राष्ट्रपति कप रनिङ सिल्डमा ७२० खेलाडी

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८०
Rastrapati running Shield~main

पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ सिल्डमा ७ सय २० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा सोमबारदेखि सुरु प्रतियोगितामा मुस्ताङबाहेक १० जिल्लाका ७ सय २० जना खेलाडीले ६ खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले आगामी बजेटमा खेलकुदको बजेट बढाउन आफूले सक्दो सहयोग गर्ने बताए । उनले गाउँगाउँमा समेत खेलकुदमा बढेको सक्रिय सहभागिताले आफूलाई समेत निकै हौसला मिलेको उल्लेख गर्दै खेलकुदले सबैलाई एक ठाउँमा उभिन समेत उत्तिकै भूमिका खेलेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्यसचिव घनश्याम पौडेल लगायतले आगामी वर्षकोे खेलकुद बजेट बढाउन प्रदेश सरकारलाई आग्रह गरे ।

२ दिनसम्म चल्ने प्रतियोगिताबाट छनोट खेलाडी काठमाडौंमा हुने राष्ट्रपति रनिङ सिल्डमा भाग लिन पाउने प्रतियोगिता संयोजक खगेन्द्र क्षत्रीले बताए ।

आगामी बजेटमा खेलकुदको बजेट बढाउन सहयोग गर्नेछु : सभामुख

सोमाबार १०० मिटर दौड छात्रतर्फ नवलपुरका ताराप्रसाद थनेत ११.०६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जित्न सफल भए । तनहुँका भीमबहादुर थापाले ११.०३ सेकेण्ड दुरी पार गर्दै रजत र तनहँुकै प्रेमबहादुर थापाले १२.०३ सेकेण्डमा दौड पूरा गरी कास्य पदक जिते ।

१०० मिटर दौड छात्रातर्फ एन्जल अधिकारी कास्की १४.०१ सेकेण्ड, लक्ष्मी परियार लमजुङ १४.०३ सेकेण्ड, अप्सरा बिक नवलपुर १४.०४ सेकेण्डमा दौड पूरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।

४०० मिटर दौड छात्रातर्फ स्याङ्जाकी चन्द्रकला बराल १ मिनेट ०८ सेकेण्ड, कास्कीकी अनुष्का अधिकारी १ मिनेट ११ सेकेण्ड, तनहुँकी सोमाया कुमाल १ मिनेट १३ सेकेण्डमा दौड पूरा गरी क्रमश स्वर्ण, रजत र कास्य पदक हात पारे । छात्रतर्फ प्रकाश महतो नवलपुर ५४.०२ सेकेण्ड, वीनित भुजेल लमजुङ ५५.०६ सेकेण्ड, नितेश शाही लमजुङ ५६.०० सेकेण्डमा पूरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।

१५०० मिटर दौड छात्रातर्फ नारायणी भण्डारी कास्की ५ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी स्वर्ण, एलिना नेपाली गोरखा ५ मिनेट ४० सेकेण्डमा दौड पूरा गरी रजत, शर्मिला बिक बाग्लुङ ५ मिनेट ४१ सेकेण्डमा पूरा गरी कास्य पदक जिते । बागलुङका बादल कार्कीले १५०० मिटर दौड छात्रतर्फ ४ मिनेट २६.३ सेकेण्ड दौड पूरा गरी स्वर्ण जिते । कास्कीका तेञ्जन रोक्का २७.०२ सेकेण्ड दौड पूरा गरी रजत पदक जित्दा तनहुँका दिलीप बिक ४ मिनेट २८.५९ सेकेण्ड दौड पूरा गरी कास्य पदक जितेका छन् ।

रिलेदौड छात्रमा नवलपुर प्रथम, कास्की दोस्रो र तनहुँ तेस्रो भयो । छात्रातर्फ समेत नवलपुर, कास्की र तनहुँ क्रमश पहिलो दोस्रो र तेस्रो हुन सफल भयो । मार्चपासमा गोरखा प्रथम, नवलपुर दोस्रो र कास्की तेस्रो भए ।

Related News

सम्बन्धित समाचार

hero news full width