पोखरा । एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार भइरहेको मुग्लिन–पोखरा सडक सुधार आयोजनाको काममा भएको ढिलासुस्तीप्रति पोखरा पर्यटन परिषद्ले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आइबार स्थलगत अनुमगन गरी दमौलीमा छलफल समेत गरेको छ ।
परिषदले नेपालका दुई ठूला सहर काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेनको बनाउने कार्य निकै महत्वपूर्ण र सराहनीय रहे पनि काममा ढिलासुस्ती हुँदा व्यवसाय नै प्रभावित भएको जनाएको छ । बाटो विस्तार हुनु समग्र पर्यटन क्षेत्रका लागि यो हर्षको भएको भन्दै सडक विस्तार कार्यको प्रशंसा गरेको परिषदले भनेको छ, ‘तर जुन गति र स्तरमा यो सडक विस्तार कार्य अगाडि बढेको छ, त्यसले आम उपभोक्ता, निजी क्षेत्र र पर्यटन जगतमा थुप्रै गुनासोहरु उब्जाएको छ ।’
सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक पक्ष हुँदाहुँदै पनि निर्माण पक्षबाट भएको सुस्त र अव्यवस्थित विस्तारकार्यबाट सेवाग्राहीले थुप्रै कठिनाई र झन्झट भोग्दै आउनु परेको परिषद अध्यक्ष श्रेष्ठ बताउँछन् ।
छोटो दुरीको यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्क लाग्दो र कष्टपूर्ण यात्रा, विरामी र दिवस यात्रा अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानीको अवस्था सिर्जना हुन पुगेको छ । यतिमात्र नभई ढिलो गतिमा काम अगाडि बढ्दा लामो समयसम्म सडक वरपरका वासिन्दाले धुलो, धुँवा र ध्वनि प्रदूषणको समस्याबाट गुज्रदै स्वास्थ्य जोखिमको सामाना गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनु परेको परिषदले जारीगरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिंगो दिन खर्चनुपर्ने अवस्था सिर्जना भएको छ । काठमाडौं–पोखराबीचको ५ देखि ६ घन्टा लामो बसयात्राका लागि अहिले १२ घन्टासम्म लाग्ने गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ । निजी क्षेत्रले बिक्रीयोग्य वस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको छ । भूकम्प र नाकाबन्दीपछि कोभिड – १९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिसाप बन्न पुगेको छ ।’
सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनहरुको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके झनै उत्तम हुने थियो
खबौं रुपैयाँको लगानी रहेको पोखरा क्षेत्रको पर्यटनका लागि यो सुखद पक्ष होइन भन्छन् परिषद अध्यक्ष श्रेष्ठ । उनका अनुसार औपचारिक रुपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखराका लागि त यो झनै नकारात्मक अवस्था हो । सडक विस्तार कार्य सुरु भएको यतिका समय गुनँदा पनि निकै कम प्रतिशत मात्र प्रगति हुनु निरासजनक र दुःखद पक्ष हो ।
यो विषयमा परिषद्ले विगतमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन मन्त्री, गण्डकी प्रदेश सरकारका प्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराइसकेको अध्यक्ष श्रेष्ठले बताए ।
उनले मुग्लिन पोखरा सडक खण्डको विस्तार र स्तरोन्नति कार्यलाई तिव्रता प्रदान गरी समयमै काम सम्पन्न होस् भन्ने मुख्य माग र चासो रहेको बताए । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न सके सेवाग्राहीलाई सहज वातावरण सिर्जना हुने परिषदको सुझाव छ ।
‘विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन जरुरी रहेको हामीले अवलोकनका क्रममा महसुस ग¥यौं, सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनहरुको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके झनै उत्तम हुने थियो,’ परिषदले भनेको छ ।
सडक विस्तार कार्यबाट विविध जगतमा निकै नै कठिनाई उत्पन्न भएको पुनः स्मरण गराउँदै परिषदले सडक विस्तार कार्यलाई व्यवस्थित र तीव्र रुपमा अगाडि बढाउन सरकार, निर्माण पक्ष र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा
सुजल डेरी र सेलवेजलाई अवार्ड
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१