रेडक्रसलाई सुव्यवस्थित बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८०
cm @ redcross

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मानवीय सेवामा समर्पित संस्था रेडक्रसलाई अझै सुव्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाँचौ साधारण सभाको शनिबार पोखरामा उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले संस्थाको केन्द्रीय अधिवेशन केही वर्षदेखि हुन नसकेको भन्दै नेतृत्वमा बस्नेहरुको कमजोरीका कारण यो समस्या आएको भनाइ राखे । उनले भने, ‘६० वर्षदेखि मानवीय सेवामा जुटिरहेको संस्थाको साखलाई जोगाइराख्नुहोला ।’
मुख्यमन्त्री पाण्डेले ७ सिद्धान्तले नै रेडक्रसको परिचय दिएको भन्दै प्राकृतिक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । गण्डकी प्रकृतिक प्रकोपबाट बढी प्रभावित हुने प्रदेश भएकाले यसमा पूर्व सतर्कता र राहत तथा उद्धारमा रेडक्रसको ठूलो भूमिका रहेको बताए । ‘२०७२ को भूकम्पको अवस्थामा पनि रेडक्रसले जिम्मेबाररुपमा भूमिका निभएको सबैलाई थाहा छ, जनताको साथमा रहेको काम गर्नुभयो त्यसका लागि धन्यवाद् दिन्छु ।’

कार्यक्रममा नेरेसो लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने उनले बताए ।

रेडक्रस बागमतीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दबाब दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए ।

नेपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पूजा कोइरालाले नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् । कोइरालाले समिति विहीन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा सञ्चालन भइरहेका कार्यलाई निरन्तरता दिइरहेको जानकारी गराइन् । नेरोसो तनहुँ सभापति प्राडा कृष्णप्रसाद गौतमले रेडक्रसका गतिविधिलाई निरन्तर समाजसँग जेड्नुपर्ने बताए ।

साधारण सभामा महासचिव रामदत्त पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक देवीलाल शर्मा तिमिल्सिनाले लेखा प्रतिवेदन पेस गरेका थिए । रेडक्रस गण्डकी उपाध्यक्ष फूलमाया गुरुङले भर्खरै अस्तित्वमा आएको प्रादेशिक संरचनाले स्रोत र साधनको अभावका कारण चाहेजसरी प्रभावकारीरुपमा कार्यसम्पादन गर्न नसकेको बताइन् । अध्यक्ष सूर्यप्रसाद ढकालले संस्थाको प्रादेशिक संरचनाको भूमिकालाई बढाउन आवश्यक रहेको बताए ।
युवा रेडक्रस सर्कल भनुभक्त क्याम्पस तनहुँका सभापति सुनिता तिवारीले रेडक्रसबाट आफूले सिक्ने अवसर पाएको बताइन् । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरीता तिमिल्सिनाले रेडक्रसको भूमिकालाई कमजोर हुन दिन नहुने बताइन् ।

कार्यक्रममा रेडक्रस पर्वत र कास्की शाखाका कर्मचारीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा पर्वत रेडक्रस कार्यालय प्रमुख खेमबहादुर क्षेत्री र कास्की शाखा प्रमुख मोहनसिंह खड्का छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width