ठाडोभाका गायक सन्तबहादुरको निधन

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८०
Sube Santabdr GRG 1

लमजुङ । मौलिक ठाडोभाकाका एक उज्ज्वल नक्षत्रका रुपमा परिचित सु.सन्तबहादुर गुरुङको निधन भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ७ चिसंकु निवासी ६५ वर्षीय गुरुङको पोखरा तुलसीघाटमा शनिबार अन्तिम संस्कार गरियो ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले गुरुङ प्रतिष्ठानका आजीवन सदस्य, हँसिलो अनुहार भएका ऊर्जाशील व्यक्तित्व भएको बताउँदै प्रतिभावान् र अनुकरणीय व्यक्तित्व गुमाएको सुनाए ।

प्रतिष्ठानका अध्यक्ष पहाडीले गुरुङको स्मृतिमा प्रतिष्ठानले ‘ ठाडो भाका सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ स्थापना गर्ने घोषणा गरे । अक्षयकोष बनाउन प्रतिष्ठानले ५० हजार रुपैयाँ प्रदान गर्ने उनले बताए ।

अक्षयकोषमा प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका उपाध्यक्ष एवं धम्पुका गायन जोडी सीता दुराले संयुक्त रुपमा २५ हजार रुपैयाँ थप गरेका छन् ।

गोरखाको सिराञ्चोक गाउँपालिका– ५ को चित्रेपोखरीमा आयोजना भएको ठाडोभाका खुला प्रतियोगिता तथा सांस्कृतिक महोत्सवमा भाग लिन गएका गुरुङ बेहोस भएर ढलेका उनलाई आँपपीपल अस्पताल लगिएकोमा चिकित्सक मृत घोषणा गरेका थिए । स्व. गुरुङका श्रीमती, २ छोरा र बुहारी, २ नाति र ३ नातिनी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width