अनाथको आश्रय सहारा एकेडेमी

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७९
sahara academy

पोखरा । आजभन्दा झण्डै २५ वर्षअघि स्थापित सहारा क्लब पोखरा मोफसलमा रहेर पनि चर्चित क्लब हो । फुटबलमार्फत सामाजिक क्षेत्रमा क्रियाशील उसलाई भने आरोप लाग्ने गरेको छ–यतिका वर्षसम्म पनि ए डिभिजन लिग खेल्न सकेन । यो कुरो चौंथो ब्याच भर्ना प्रक्रियाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा पनि उठ्यो, ‘सामाजिक काम हो भने अनाथ आश्रमजस्तो गरी चलाऊ नभए साँच्चिकै व्यावसायिक फुटबलमा अघि बढ ।’

उपस्थित केहीले स्वीकृतिमा टाउको हल्लाए पनि पूर्व अध्यक्ष विक्रम थकाली यो सुझाव मान्न तयार भएनन् । क्लब पूर्व अध्यक्ष समेत रहेका उनले तर्क छ, ‘आर्थिक पक्ष बलियो नभइकन लिग खेल्न सकिँदैन । सहारा एकेडेमी त्यो कन्सेप्टको लागि खुलेको पनि होइन ।’

वसन्त थकाली नेतृत्व हुँदा उपाध्यक्ष रहेका विक्रमको संयोजकत्वमा २०६० सालमा बि डिभिजन छनोटका लागि खेल्न काठमाडौं गएको थियो । सहारा छनोट भए पनि उत्पन्न विवाद र विज्ञको सुझावमा आफूरु पछि हटेको उनले स्मरण गरे ।

‘जसले पेटभरि खान पाइराखेको छैन, राति सुत्दा सिरक ओढ्न पाएको छैन । उसको आश्रयको लागि एकेडेमिक कन्टेप्टमा सहारा एकेडेमी खुलेको हो,’ उनले भने, ‘सहयोग त आउँथ्यो होला तर ९० प्रतिशतले अहिलेजस्तो सहयोग गर्थेनन् । त्यसकारण हामीहरु अहिलेको संरचना फेरबदल गर्न सक्दैनौं ।’

उनले दोबिल्लामा एकेडेमी खोल्दा निकै चुनौती भोग्नुपरेको पनि स्मरण गरे । सहारा युके, सहारा हङकङबाट ठूलो रकम रकम सहयोग भएको र यहाँ बसोबास गर्नेहरुले पनि गच्छेअनुसार सहयोग गर्दा अहिले सहारा एकेडेमीको संरचना निर्माण भएको बताए । एकेडेमीलाई दिगोरुपमा संचालन गर्न अक्षयकोषको अवधारणा अनुसार हाल साढे २ करोड रुपैयाँ जम्मा भएको, सूर्यबहादुर केसी परिवारले बर्सेनि १५ लाख सहयोग गर्ने भएपछि एकेडेमी चलाउन पहिलोजस्तो गाह्रो नभएको मात्र नेतृत्वले फुटबलमा राम्रो टिम बनाउन ख्याल गर्नुपर्ने उनको तर्क छ ।

सहारा एकेडेमीमा विपन्न तथा कठिन परिस्थितिका ३० जना बालक लिइने

चौरबाट जन्मिएको सहारा क्लबले फुटबल खेलाएर बचेको आम्दानी विपन्न तथा कठिन परिस्थितिका बालकको हितमा लगाउने उद्देश्यले एकेडेमी सुरुआत गरेको हो । पहिले पृथ्वीचोकस्थित क्लब भवनमै एकेडेमी संचालन भएकोमा २०६९ माघ २६ मा उद्घाटन भएको पोखरा–१७, दोबिल्लामा सुविधासम्पन्न भवनमा सरेको हो । साढे २ करोड लागतमा खुलेको एकेडेमीको फुटबल मैदानमा बालकहरु फुटबल प्रशिक्षण लिन्छन् । एकेडेमी उद्घाटनको ३ महिनामै तेस्रो व्याचको रुपमा २०७० वैशाखमा पहिलो चरणमा १३ जना बालक भर्ना भए । ३० जना राख्ने योजना रहेकोमा विभिन्न जिल्लाबाट कुल २८ जना भर्ना भए । आगामी जेठमा बाँकी १३ जना पास आउट भएर एकेडेमी छोड्दैछन् । त्यसकारण सहाराले नयाँ शैक्षिक सत्र सुरुआतसँगै चौंथो व्याचको लागि ३० जना भर्ना खुलाएको पत्रकार सम्मेलनमा जनायो । क्लब अध्यक्ष हरिराम गुरुङले एकेडेमीको अवधारणाअनुसार पास आउट प्रशिक्षार्थी विभिन्न क्षेत्रमा सवल र सक्षम भई जीवननिर्वाह गरिरहेका हुँदा आगामी शैक्षिक सत्रका लागि कठिन परिस्थिति तथा विपन्न वर्गका थप ३० बालक लिन लागेको बताए । एकेडेमीमा वार्षिक ३० लाखको हाराहारीमा खर्च हुने उनले बताए । यसको मूलस्रोत सूर्यबहादुर केसीको परिवारजन हो । केसी परिवारले बर्सेनि १५ लाख उपलब्ध गराउँछ ।

सहाराले ०५८ सालमा पहिलो ब्याचमा २० जना बालक लिएको थियो । २०६१ मा दोस्रो ब्याचमा २० जना बालकलाई आश्रय दिंदै फुटबल सिकायो ।

चर्चित पूर्व राष्ट्रिय फुटबल कप्तान अनिल गुरुङ सहाराको पहिलो ब्याचका उत्पादन हुन् । त्यस्तै नेपाल पुलिस क्लबमा अजीत भण्डारी, नेपाली सेनाका नवीन श्रेष्ठ, नेपालको ए डिभिजन सातदोबाटो क्लब अनुबन्धित सुशील लामा, मनाङमा अनिल पोमु लिम्बु अनुबन्धित भै फुटबल खेलकौशल पस्केका छन् । पूर्व राष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी बिल तामाङ, पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक थिए । हालका प्रशिक्षक प्रल्हाद हिराचन, विष्णु गुरुङ र फुटबल खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन हुन् ।

एकेडेमीको लागि बुवा वा आमा गुमाएको, बुवाआमा ‘क’ वा ‘ख’ वर्गको अपांगता भएको, बालक ९ वर्ष पूरा भई १० वर्ष ननाघेको, कक्षा ५ अध्ययनरत हुनुपर्ने प्रावधान छ । नजिकको नातेदार वा बालक आश्रित संघसंस्थाको आवेदन, स्थानीय तहको सिफारिस लगायत कागजातसहित चैत मसान्तभित्र आवेदन दिनुपर्ने महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width