सहकारी सुशासनमा जोड

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७९
Pokhara Mahanagar Gosthi News2079.12.17

पोखरा । पोखरा महानगरपालिका सहकारी शाखाको आयोजनामा भएको कार्यशालाले विभिन्न ११ बुँदे निष्कर्ष निकालेको छ ।

६६ औं राष्ट्रिय सहकारी दिवस अवसरमा ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशालाले सुशासनसहितको उत्कृष्ट, गुणस्तरीय, दिगो र नीतिगत सर्वोच्चता कायम भएको सहकारी निर्माण गर्नुपर्ने, सञ्चालक तथा कर्मचारीलाई दक्ष बनाउन विषयगत तालिम दिनुपर्नेमा जोड दिएको छ ।

यस्तै, दिगो सहकारी निर्माणका लागि अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनामार्फत विद्यमान तरलता अभाव लगायतका समस्या निराकरण गर्नुपर्ने, सदस्यतामा संख्यात्मकभन्दा गुणात्मक तवरले वृद्धि गर्नुपर्ने, सञ्चालक र कर्मचारीको छुट्टाछुट्टै भूमिकाको पहिचान, मूल्यांकन गरी कमजोर पक्षलाई योजनावद्धरुपमा सक्षम बनाइ सहकारी सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सहकारीका नियामक निकायले निरन्तर सहकारीका समग्र गतिविधि प्रारम्भिक अनुगमन गर्नुपर्ने, तरलता व्यवस्थापन र ऋण असुली प्रभावकारी बनाउन सर्वप्रथम नेतृत्व र एकाघर परिवारमा भएको खराब कर्जा असुली गर्नुपर्ने, सहकारी अभियानविरुद्धका आक्रमण निस्तेज पार्न सबै सहकारी संघसंस्था र नियामक निकाय प्रतिबद्ध हुनुपर्ने, सहकारीलाई उत्पादनसँग जोडेर एक सहकारी एक उत्पादन कार्यक्रमलाई सार्थक बनाउनुपर्नेमा जोड दिएको छ ।

कार्यशाला उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारी क्षेत्रमा देखिएको समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताए । ‘जब समस्या आउँछ, तब नयाँ नीति तथा कानुन बनाइन्छ र समस्यासँग जुँध्ने क्षमताको विकास गरिन्छ,’ उनले भने, ‘तर सहकारीमा छाडातन्त्र भयो भने सदस्यको विश्वास गुम्दै जाने हुनाले सदस्यको विश्वास अटल राख्न अन्तक्र्रिया र छलफल गर्नुपर्छ ।’ अहिलेको समस्याको मुख्य कारण भनेको खराब नियत भएकाले सहकारी सञ्चालन गरेको, बढी व्याजको प्रलोभन देखाएर सदस्यहरु ठगिने गरेको बताउँदै त्यसो हुन नदिन सहकारी सञ्चालक, कर्मचारी र स्वयं सेयर सदस्य चनाखो हुनुपर्ने बताए ।

सहकारी समिति अध्यक्ष रविरमण तिवारी र नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले सहकारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सहकारी रजिष्ट्रारको कार्यालयका ईश्वरी ढकाल र नेफ्स्कुन सञ्चालक कमलादेवी गिरीले टिप्पणी गरेका थिए ।

पोखरा महानगरपालिका सहकारी शाखाले आयोजना गरेको कार्यशालाको ११ बुँदे निष्कर्ष

कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइराला, कास्की बचत तथा ऋण सहकारी संघ उपाध्यक्ष श्रीकान्त ढुंगाना, दुग्ध सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेल, पोखरा महानगर सहकारी संघका कावा अध्यक्ष लीलाधर बराल, महानगर सहकारी समितिका पूर्व अध्यक्ष तेजनारायण अधिकारी, नेफ्स्कुन पोखरा फिल्ड व्यवस्थापन उपसमितिका जगन्नाथ अधिकारी, कास्की जिल्ला उपभोक्ता संघ अध्यक्ष कृष्ण बराल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष फडिन्द्र पौडेल, को–अपरेटिभ म्यानेजर्स क्लब कास्की अध्यक्ष अपिल कोइराला लगायतको उपस्थिति रहेको पोखरा महानगरपालिका सहकारी समिति सदस्य दीपकप्रकाश आचार्यले बताए ।

पोखरा महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेलले सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापन सहकारी शाखाको अधिकृत ऋषिराम सापकोटाले गरेका थिए । स्वागत सहकारी समिति सदस्य नारायणप्रसाद आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width