नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख

धनबहादुर गुरुङ
जेठ २३, २०८०
Manang Narpabhumi Budget Photo 1

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । जसमा ४ खर्ब ८ करोड ४० लाख वित्तीय हस्तान्तरणको बजेट पनि समेटिएको छ । वित्तीय हस्तान्तरण ७ प्रदेश र ७ सय ५३ पालिकाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा उपलब्ध गराउँछ ।

जसअन्तर्गत गण्डकी प्रदेशभित्रका स्थानीय तहले पनि यो शीर्षकमा बजेट प्राप्त गरेका छन् । जसमा पोखरा महानगरपालिकाले सबैभन्दा बढी २ अर्ब ७६ करोड ३२ लाख प्राप्त गरेको छ । भने सबैभन्दा कम मनाङको नार्पाभूमि गाउँपालिकाले १३ करोड ८५ लाख पाएको छ । यहाँ जनसंख्या पनि कम भएका कारण यहाँ केन्द्रको बजेट कम परेको अनुमान गर्न सकिन्छ ।

नेपालको जनगणना २०७८ अनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ३ सय ९८ छ । यसैको आधारमा यहाँको बजेट प्रतिव्यक्ति वितरण गर्ने हो भने एउटाको भागमा ३ लाख ४७ हजार ९ सय ८९ रुपैयाँ ९८ पैसा पर्न जान्छ । संघीय सरकारले दिने बजेटको आकार प्रदेशको बजेट भाषणमा अझै बढ्न सक्छ । यहाँ यो आर्थिक वर्षमा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सोहीअनुसार पनि १ नागरिकलाई ३ लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको थियो ।

नार्पाभूमि गाउँपालिकाको जनसंख्या ३ सय ९८ छ

जनसंख्याका आधारमा बजेट धेरै देखिए पनि भौगोलिक विकटताका कारण नार्पाभूमिका लागि यो बजेट कम रहेको नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले बताए । नार्पाभूमि सडक सञ्जाल, विद्युत, सञ्चार र इन्टरनेटको पहुँचबाट धेरै टाढा छ । भौतिक पूर्वाधारमा पनि यो पालिका निकै पछि परेको छ । यहाँ पूर्वाधारका काम हुँदै छन् । सोही कारण पनि पालिकाका लागि संघीय सरकारबाट छुट्टिएको बजेट कम भएको उनी सुनाउँछन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पाख्रिनका अनुसार नार्पाभूमिमा मतदाता संख्या नार्पाभूमिमा ४ सय ४७ छन् । सोही गाउँपालिकाको जनसंख्या राष्ट्रिय तथ्यांकभन्दा बढी भएको उनको दाबी छ । ‘जाडो छल्न नागरिकहरू बजारमा झरिसकेपछि जनगणनाको तथ्यांक लिइएकाले जनसंख्या कम देखिएको हो,’ उनले भने ।

चिसो र हिउँका कारण विकास निर्माणका काम गर्न समस्या हुने उनको भनाइ थियो । भौगोलिक विकटताका कारण ढुवानी खर्चिलो भएको उनले बताए । ‘हाम्रोमा आएको बजेट यहाँको विकास निर्माणमा काम गर्नका लागि पर्याप्त छैन,’ उनले भने, ‘ढुवानी गर्न र कामदारलाई ज्याला दिनै समस्या छ । त्यसै माथि ५ महिना त चिसोले गर्दा काम गर्न सकिँदैन ।’

अरु पालिकाको जस्तै विकास गर्नका लागि संघ र प्रदेशले छुट्याउने बजेटले नपुग्ने उनले बताए । ‘यहाँ सडक सञ्जाल नै पुगेको छैन । साह्रै भयो भनेर सुरुआत गरेका छौं । बिजुलीको राम्रो प्रबन्ध छैन । गाउँपालिका कार्यालयमा फोन नै लाग्दैन,’ उनले भने, ‘यस्तो विकट ठाउँमा विकासका काम सुरु हँुदै छन् । बजेट त धेरै नै आवश्यक पर्छ । भने जस्तो बजेट भयो भने गाउँपालिका भवनको स्तरोन्नति र वडा कार्यालय भवन सहजै बनाउन सकिन्थ्यो ।’

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…

hero news full width