संगमको योजना निर्माण कार्यशाला

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८०
Sangam sahakaris

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षे रणनीतिक व्यावसायिक योजना निर्माण गरेको छ । नेफ्स्कुनको प्राविधिक सहयोग तथा संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीको उपस्थितिमा ३ दिने कार्यशाला गरेको हो । संस्थाको तेस्रो रणनीतिक योजना आगामी आर्थिक वर्ष २०८०÷८१ देखि कार्यान्वयनमा आउने र यसले संस्थाको लक्ष्य प्राप्तिमा सहज बनाउने अध्यक्ष नवराज तिवारीले विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश सहकारी विभागका रजिस्ट्रार रोशन अर्यालले कार्यक्रम उद्घाटन गर्दै सिद्धान्त र नियममा चलेका सहकारीमा समस्या नदेखिए तापनि केही समस्याग्रस्त सहकारीका कारण असल सहकारीलाई असर परेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

नेफ्स्कुनका सहजकर्ताद्वय कोमलराज अधिकारी र रविन्द्र श्रेष्ठले कागजमा तयार गरिएको योजनालाई व्यवहारमा उतारेर सबै सदस्यले महसुस गर्ने गरी सकारात्मक परिवर्तन भएको खण्डमा मात्रै अहिलेको कार्यशालाले सार्थकता पाउने बताए ।

पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाले देशको आर्थिक अवस्था संक्रमणकालीन स्थितिमा भएकाले सबैको साथ र सहकार्यबाट सुधार गर्न जरुरी रहेको बताए । सहकारीका सल्लाहकार निरज थापाले धेरै सहकारीभन्दा पनि असल सहकारीको आवश्यकता भएकाले राम्रो सहकारी बनाउनेतर्फ वडाध्यक्षको ध्यानाकर्षण गराए ।

सञ्चालक सदस्य तिलक थापाले जुनसुकै संस्थामा पनि जिम्मेवार पदमा बस्नेहरूले संस्थाप्रति गरेको समय व्यवस्थापन र वैचारिक उपस्थितिले मात्रै उक्त संस्थाको प्रगति हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यशालामा शिक्षा उपसमिति सदस्य तुलबहादुर गुरुङको संयोजकत्वमा गठित रणनीतिक योजना पुनरावलोकन तथा सुझाव समूहले तयार गरेको प्रतिवेदन पेस गरिएको थियोे ।

Related News

सम्बन्धित समाचार

hero news full width