गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट उपाधि कास्कीलाई

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
cricket

पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको फाइनलमा नवलपुरलाई १८ रनले पराजित गर्र्दै कास्कीले उपाधि जितेको हो । कास्कीले उपाधिसहित नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गरे ।

नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई होम ग्राउन्डमा पूरै २० ओभर खेल्दै ८ विकेट क्षतिमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए ।

नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिए ।

१४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । नवलपुरलाई व्याकफुटमा धकेल्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काएपछि नवलपुरले सम्हालिने मौका नै पाएन । सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए । नितेष गिरीले नवलपुरका लागि सर्वाधिक ३३ रन जोडेका गोविन्द विकालाई मुस्कान थापाबाट क्याच आउट गराए ।

१४ जेठदेखि सुरु प्रतियोगिताको म्यान अफ दि सिरिज नवलपुरका अपराजित पौडलले जिते । उनी बेस्ट बलर घोषित भए । वेस्ट ब्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । फाइनलमा म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा बने ।

विजयीलाई कार्यक्रम संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषिराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोरखा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दीको गरी ८ टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width