पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
rupantaran nc (4)

पोखरा ।  मुलुककै जेठो पार्टी नेपाली कांग्रेस । प्रजातन्त्र प्राप्तिपछि भएको पहिलो आमनिर्वाचनबाट दुईतिहाइ ल्याएर सरकार बनाउने अवसर पनि कांग्रेसले नै पायो । जसको नेतृत्व गरेका थिए, बिपी कोइरालाले । पार्टी मात्र हैन मुलुककै हितका लागि उनले ल्याएका दीर्घकालीन नीतिका बारेमा अहिले पनि चर्चा भइरहन्छन् । मितव्ययिता र पारर्शितालाई उनले प्राथमिकतामा राखेका थिए । पार्टीमा जिम्मेवारी दिनेदेखि सरकारमा सामेल गराउँदा समावेशितालाई निकै ख्याल गर्थे बिपीले । प्रधानमन्त्री र मन्त्रीको तलब घटाउनेदेखि प्रधानमन्त्री निवासमा खाना बनाउँदा खर्च भएको दाउराका भारीको विषयलाई संसदमार्फत् नै उनले प्रष्ट्याउँथे ।

त्यही पार्टी हो, नेपाली कांग्रेस, जसले अंगीकार गर्ने नीति र व्यक्त गर्ने विचारका बारेमा अहिले घनिभूत आवाज उठिरहेको छ । पार्टी विधान अनुसार चल्न नसकेको, सत्तामा जान र टिक्न जुनसुकै हर्कत गर्न पनि पछि नपर्ने, आम कार्यकर्ताको भावनालाई समेट्न नसकेको जस्ता गुनासा आइरहन्छन् । हुन पनि ठूला ठूला विषयमा निर्णय लिनपर्दा पार्टीले केन्द्रीय समितिको बैठक बोलाउँदैन । कार्यसम्पादन समितिको बैठक र सभापतिको तजबिजीबाटै अधिकांश निर्णय हुने गरेको आरोप लागिरहेको छ । यति लामो इतिहास बोकेको पार्टीका उम्मेदवारलाई भर्खर स्थापित दलका उम्मेदवारबाट पराजित भएका छन् । युवाहरुमा असन्तुष्टि चुलिएको छ, भुईंतहबाट आवाज उठिरहेको छ, ‘अब सच्चिन वा सक्किनुको विकल्प छैन ।’

यसैबीचमा पार्टीको संस्थापन इतरका नेताहरुले ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ थालेका छन् । यसै अभियान अन्तर्गत शनिबार पोखरा सभागृहमा प्रदेशस्तरीय विचार र अन्तक्र्रिया भएको छ । जसमा मनाङ र मुस्ताङवाहेक ९ जिल्लाका नेता कार्यकर्ता सहभागी थिए । पोखरा सभागृहको हल खचाखच थियो । जिल्लाबाट आएका सहभागीमध्येबाट नाम संकलन गरी अभियानका बारेमा सुझाव संकलन गरिएको थियो । पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा बुँदागत रुपमा सुझाव लिएर टिपोट समेत गरिएको अभियानको गण्डकी संयोजक देवराज चालिसेले बताए ।

रुपान्तरण अभियान किन त ? कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले भने, ‘जुन चरित्रबाट पार्टी चलिरहेको छ, त्यसबाट कार्यकर्ता तहमा उत्साह छाएन, चाल, चेहरा र चरित्र फेर्न जरुरी छ, यसैका लागि हो अभियान ।’ नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नका लागि मात्र अभियान थालेको नभइ संगठन जोगाएर पार्टीको शाखलाई अझै माथि पु¥याउने प्रयास आफूहरुको रहेको उनको प्रष्टोक्ति थियो । नेतृत्वका लागि यो खबरदारी हो भन्दै उनले भने, ‘आफै सच्चिए राम्रो, नत्र विधान अनुसार नै अविश्वास ल्याउने वा विशेष महाधिवेशन बोलाउने काम पनि हुन्छ ।’

नेपाली कांग्रेस रुपान्तरण अभियान अन्तर्गत पोखरामा प्रदेशस्तरीय विचार र अन्तक्र्रिया

