माओवादी सौर्यखोलामा विष्णुप्रसाद

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८०
maobadi sauryakhola

पोखरा । नेकपा (माओवादी केन्द्र) पोखरा १८ सराङकोटअन्तर्गत सौर्यखोलामा विष्णुप्रसाद पराजुलीको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष चित्राकुमारी अधिकारी र सचिव अनीरुद्र पौडेल छन् ।

भेलाले समीक्षा सुनारको नेतृत्वमा दुर्गा पौडेल उपाध्यक्ष, सुजता शर्मा सचिव, सुशीला पोखरेल कोषाध्यक्ष र सदस्यहरू गोमा शर्मा, शान्ति पोखरेल, अस्मिता बुढामगर, शान्ति क्षत्री रहने गरी अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन गरेको छ । बैठकमार्फत् दुवै समितिलाई पूर्णता दिने निर्णय पनि भएको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एव गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री रामजीप्रसाद बरालले पवित्र मनासायका साथ जनताको सेवा गर्ने पार्टी नेकपा (माओवादी केन्द्र) मात्रै भएको दाबी गरे । उनले जनताको सेवा गर्दा धेरै धर्म मिल्ने उल्लेख गर्दै धेरै मानिसको बलिदानीका कारण देशमा परिवर्तन आएको चर्चा गरे ।

केन्द्रीय सदस्य दुर्गा विकले जनतासँग पार्टी अभियान सफल भएको भन्दै यसले माओवादी आन्दोलनमा टेवा पुग्ने बताइन् । जनताको दुखसुखमा पार्टी र आफू पनि सधै साथमा रहेको उनको भनाइ छ ।

त्यस अवसरमा वडा कमिटी अध्यक्ष पूर्णाखर तिमिल्सिना, अनेमसंघ क्रान्तिकारी पोखरा सचिवालय सदस्य तुलसी पराजुली, स्थानीय माओवादी नेताहरू चित्राकुमारी अधिकारी, सहारा नेपाली, समीक्षा सुनारलगायतले बोलेका थिए ।
उनीहरुले सौर्यखोला क्षेत्र पोखराको मुख्य बजार क्षेत्रबाट नजिक भए पनि सोचेअनुसार विकास नभएको, पानीको अभाव रहेको, धेरै सडकको स्तरोन्नति गर्न बाँकी रहेको भन्दै समाधानका लागि नेतृत्वको ध्यानाकर्षण गराए ।

स्थानीय अनीरुद्र पौडेलको अध्यक्षतामा भएको भेलामा चित्राकुमारी अधिकारीले स्वागत तथा अनेमसंघ क्रान्तिकारी पोखरा सचिवालय सदस्य पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width