पोखरा । सेताम्य कपाल, गोरो र हसिलो मुहार । आँखामा चस्मासहित रातो झोला भिरेर हल छिरे–दुर्गा बराल ‘वात्स्यायन’ । उनलाई देख्नेवित्तिकै हलमा भएकाहरु खुसी देखिए । वात्स्यायनले शिर निहुर्याएर नमस्कार फर्काउँदै आदरभाव प्रकट गरे । केही छिनमा औपचारिक कार्यक्रम सुरु भयो ।
यो दृश्य, पोखरेली युवा सांस्कृतिक परिवारले विन्ध्यवासिनी सचिवालयमा शनिबार आयोजना गरेको ‘समता कला कार्यशाला’ को थियो । औपचारिक समारोहपछि अग्रज र अनुज कलाकार सबै विन्ध्यवासिनी मन्दिर परिसर उक्लिए । सबैले क्यानभासमा उतार्ने चित्र मनमा चित्रण गरे । अनि क्यानभास, स्ट्यान्ड, रङ, पानी, पेन्सिल, ब्रस सबै तयार गरे । एकापसमा गफिँदै मस्तिष्कमा चित्रण भएको आकार पेन्सिलले डोब लगाउन थाले । एक्रेलिक चित्र कोर्नेहरुले सिधैं रङको काम सुरु गरे ।
पानी रङमा खेल्नेहरुले केही क्षणमा पेन्सिलको डोबमाथि रङ लगाउन सुरु गरे । करिब २ घण्टाको अन्तरालमा सबैले सुन्दर चित्र तयार गरे । र, विन्ध्यवासिनीमा आएका भक्तजन र दर्शकका लागि प्रदर्शन गरियो । यसरी पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको ६१ औं श्रृंखला सकियो ।
कार्यक्रममा वात्स्यायनको युगका कलाकारदेखि अनुजमा सौगात गुरुङसम्म कलाकारले भाग लिए । अग्रज र अनुजको एकैथलोमा बसेर चित्र कोर्दा कोही सानो ठूलो त थिएनन् । तर, अनुभवीसँग रहँदा अनुजलाई राम्रै फाइदा गर्यो । वात्स्यायनसँगै बुद्धि गुरुङ, मनोज तामाङ, रिक गुरुङ, थम्मनसिंह सुनार, दलबहादुर गुरुङ, एलिता गुरुङ, निशान थापालगायत २ दर्जन कलाकार लकडाउनपछि भौतिकरुपमै सहभागी भएर चित्र कोरे ।
समता कला कार्यशालाले यसरी अग्रज र अनुजलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने कलाकार निशान थापाले बताए । ‘हामीलाई सबै कुरा थाहा हुँदैन । अग्रजसँगै काम गर्दा उहाँहरुको अनुभव र टेक्निकले नयाँ कुरा सिर्जना गराउन सघाउँछ,’ उनले भने, ‘पोखरेली युवा सांस्कृतिक परिवारले जस्तै अरु संस्थाले पनि यसरी अग्रज र अनुज एकै ठाउँमा चित्र कोर्ने वातावरण मिलाउनुपर्छ ।’
समता कला कार्यशालामा वात्स्यायन युगका कलाकारदेखि अनुजमा सौगात गुरुङसम्मले चित्र कोरे
औपचारिक कार्यक्रममा वरिष्ठ कलाकार वात्स्यायानले समता कला पाठशालाले पोखरामा छरिएर रहेका कलाकारलाई एकै ठाउँमा ल्याउने काम गरेको बताए । सुरुमा ग्रामीण भेगमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्ने काम गरिएकाले पोखरालाई पानीरङको पाठशालारुपमा चिनाएको उनले सम्झिए । त्यसरी क्यानभासमा उतारिएको चित्रले कलाकारको आयआर्जनको बाटो पनि भएको उनले बताए ।
पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित भएकाले पानी रङको महत्व बुझाउनुपर्ने उनको सुझाव थियो । ‘पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित छन् । एक्रेलिकमा पनि जान पाइयो तर पानीरङलाई मर्न दिनु भएन,’ उनले सुझाए, ‘एक्रेलिक राम्रो भन्ने ग्राहकको मानसिकता हटाउन कलाकार नै लाग्नुपर्छ । यसका लागि राम्रो कागज र रङ प्रयोग गर्नुपर्यो ।’ कलाकारले नयाँ–नयाँ तरिका सिक्नुपर्ने बताउँदै उनले पोखरेली चित्रकलालाई अझै सुधार्दै जानुपर्ने बताए ।
प्रज्ञा परिषद सदस्य तथा परम्परागत शिल्पीकला विभागका निवर्तमान प्रमुख प्राज्ञ बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकार गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेको बताए । यसले पोखरालाई पानीरङको सहरका रुपमा चिनाएको बताए । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने उनको भनाइ थियो ।
संस्थाका सल्लाहकार कवि तीर्थ श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन, आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताए । उनले कला कार्यशालामा कोरिएका चित्र प्रदर्शनीमा रुपान्तरण गरेर आममानिससमक्ष पुर्याउन आग्रह गरे । कला कार्यशालामा कलाकार पदम घले, एसकुमार श्रेष्ठ, थमनसिंह सुनार, दलबहादुर गुरुङ, रिक गुरुङ, झविन्द्र गुरुङ, युवराज लामिछाने, मनोज तामाङ, निशान थापा, गोपाल दराइ, आकाश गुरुङ, शुक्रराज गुरुङ, एलिता गुरुङ, शिव शिपाली, सौगात गुरुङ, सञ्जिता घिमिरे, अमृत परियार, सञ्जीव लामिछाने, नवराज थापालगायत कलाकारले पानीरङ र एक्रेलिक माध्यमको प्रयोग गरी सिर्जनात्मक कला निर्माण गरेका थिए ।
पोयुसापले प्रत्येक ३ महिनाको तेस्रो शनिबार समता कला कार्यशाला सञ्चालन गर्दैआएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । संस्थाका कला संयोजक कलाकार उमेद पौडेलले आगामी दिनमा अझ चुस्तदुरुस्त र व्यवस्थित कला कार्यशाला आयोजना गरिने बताए ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
लक्ष्मी विद्या पदक प्रदान
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
hero news full width
मुख्य समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१