पूर्व केन्द्रीय सदस्य गुरु घिमिरेले पार्टीमा विचारको पुनव्र्याख्या र संगठन पुनर्गठन जरुरी रहेको बताए । अरु पार्टीका नेताभन्दा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको उचाइ अब्बल रहनु पार्टीको उज्यालो पक्ष रहे पनि केन्द्रीय समितिको बैठक नै नबस्ने, कार्यकर्ताको भावना नसमेट्ने जस्ता विषय अध्यारो पक्ष रहेको उनको भनाइ थियो । उनले भने, ‘हामीले निदाएको बहाना गरेको नेतृत्वपंक्तिलाई पानी छम्केको हो, यो अभियानलाई नजरअन्दाज गरियो भने नतिजा खतरनाक आउँछ भन्ने पनि बुझिराख्नुस् ।’ नेतृत्वको अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक अधोगतितिर गइरहेको भन्दै उनले नेतामा नेतृत्व मात्र होइन, विकास गर्ने इच्छाशक्ति पनि आवश्यक पर्ने बताए । समाजले दुख पाएको खराब व्यक्तिको आतंकले नभइ, असल मानिसको मौनताले हो भन्दै त्यही मौनतालाई तोड्दै यो अभियान थालेको उनले बताए ।

अभियानका गण्डकी संयोजक देवराज चालिसेले पार्टीले लिएको यथास्थितिको नीति र थितिबाट पार्टी र मुलुक अगाडि बढ्न नसक्ने भनाइ राखे । उनले भने, ‘सत्तामा पुग्नकै लागि पार्टीको सिद्धान्तलाई बेच्ने काम भयो, बिपीको आदर्शलाई तिलाञ्जली दिएर माओवादीसँग चुनावी तालमेल गर्ने अवस्थामा कांग्रेस किन पुग्यो ?’ सरकारका माध्यमबाट पार्टीको विश्वास बढाउनुको साटो घटाउने काम भएको भन्दै चालिसेले सिद्धान्तमा घुँडा टेकियो, मुलुकलाई अधोगतिमा लैजान कांग्रेसको प्रयोग भयो भने ।

भ्रष्टाचार राष्ट्रिय रोग रहेको भन्दै नेता चालिसेले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नै मानव तस्करीका आरोपित छन्, डामिएका व्यक्तिले नेतृत्व गरेको आयोगबाट केही हुँदैन, भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र र शक्तिशाली संयन्त्र चाहिन्छ ।

कार्यक्रममा सहभागी वक्ताहरुले पार्टीले प्रष्ट विचार प्रवाह गर्न नसक्दा नयाँ दलहरुले ‘स्पेस’ पाएको भन्दै यसका लागि नेतृत्व सच्चिन जरुरी रहेको भनाइ राखे । नेताका आफन्त र आसेपासेले मात्र अवसरमा पाउने गरेकोप्रति इंगित गर्दै उनीहरुले योग्यता, क्षमता र योगदानका आधारमा पार्टीले मूल्यांकन गर्न सुझाव दिए । नेतृत्व बदलिन तयार नभए कार्यकर्ताहरु नेतृत्व बदल्न वाध्य हुने चेतावनी उनीहरुको थियो । कतिपयले भने कतै यो अभियान बीचैमा असफल हुने हो कि भन्ने आशंका व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, नेताहरु कृष्ण केसी, विष्णुदेवी पाण्डे, रघुनाथ पौडेल, खगेन्द्रराज रेग्मी, वैकुन्ठ न्यौपाने, भोजराज अर्याल, वसन्त सिके, केबी भण्डारी, नारायणमणि लामिछाने, झल विक, नविन श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, भेषबहादुर पौडेलले सुझाव दिएका थिए ।
जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष नवराज सिवाकोटी, विद्यार्थी नेता निर्दोषविक्रम पौडेल, भरत लम्साल, सीता काफ्ले, भरत रखाल, चूडा खनाल, जगदीश उपाध्याय, गाउँ पालिका महासंघ नेपाल अध्यक्ष लक्ष्मी पाण्डे, चन्द्रबहादुर राना, कृष्ण पोखरेल, गोकुल सापकाटो लगायत कांग्रेस जोगाउन नेतृत्व सच्चिनुपर्ने भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width