गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८०
GCES gbs gandaki

पोखरा । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स, लामाचौर पोखरामा ‘नवौं जिसिइएस आइटी एक्स्पो–२०८०’ आयोजना हुने भएको छ । विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ/सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले जेठ २५ र २६ मा सूचना प्रविधि प्रदर्शनी  हुन लागेको हो ।

एक्स्पोका अध्यक्ष राजन अर्यालले सूचना प्रविधिको मेलामा सफ्टवेयर प्रदर्शन, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर शोकेस तथा विविध खेलका प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम हुने जनाए ।

सफ्टवयर इन्जिनियरिङ–२०१८ ब्याचका विद्यार्थीको आयोजनामा सञ्चालन हुने एक्स्पो बिहान ९ देखि बेलुका ५ बजेसम्म चल्नेछ । मेला अवलोकनका लागि यस क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा शिक्षकलाई अवलोकनका लागि निम्ता दिइसकेको गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सका क्याम्पस प्रमुख वीरेन्द्र खड्काले बताए ।

एक्स्पोको पूर्व सन्ध्यामा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा वृक्षरोपण कार्यक्रम भयो । पोखराका १४ विद्यालयले हाजिरीजवाफमा भाग लिएकोमा एसओएस गण्डकी प्रथम, ब्रह्मारुपा मावि दोस्रो र अम्बिका मावि तेस्रो भयो । विजेतालाई एक्स्पो उद्घाटन अवसरमा पुरस्कृत गरिनेछ । यस्तै, जेठ २४ गते बिहान खुला रक्तदान र टेक्निकल टक कार्यक्रम हुने छ ।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजको रुपमा स्थापित गण्डकीमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width