पोखरा । फिर्के खोलाको सिमांकन कार्य अन्तिम चरणमा पुग्दा हालसम्म ५ सयभन्दा बढी पिलर गाडिएको छ । फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी ३ साउनमा गाईघाटदेखि सुरु सिमांकन कार्य फिर्केको मुहान पोखरा–१८, अधेँरीकुना नजिक पुगेको हो । अब २ सय मिटरमात्र कार्य बाँकी छ ।
सिमांकन कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलले हालसम्म ५ सय बढी सिमास्तम्भ गाडिएको जनाए । नापजाँचमा खोलामाथि अविश्वसिलो ढंगले अतिक्रमण गरिएको, स्थायी संरचनाहरू निर्माण गरिएको र प्रदूषण गरिएको लगायतका अवस्थाहरू भेटिएको उनले बताए ।
सिमांकन सकिन लाग्दा पोखरा महानगर प्रमुख धनराज आचार्य बिहीबार मुहान पुगे । स्थलगत अवलोकन गर्दै उनले पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको बताए ।
‘सीमास्तम्भले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ । यो प्राविधिक जाँच आधारमा आएको तथ्य हो । यसका शंका गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘सिमांकन कार्यले खोलामाथिको अतिक्रमण र दोहनलाई उदांगो बनाइदिएको छ ।’
उनले फिर्के खोलालाई पर्यटन गन्तव्यरूपमा विकास गर्ने महानगरको योजना रहेको बताए । ‘दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेनसहितको फुटट्रेल बनाइने छ,’ उनले भने, ‘यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यकरण एकसाथ गरिनेछ ।’ फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण ताल समेत प्रदूषित भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।
फिर्केमाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने प्रमुख आचार्यले बताए । पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र सुन्दरताकोे कार्यक्रम सुरु गरिने उनको भनाइ थियो । खोलामा अतिक्रमित संरचना हटाइसकेपछि परियोजना लागु हुनेछ ।
फिर्के खोलाको प्राकृतिक बहावको खोजीमा नागरिक अभियन्ताले सहयोग गरिरहेका छन् । स्थानीयले समेत महानगरको योजना कार्यान्वयनमा सहयोग गर्ने बताउँदै आएका छन् । नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले फिर्के संरक्षणमा जुटेको महानगरको अभियानलाई नागरिक समाजले पनि साथ दिएको बताउँछन् ।
फिर्केखोलाको सिमांकन टोलीमा सर्वेक्षक, इन्जिनियर र अमिनसहित ४० जना परिचालित छन् ।
फिर्के मिचेर यहाँ पक्की तथा कच्ची संरचना निर्माण गरिएको छ । केही समयअघि फिर्केको मापदण्ड मिचेर लायन्स क्लब र एक धार्मिक समितिले पक्की भवन नै निर्माण गरेका थिए । यस्तै पाँच समाजघरको भवन पनि मापदण्डभित्रै भएको पाइएको छ । राजनीतिक दल तथा शक्तिकेन्द्रको आडमा लगातारको अतिक्रमणले फिर्केखोला खुम्चिदै र प्रदूषित हुँदै गएको हो । यसको किनारमा निर्मित कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ ।
फिर्के खोलाको चौडाई कुनै ठाउँमा २५ मिटर फैलिएको छ भने कही ५ मिटर पनि छैन । हाल २०३२ सालको नापीअनुसार फिर्केखोलाको प्राविधिक सर्वेक्षण र नाँपजाँच गरेर सिमाना यकिन गर्ने काम भएको हो । तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वमा ६ पुस, २०७५ को कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोकेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेन ।
पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर फिर्के पस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ ।
Related News
सम्बन्धित समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१