श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८०
shreeram sigdel

पोखरा । यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान पोखराका पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय समिति बैठकले उक्त सम्मानबाट सिग्देलसहित विभिन्न विधामा ७ पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको हो ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देलले २०५४ सालमा आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरुआत गरेका थिए । २०६० सालमा उनकै अग्रतामा चलचित्र पत्रकार संघ पोखरा गठन गरिएको थियो ।

संघ पोखराका संस्थापक अध्यक्ष सिग्देल पत्रकार महासंघ कास्कीका सहसचिव हुन् । उनी हाल फेवा पोस्ट साप्ताहिक तथा फेवा पोस्ट खबर डटकममा कार्यरत छन् । प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष उनी चौतारीका केन्द्रीय सदस्य भइ काम गरेका थिए भने हाल समाजवादी प्रेस संगठनका उपाध्यक्ष एवं गण्डकी इन्चार्ज छन् ।

पोखरा १३, आर्वा निवासी सिग्देलले सम्मानको घोषणाले खुसी लागेको प्रतिक्रिया दिंदै यो सम्मान सिंगो कास्कीको पत्रकारिताको सम्मान हो भने । यसअघि उनी संघ कास्कीबाटै पहिलोपल्ट चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए । प्रेस चौतारी पत्रकारिता पुरस्कार, घरभाडा सरोकार पत्रकारिता पुरस्कार, मादी गाउँपालिकाबाट उत्कृष्ट सञ्चारकर्मी पुरस्कार लगायत दर्जन बढी संघसंस्थाबाट सिग्देल सम्मानित भइसकेका छन् । गत वर्ष चलचित्र पत्रकार संघ कास्कीकै पूर्व अध्यक्ष रेम बिकले मोफसल चलचित्र पत्रकारिता पुरस्कार पाएका थिए ।

यसैगरी, संघले राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० बाट संघका पूर्व अध्यक्ष शान्तिप्रियलाई सम्मान गर्ने भएको छ ।

राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार रवि अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार श्रृष्टि पोखरेललाई दिइने भएको छ । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सिग्देलसहित दीपज्योति थापा, कुँवर डंगोल, तुलसी गिरी भावुक पनि सम्मानित हुने संघका महासचिव रघुनाथ सापकोटाले विज्ञप्तिमार्फत जनाए ।

चलचित्र पत्रकारिता दिवस (जेठ ७) मा संघको २४ औं वार्षिकोत्सव अवसरबीच उनीहरुलाई सम्मानित गरिने छ ।

यसैबीच, बैठकले संघका पूर्व सदस्यलाई मानार्थ सदस्य र चलचित्र पत्रकारितामा क्रियाशील पत्रकारलाई साधारण सदस्यता पनि वितरण गर्ने निर्णय गरेको संघ अध्यक्ष समीर बलामीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width