सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
sirjanshil

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा जेठ १२ र १३ गते प्राज्ञिक लेखन कार्यशाला तथा भाषा साहित्य विषयक गोष्ठी भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले भाषा, साहित्य र कला राष्ट्रका गहना भएको बताए । उनले निरन्तरको अध्ययन र अनुसन्धानबाट मात्र नयाँ नयाँ ज्ञानको निर्माण हुने र यसले समाज रूपान्तरणमा सहयोग मिल्ने धारणा राखे । हाम्रो धर्म र कर्म भनेकै नैतिकता र सदाचार भएकाले यसलाई सदैव ख्याल गर्नुपर्नेमा जोड दिए । गोष्ठीले सहभागीहरूको अनुसन्धान क्षमता वृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गोष्ठीको पहिलो दिनको अनुसन्धान कार्यशालामा अनुसन्धान पत्र लेखनका सैद्धान्तिक र व्यावहारिक विषयमा विमर्श भयो । कार्यशालाको पहिलो सत्रमा सहप्राध्यापक दीपेन्द्र पराजुली तथा उपप्राध्यापक हिममाया पौडेलले अनुसन्धान पत्र लेखनमा विषय क्षेत्र छनोट, शीर्षक चयन, अनुच्छेद विन्यास, सार लेखन र तथ्यांकको विश्लेषणमा केन्द्रित रही कार्यशाला गराए । कार्यशालामा समूह कार्य गराई प्रस्तुतीकरण गराइएको थियो ।

यसैगरी दोस्रो सत्रमा सहप्राडा नवराज न्यौपाने र उपप्राध्यापक डा. पीताम्बर पौडेलले अनुसन्धानात्मक लेख प्रकाशन प्रक्रियामा देखिने समस्या र समाधानका उपायमा केन्द्रित रही कार्यशाला गराए । अनुसन्धानात्मक लेख लेखन र प्रकाशन दुवै चुनौतीपूर्ण र गौरवमय कार्य भएकाले यसमा शोधार्थीको अठोट आवश्यक पर्ने बताए ।

गोष्ठीको दोस्रो दिन समूह छलफल गराइएको थियो । उक्त छलफलमा सहप्राध्यापक डा. लक्ष्मीशरण अधिकारी, सहप्राध्यापक दीपेन्द्र पराजुली र उपप्राध्यापक सविन्द्रराज भण्डारीले ‘साहित्यमा उत्तरआधुनिकता र वर्तमानमा यसको उपयोग’ शीर्षकमा आआफ्नो विचार राखे । यसमा सर्वप्रथम डा.सविन्द्रराज भण्डारीले सम्बन्धित विषयमा केन्द्रित रही अवधारणा प्रस्तुत गरेपश्चात् समूह छलफललाई सघन बनाइएको थियो ।

उत्तरआधुनिकता पछिल्लो समयमा विभिन्न क्षेत्रमा देखापरेको वाद भएको तथा वर्तमानमा मेटामोडनिज्म र ट्रान्समोडनिज्म आइसकेका सन्दर्भमा साहित्यमा उत्तरआधुनिकताको प्रभाव र वर्तमानमा यसको सान्दर्भिकताबारे बहस गरिएको हो । छलफलमा सहभागीहरूले यस वादको प्रभावलाई समाज र जीवनसँग जोडेर जिज्ञासा राखेका थिए । समूह छलफलको सहजीकरण उपप्राध्याक डा. भूमिराज बस्ताकोटीले गरेका थिए ।

दोस्रो दिनको दोस्रो सत्रमा प्राडा शालिग्राम सुवेदीले ‘संस्कृत र नेपाली भाषाका उपसर्गमा रहेको भिन्नता’ लाई स्पष्ट पारे । उनले पाणिनीय व्याकरणमा २२ ओटा उपसर्गको उपयोग पाइने र संस्कृत व्याकरणमा यसैलाई आत्मसात् गरिएको तथा नेपाली भाषामा आगन्तुक उपसर्गसमेत जोड्दा उपसर्गको संख्या बढ्न सक्ने बताए । उनले संस्कृतमा उपसर्ग निश्चित र दोषमुक्त भएका तथा नेपालीमा उपसर्ग अनिश्चित र दोषयुक्त भएकाले नेपालीमा उपसर्गको तथ्यपरक अध्ययन गरेर संख्या निर्धारण गर्न आवश्यक रहेको स्पष्ट पारे ।

गोष्ठीको समापन सत्रमा प्राडा कुसुमाकर न्यौपानेले कार्यक्रमले शोधार्थीमा ज्ञानको क्षितिज फराकिलो हुने बताए । यसै गरी सहभागीहरूको तर्फबाट उपप्राध्यापक गोविन्दप्रसाद गैरे र उपप्राध्यापक नारायणी पौडेलले कार्यशाला र गोष्ठीबाट सिकेका अनुभवलाई आफूले कार्यक्षेत्रमा उपयोग गर्न आतुर रहेको धारणा राखे । कार्यक्रममा सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराईले गीत तथा उपप्राध्यापक सुरज पौडेलले मुक्तक सुनाएका थिए । गोष्ठीमा सहप्राध्यापक आनन्दमणि रिजाल, प्राडा यमबहादुर पौडेल क्षेत्री, उपप्रा सञ्जीव खनाल, उपप्राध्यापक सुलोचना खनाल, साहित्यकारहरू तारा पाखे, डा. टीकाराम आरुणी, गणेश चालिसे, सागर पनेरु, मणि डुम्रे लगायतले भाषा साहित्य र अनुसन्धानका विषयमा जिज्ञासा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width