भ्रष्टाचारविरुद्ध सर्जकको आक्रोश

धनबहादुर गुरुङ
वैशाख ३१, २०८०
Anti Corruption Photo 1

पोखरा।  पृथ्वीचोकमा शनिबार एक हुल मानिस जम्मा भए । प्रायः जिल्ला बाहिरिनेहरुको चहलपहल हुने चोकमा ब्यानर र पम्पप्लेटसहितका मानिसहरुको भिडभाड थियो । उनीहरुले भ्रष्टचार ढाकछोपविरुद्ध नागरिक प्रदर्शन लेखिएको कालो ब्यानरमा समातेका थिए । अधिकांशको टाउकामा भ्रष्टाचार विरोधी शब्दको कृत्रिम टोपी थियो । कोहीले पम्प्लेट हातमा लिएका थिए ।

केही छिनमा सर्जक दीपक पराजुली माइक समाएर बोल्न थाले । भ्रष्टाचारका विरुद्धमा केही शब्द बोलेपछि उनले पोखराका पत्रकार अमृत सुवेदीलाई माइक सुम्पिए । त्यसपछि सुरुभयो, सिर्जनाका माध्यमबाट आक्रोश ।

सोही क्रममा भ्रष्टाचार ढाकछोपविरुद्धको नागरिक आन्दोलनमा कवि सुरज उपाध्यायले कविताबाटै आक्रोश व्यक्त गरे ।

बा भन्नुहुन्छ
मलाई थाहा छ, नेपालीलाई भुटानी कसरी बनाइयो
तर म भन्दिनँ
४ गते पनि भन्दिनँ
ज्यान जाला भन्दिनँ
अहँ भन्दै भन्दिनँ
यदि मैले भनें भने
टोपबहादुरभन्दा ठूलो भ्रष्टाचारीमा मेरो नाम दर्ज हुनेछ
थाहा छ नि मैले भ्रष्टचार गर्दिनँ
त्यसैले मैले भन्दै भन्दिनँ

यसैगरी उनीसहित ६ कविले कविता वाचन गरे । विरोध कार्यक्रममा सुरेश रानाभाट, विकास रोका मगर, बाबु साहेब, अमृत सुवेदीलगायतले कविता सुनाएका थिए । कवितालगत्तै नाटक मार्फत् पोखरा थिएटरका कलाकारले जनताका सामु नेता झुक्न बाध्य हुन्छन् भन्ने सन्देश दिए । ‘नेताहरु भ्रष्टाचारमात्र गर्न खोज्छन् । जनताले उनीहरुलाई जिताएर पनि पठाउँछन्,’ कलाकार रमेश तिमिल्सिनाले भने, ‘भ्रष्टाचार धेरै गरेपछि केहीले साथ दिएपनि धेरै विरोध गर्छन् अनि जनताका सामु नेता झुक्नुपर्छ भन्ने सन्देश नाटकमा थियो ।’

सर्जक दीपक पराजुलीले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु नै जोडिइरहेकाले अब बाँकी भ्रष्टाचारका फाइलहरु पनि खोलिनुपर्ने बताए । ‘जति पनि फाइलमा बन्द छन्, भ्रष्टाचारका काण्ड, अब ती सबै खोलिनुपर्छ,’ उनले भने, ‘अब त्यसलाई लुकाउन दिइनुहुँदैन । हामी त्यसैका लागि सडकमा आएका छौं ।’

रंगकर्मी अनुप बरालले नेपालीलाई भुटानी शरणार्थी बनाउन गरिएको दुष्प्रयासलाई संगीन अपराधको संज्ञा दिए । ‘त्यसलाई त अझ राष्ट्रको नेतृत्वमा बसेका ठूला पद ओगटेका उनीहरुले नै ढाकछोप गर्ने प्रयत्न गरे। हाम्रो देशमा भ्रष्टाचारको जरो कति गहिरो र नमिठो तरिकाले संयन्त्रहरुमा गढेको छ पोस्टमार्टमा गरेको छ’, उनले भने । भ्रष्टाचारको असर बढ्दै जाँदा नेपाल अपराधिक संगठनहरुको थलो बन्नेमा उनले चिन्ता जनाए । राज्य संयन्त्रबाट भएको अपराधिक कार्य र भ्रष्टाचारको खुलेरै विरोध गर्न रंगकर्मी बरालले आह्वान गरे ।

अभियन्ता गनेस पौडेलले पाइलापाइलामा भ्रष्टाचार बढेर गएकाले नागरिकले विद्रोह गर्नुपर्ने बाध्यात्मक स्थितिमा आइपुगेको सुनाए । ‘बाटोमा भ्रष्टाचार छ । ढलमा भ्रष्टाचार छ । नलमा भ्रष्टाचार छ,’ उनले भने, ‘कहिलेकाहिँ त लाग्छ मैले खाने पानी र मैले फेर्ने श्वासमा पनि भ्रष्टाचार छ । मैले बिरामी हुँदा सेवन गर्ने औषधिमा भ्रष्टाचार छ ।’

अधिवक्ता सरस्वती सुवेदीले नक्कली भुटानी शरणार्थी प्रकरण मानव तस्करीका रुपमा चित्रण भएको बताइन् । ‘यसलाई मावन तस्करीका रुपमा चित्रण गरेको देखिन्छ । यो राजनीति भित्र लुकेको ठूलो अपराध हो,’ उनले भनिन्, ‘यसको मुद्दा राज्यले हेर्न सुरु गरेको छ । यो अन्तर्राष्ट्रिय स्तरको अपराध भएकाले राज्य आफ्नो सफा नियत राखेर अघि बढाओस् भन्न चाहन्छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width