल कार्यसमिति सदस्य एवं तालिम संयोजक, एक कार्यकाल कोषाध्यक्ष तथा वर्तमान उपमहासचिव समेत रहेर उद्योगी व्यवसायीहरुको चाहना अनुरुप नै काम गरे । ‘व्यावसायिक नेतृत्वमा लैंगिक समानता आजको आवश्यकता’लाई आत्मसात गर्दै आर्थिकरुपमा पछि परेका र पारिएका वर्गलाई व्यवसायको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य नै मेरो मुख्य चुनावी एजेन्डा हो,’ उनले भनिन् ।
यस्तै अधिकारीको प्रतिष्पर्धीका रुपमा आएका तिवारी लामो समय युवा उद्यमशीलता उपसमितिको संयोजक हुँदै वर्तमान कार्यसमिति सदस्यका रूपमा कार्य गर्दा प्राप्त गरेको अनुभवलाई संस्थाको हित र विकासमा प्रभावकारी ढंगबाट लगाउने उद्देश्य राखेको बताउँछन । उनले युवाहरुले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै युवा लक्षित कार्यक्रममार्फत् साना तथा मझौला व्यवसायीहरुको आवाज उठाउन उम्मेदवार बनेको बताए ।
उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला), कोषाध्यक्षमा धु्रवबाबु भट्टराई (आइडी) र पुष्पमणि भट्टराईले उम्मेदवारी दिएका छन् भने संघको २ महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले मनोनयन दिए । एसोसिएट सदस्यतर्फ प्रेमप्रसाद शर्माको मात्र मनोनयन परेकाले उनी निर्विरोध भएका छन् । संस्थागत सदस्यमा विजय गुरुङ र कुलबहादुर रानाभाट प्रतिस्पर्धामा छन् ।
८ खुला सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने, बिन्दुचन्द्र बराल, वीरेन्द्र बानिया, वीरेन्द्रराज भुर्तेल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राजन कल्याण बड्गामी, सूर्यप्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटाले उम्मेदवारी दिएका छन् । संघको १४ औं महाधिवशेनका लागि २३ गते हुने निर्वाचनमा कुल १ हजार ८ सय ६६ मतदाता छन् ।
Related News
सम्बन्धित समाचार
एमाले नेता अर्जुन अधिकारीलाई मातृशोक
लेकसिटीमा विश्वकल्याण
कलाकार माओत्से गुरुङ सम्मानित
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१