म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताउनुभएको छ ।
“यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो”, ७६ वर्षीय पुनले भन्नुभयो, “बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन”, बाबुबाजेले गर्दै आएको भँैसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताउनुभएको थियो ।
पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रुपमा समेत काम गर्नुभएको थियो । तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाउनुभएको छ । “राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु”, पुनले भन्नुभयो, “विसं २०४५ तिर गलेश्वरमा कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भँैसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो ।”
वर्षमा चार÷पाँच वटा राँगा भैँसी र मासिकरुपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्नुहुन्छ । घोडेपानी, हिस्तान, राम्चे र पोखरामा घ्यू बिक्री गर्नुहुन्छ । दूध, दही गोठमै बिक्री हुन्छ । दुई वर्ष पालेको राँगोलाई रु ५० हजार, दुहुना भैँसीलाई रु एक लाखसम्म मूल्य पर्छ । तीन वर्षअघि श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसीपालनमा साथ दिनुभएको छ । अविवाहित एक छोरीले घर धानेर बस्नुभएको छ । बिवाह भइसकेका दुई वटा छोरी पोखरामा बस्छन् । एक जना छोरा बेनीमा छन् । दुई जना छोरा छोरीलाई दश जोड दुई तह पढाउने खर्च भैँसीपालनबाटै खर्च जुटेको छ ।
“दिदीहरुको पोखरामा आफ्नै घर छ । बुबालाई उतै बस्ने भनेर लगेर जानुभएको थियो”, रेमुले भन्नुभयो, “बजारको कोलाहाल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर आउनुभयो । बृद्ध बुबालाई एक्लै छोड्न भएन भनेर म पनि गोठमा आएको छु । दिदीले घरबाट खर्च पानी ल्याइदिनुहुन्छ ।”
नन्दप्रसादको जङ्गलको बसाई फरक किसिमको छ । उहाँले भैँसी बाध्ने गोठ र आफू बस्ने घर काठैकाठको बनाउनुभएको छ । छानो र चारैतिर काठले बारेको घरको भुइँमा बस्ने ठाउँमा पनि काठनै छन् । काठको घर न्यानो हुने र धेरै खप्ने पुनको अनुभव छ ।
तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ । हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ । पर्यटक, पर्यटक मजदुरहरुले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन् ।
एक जना फ्रान्सका पर्यटकले नन्दप्रसादका लागि काठकै व्यवस्थित किसिमको दुई कोठे घर पनि बनाइदिनुभएको छ । भैँसी चरनका लागि जङ्गलमा छाडिदिने गर्नुहुन्छ । गोठमा बाधिएका पाडापाडीका लागि जङ्गलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन् ।
भैँसी गोठ नजिकै करिब पाँच रोपनी जमिनमा माघ–फागुनमा आलु र आलु खनेपछि साग, बन्दा र काउली खेती गर्नुहुन्छ । चिसो हावापानीमा उत्पादन भएको तिनपोखरीको आलु र साग मोहरेडाँडा, फूलबारी र घोडेपानीको होटलमा खपत हुन्छ । चम्किलो र हसिलो अनुसार, पुष्ट शरीर भएका नन्दप्रसादले जङ्गल जाँदा होस् या गोठमा बस्दा रेडियोको साथ छुटाउनुहँुदैन । गीत सङ्गीत सुन्दै काम गर्ने उहाँ अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय घटनाक्रमको बारेमा उत्तिकै जानकारी राख्न रुचाउनुहुन्छ । –सन्तोष गौतम / रासस
Related News
सम्बन्धित समाचार
पोखरा इन्टरनेटको फाइबर क्लिन अप सुरु
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०