मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
Bindu Kumar Thapa – Pradesh Sabha

पोखरा । गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सदस्य छन् । तीमध्ये दोहोरिने एकमात्र सदस्य हुन् कास्कीका बिन्दुकुमार थापा । मंसिर ४ मा भएको चुनावमा उनी कास्की २ को २ बाट निर्वाचित भए ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री रहेका उनलाई हराउन अर्का एक मन्त्री नै उद्यछ थिए । वडा वडामा कार्यकर्ता परिचालित थिए हराउनकै लागि भनेर । त्यस्तो अवस्थामा पनि उनी विजयी भए ।

विजयी भइसकेपछि उनी ढुक्क थिए, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुँदा अर्थ या भौतिक पूर्वाधार मन्त्री त पक्का बन्छु भन्नेमा । त्यसो त दलको नेताका लागि पनि उनले कसरत नगरेका होइनन् । तर सुरेन्द्रको राजनीतिक उचाइका कारण बिन्दु पछि हटे । यसैबीचमा राजनीतिक दुर्घटना भयो । संघमा माओवादीले एमालेसँग मिलेर सरकार बनाएसँगै प्रदेशमा पनि कांग्रेसको हातबाट सत्ता फुत्क्यो ।

एमालेका खगराज अधिकारी मुख्यमन्त्री बने । मुख्यमन्त्री बन्न दौरा सुरुवाल सुटकेसमा बोकेर आएका सुरेन्द्र प्रतिपक्षको बेन्चमा बस्न वाध्य भए । तर सुरेन्द्र ढुक्क थिए, आफू छिटै मुख्यमन्त्री बन्नेमा । भनेजस्तै भयो, केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशमा पनि १ सय दिनमै खगराज सरकार ढल्यो ।

अनि कसरत सुरु भयोे सरकार निर्माणको । गण्डकीमा त माओवादीको नेतृत्वमा सरकार बन्ने रे भन्ने गाइँगुइँ चल्यो । गाइँगुइँ मात्र होइन पक्काजस्तै भो भन्ठानेर गण्डकीका सबै कांग्रेस साँसद काठमाडौं हुइँकिए । तर बीच बाटोमा पुग्दा नपुग्दै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने पक्का भो र भन्ने खबर आयो । तै पनि सांसदहरु काठमाडौं पुगे ।
भोलिपल्ट बिहान सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना कुरा राखेर उनीहरु फर्किए ।

कांग्रेस नेतृत्वमा सरकार बन्ने पक्का भएपछि अरु खुसी भएर फर्कंदा बिन्दुकुमार थापा भने खुसी हुन सकेनन् । कारण उनी मन्त्रीको लिस्टमा पर्ने सम्भावना देखिएन । एकपटक मन्त्री भएको व्यक्तिलाई अहिले मन्त्री नदिने बरु नयाँलाई बनाउने भन्ने नियम बनाइएछ । उपसभापति पूर्णबहादुर खड्काले बिन्दुलाई त्यो खबर सुनाए ।
आफूहरु मन्त्री बन्न पाइन्छ कि भनेर कास्की र अरु जिल्लाका सांसदहरुले बिन्दुको मन्त्री हुने बाटो छेकेका रहेछन् । त्यसपछि देउवा निवास पुगेको बिन्दुले त्यहाँबाट पनि ढाडस पाउन सकेनन् । अनि फर्के पोखरा । मन्त्री पक्का भनेर आश्वासन दिने दलका नेता सुरेन्द्र बिन्दुसँग पहिलाजस्तो खुलेनन् । केन्द्रको दबाब भन्दै सरकारमा सामेल हुनेहरुको सूची हातमा लिएर तयारीमा जुुटिरहे ।

जिल्ला, भूगोल, समूह, लैंगिक, जातीय सन्तुलन मिलाउने ध्याउन्नमा लागेको भनिएका सुरेन्द्रलाई खै कताको दबाब आयो, तमुवानमा गुरुङलाई नै मन्त्री बनाउन सकेनन् । वैशाख १५ मा सपथ लिने दिन स्याङ्जाकी सरस्वती अर्याल र माओवादीबाट गोरखाकी शुशीला सिंखडालाई लिएर सरकार बनाए ।

कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपानेलाई प्रमुख सचेतक बनाएका उनले लमजुङका टकराज गुरुङलाई मन्त्री दिन सकेनन् । भित्र तयारी कस्तो थियो कुन्नि बाहिर वृत्तमा हल्ला भने टकराज अर्थमन्त्री हुनेभए भन्ने चर्चा निकै थियो । पछि नवलपुरका महेन्द्रध्वज जिसीले अर्थमन्त्रालय पाउने भए भन्ने हल्ला चलिरहँदा तनहुँका जीतप्रकाश आले त्यो जिम्मेवारी पाए । जिसीले कृषि मन्त्रालयको जिम्मा पाए । यसमा जिसी मात्र होइन संस्थापन इतर समूह नै असन्तुष्ट छ । जुन विषयमा केही दिन पहिला मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकमा मज्जैले उठेको थियो ।

मुख्यमन्त्री पाण्डेले मन्त्री दिन नसकेलाई फकाउने ठाउँ अझै बाँकी छ । त्यो हो, संसदीय समिति । ४ समिति रहेकामा सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने चलन छ । बाँकी ३ मध्ये १ माओवादीलाई दिँदा कांग्रेसका भागमा २ समिति पर्छन् । यी दुई समितिमा पाण्डेले २ जनालाई व्यवस्थापन गर्न सक्छन् ।

समिति विस्तार गर्न आदटाल भइरहेका बेला मुख्यमन्त्री समेत रहेका दलका नेता पाण्डेले बिन्दुकुमार थापालाई दलको उपनेतामा मनोनयन शुक्रबार गरेका छन् । दलको सचिव, कोषाध्यक्ष, प्रवक्ता भने उनले अझै तोकेका छैनन् ।

थापालाई नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन गरिएको हो ।
संसदीय दलको नेताको चुनावका बेला सुरेन्द्रलाई सहयोग गरेका रोमी गौचन थकालीको पनि उनले चित्त बुझाउनुपर्ने छ । गौचनसँग ४ मत छन् । संसदीय दलमा प्रतिस्पर्धी भोजराज अर्याललाई जाने ४ मत अन्तिम समयमा आएर सुरेन्द्रका पक्षमा परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width