पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०

पोखरा । पोखरा २६ का निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकालको शनिबार समीक्षा गरेका छन् । २०७९ जेठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले १ वर्षमा काम गरेका कामहरू वडावासीसमक्ष प्रस्तुत गरेका हुन् ।

वडाध्यक्ष नरेन्द्र थापाले १ वर्षे कार्यकालमा १८ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको उल्लेख गर्दै झण्डै ८० प्रतिशत काम सम्पन्न भएको सुनाए । वैशाख मसान्तसम्म विनियोजित रकमबाट ६० प्रतिशत र जेठको दोस्रो हप्तासम्म थप २० प्रतिशत योजनामा प्रगति भएको उल्लेख गरे । असार मसान्तसम्म लक्षित बजेटबाट पूरै काम हुने अध्यक्ष थापाले बताए ।

थापाले वडामा सडक कालोपत्रे, ढल र नाला निर्माणका कामले तीव्रता पाएको, सबै टोल र वडामा पक्की सडक पु¥याइएको उल्लेख गरे । अध्यक्ष थापाले वडा, महानगर र प्रदेश सरकारको समेत बजेटबाट विभिन्न क्षेत्रमा गरी १ सय २९ योजना सम्पन्न भएको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा वडाभेला गरी योजना संकलन गरिएको र ती योजना बैंक स्थापना गरी कार्यान्वयन गरिंदै लगिएको उनको भनाइ थियो । योजना बैंकमा ३ सय ४० योजना रहेकोमा १ सय २९ योजनाको कार्य सम्पादन भएको जानकारी दिँदै अध्यक्ष थापाले आव २०८०÷०८१ मा थप योजनालाई योजना बैंकमा समावेश गरी कार्यान्वयन गरिने बताए ।

उनले योजना छान्न वडा भेला गरिएको, ज्येष्ठ नागरिकको भत्ता नवीकरण टोल÷टोलमा पुगेर गरिएको, अपांगलाई टोलटोलमा पुगेर सहायता सामग्री वितरण गरिएको र वडा कार्यालय भवनको सुधार गरी एकद्वार प्रणालीबाट जनताको सिफारिस र सेवा प्रवाह गरिएको उल्लेख गरे ।

वडा अध्यक्ष थापाले आगामी आवका लागि ३६ वटा योजना तथा कार्यक्रम प्रस्तुत गरे । उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, अतिक्रमित सडकको मापदण्ड लागु गरी अवैध संरचना हटाउने, वडा कार्यालयको प्रशासनिक भवनका लागि जग्गा प्राप्ति र भवन निर्माण, कृषि उत्पादनको पकेट क्षेत्र तोक्ने, पहाडी भागलाई सहरीकेन्द्रसँग जोड्ने गरी सडक निर्माण लगायत योजनालाई प्राथमिकता दिइने उल्लेख गरे । वडामा रहेका पुराना चौतारा, खानेपानीका मुहानहरूको संरक्षण र संवद्र्धन गरिने योजना आगामी आर्थिक वर्षमा समेटिने उल्लेख गरे ।

कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापाले आफू मन्त्री हुँदा वडा विकास गर्न नसकेको उल्लेख गर्दै वडामा ऐतिहासिक बजेट विनियोजन भएको उल्लेख गरे । उनले दीर्घकालीन र रणनीतिक हिसाबले सडक पूर्वाधारको प्रस्ताव उल्लेख गरिएको भन्दै योजना कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले वडामा रहेका तालहरूलाई पर्यटकीय क्रियाकलाप सञ्चालन गर्ने गरी योजना बनाउनसमेत सुझाव दिए ।

साविक लेखनाथ नगरपालिकाका पूर्व प्रमुख शालिग्राम पौडेलले युवाले नेतृत्व गरेको वडामा रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता झलकपाणि तिवारीले २०६२/०६३ सालको परिवर्तन पछि जनताको अधिकारको अभ्यास वडास्तरसम्म भएको उल्लेख गर्दै भौतिक विकासलाई मात्र विकासका रुपमा लिन नहुने उल्लेख गरे ।

पहाडी भागलाई सहरीकेन्द्रसँग जोड्ने सडक निर्माण प्राथमिकतामा

पूर्व न्यायाधीश वासुदेव न्यौपानेले विकासको बजेटमा रेखदेख र खबरदारी रहनुपर्ने उल्लेख गर्दै कामको गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, नेपाली कांग्रेस वडा इकाइ सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले २६ नम्बर वडाका सचिव सूर्यप्रकाश ढुंगाना, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रममा स्वागत वडा सदस्य तीर्थबहादुर राजभाटले स्वागत र वडा सचिव मीना भट्टराई भण्डारी, कर्मचारी लीलामणि भण्डारी र नवराज सापकोटाले समीक्षा कार्यक्रम र योजना तर्जुमामा सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width