पोखरा । गत मंसिरमा चुनावको ७ महिनापछि गण्डकी प्रदेश सभामा विषयगत समिति गठन भएको छ । प्रदेश सभाको नयाँ नियमावली तयार पारेर सोहीअनुसार समिति बनाइएको हो । मंगलबार बसेको प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले समितिमा रहने सदस्यहरुको नाम सुनाए । ती नाम प्रदेश सभाले स्वीकृत प्रदान गरेको छ ।
गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । ती समितिमा रहने सदस्यको नामका लागि मंगलबार बिहान १० बजेसम्म समय तोकिएको थियो । ६० सदस्यीय प्रदेश सभाका ३ वटामा १५/१५ जना र एउटामा १३ जना राखिएको छ । ४ मध्ये २ समिति कांग्रेस, १ माओवादी र १ एमालेको भागमा परेको छ । तर एमालेले आफूले २ वटा समिति पाउनुपर्ने बताएको छ ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समिति दिएर हुन्छ भन्ने नठान्न सरकारसँग आग्रह गरे । उनले भने, ‘प्रदेश सभामा हुने समितिहरुको निर्माणमा सामान्य ढंगले प्रतिपक्षलाई सार्वजनिक लेखा समिति भए भैगो नि भनेर कसैले दिएको अभयदान लिन प्रतिपक्ष तयार छैन, उसको अधिकारको खोजी गर्न तयार छ ।’ आफ्नो तागत र शक्तिका साथ अत्यन्तै सहकार्य र सहअस्तित्वका साथ जान तयार रहेको उनको भनाइ थियो ।
प्रमुख प्रतिपक्षी दल एमाले संसदका २ समिति आफूलाई चाहिने दाबी गरेको छ
एमालेको भागमा परेको सार्वजनिक लेखा समिति सभापति चयन भने अहिले हुने देखिएको छैन । एमालेको प्रदेश अधिवेशन सकिएपछि मात्रै सभापति चुन्ने मुडमा नेता अधिकारी छन् । सभापतिको चर्चामा रहेका ३ जना सीता सुन्दास र रोशनबहादुर गाहा थापा र पद्मा जिसी श्रेष्ठको नाम नेता अधिकारीले अरु नै समितिमा राखेका छन् । अब सार्वजनिक लेखा समिति सभापतिमा भीमबहादुर कार्कीको नाम आए पनि उनलाई जिम्मेवारी दिने सोचमा अधिकारी छैनन् । एमालेका एक सांसदले भने, ‘अहिले जुन समितिमा राखे पनि उहाँले चाहेको व्यक्तिलाई समिति फेरेरै भए पनि सभापति बनाउनुहुन्छ ।’
प्रदेश सभामा पहिलेको विधायन समिति खारेज भएको छ भने अन्य समितिको क्षेत्राधिकार परिवर्तन भएको छ । नियमावली मस्यौदा समितिले पुरानो व्यवस्थालाई हटाएर सबै समितिमा विधेयक छलफलका लागि जाने गरी क्षेत्राधिकार तोकेको छ । प्रदेश सभामा अहिले सार्वजनिक लेखा, अर्थ तथा विकास, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति छन् ।
अहिले समितिका सदस्यको नाम तोकिए पनि सभापतिको चयन भने सम्बन्धित समितिले नै गर्ने प्रावधान छ । सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले अध्यक्षता गर्नेछन् । समितिको सभापतिका लागि कांग्रेसले नाम टुंग्याइसकेको छ । संसदीय दलको नेतामा पराजय भोगेका स्याङ्जाका भोजराज अर्याल अर्थ तथा विकास समितिको सभापति बन्ने भएका छन् । उनले कल्पना तिवारीको नाम लिइरहे पनि अन्तिममा उनी सहमत भएका छन् । प्रदेश मामिला तथा कानुन समितिको सभापति चम्पादेवी खड्का बन्ने भएकी छन् । माओवादीले सामाजिक विकास तथा कृषि समितिमा फडिन्द्र देवकोटालाई सभापति बनाउने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उनी माओवादीको चिह्नबाट चुनाव लडेका हुन् ।
बजेट पारित भएपछि स्थगित बैठक २४ गतेका लागि डाकिएको भए पनि सरकारले बिजनेस दिन नसक्दा सूचना टाँस गरेर स्थगित गरिएको थियो । त्यसपछि सोमबार अर्थात् हिजोको बैठक पनि सूचना टाँसैरे रोकिएको थियो । हिजो भने राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रहमा बैठक स्थगित गरिएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको पोखरामा कार्यक्रम भएका कारण राप्रपाले बैठक स्थगितको माग राखेको थियो । प्रदेश सभामा राप्रपाका २ सदस्य छन् । तर हिजो मौसमका कारण लिङदेन पोखरा आउन भने सकेनन् ।
कुन समितिमा को ?
अर्थ तथा विकास समिति
गणेशमान गुरुङ, प्रकाश बराल, डिल्लीराम सुवेदी, पद्मा जिसी श्रेष्ठ, पार्वती तामाङ, प्रकाशबहादुर केसी, भोजराज अर्याल, लक्ष्मणबहादुर पाण्डे, विमला गौचन, विन्दु पौडेल, सीताकुमारी सुन्दास र हरिबहादुर भण्डारी । पदेनसदस्य मन्त्रीहरु जीतप्रकाश आलेमगर, दीपेन्द्रबहादुर थापा र रेशम जुग्जाली ।
सार्वजनिक लेखा समिति
कल्पना तिवारी, कृष्णप्रसाद पाठक, खगराज अधिकारी, जीतप्रकाश शेरचन, टकराज गुरुङ, टीकाकुमारी बस्याल, दमयन्ती रुचाल, द्रोणकुमार कुँवर नन्दकला दमाई नेपाली, निर्मला थापा, पञ्चराम गुरुङ, भीमबहादुर कार्की, सरस्वती गुरुङ, सुधीरकुमार पौडेल र हरिबहादुर चुमान ।
प्रदेश मामिला तथा कानुन समिति
कुसुम बुढा पुन, गोविन्दबहादुर नेपाली, चम्पादेवी खड्का, देवका पहारी त्रिपाठी, नन्दप्रसाद न्यौपाने, विकल शेरचन, भेषबहादुर पौडेल, मित्रलाल बस्याल, मुनिन्द्रजंग गुरुङ, यशोदा रिमाल, रेखा गुरुङ र रोशनबहादुर गाहा थापा छन् । पदेनसदस्य मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
सामाजिक विकास तथा कृषि समिति
अशोककुमार श्रेष्ठ, दिलमाया पौवि, नम्डु गुरुङ, फडिन्द्र देवकोटा, विन्दुकुमार थापा, वेदबहादुर गुरुङ, भक्तबहादुर कुँवर, महेश भट्टराई, राजकुमारी भुजेल, राजीव गुरुङ, लिलबहादुर थापामगर, श्यामराजा महत । पदेनसदस्य मन्त्रीहरु महेन्द्रध्वज जिसी, सरस्वती अर्याल तिवारी र सुशीला सिंखडा ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा
सुजल डेरी र सेलवेजलाई अवार्ड
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१