कांग्रेस नेता पाण्डेले फेरि मागे मुख्यमन्त्री अधिकारीको राजीनामा

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७९
surendra pande

बागलुङ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अल्पमतमा पुगेका मुख्यमन्त्रीले राजीनामा दिनु उचित हुने दोहो¥याएका छन् । उनले सत्ता गठबन्धनको दलले समर्थन फिर्ता गरेपछि नयाँ बाटो खुलाउन राजीनामा नै उपयोगी हुने सुझाव दिए । यसअघि पोखरामा पत्रकार सम्मेलन नै गरेर उनले मार्गप्रशस्त गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालय भवन बिहीबार शिलान्यास गर्दै ‘वेटिङ चिफ मिनिस्टर’ पाण्डेले नैतिकता हुनेले २९ दिन कुरेर बस्न नहुने उल्लेख गरे । ‘अब विश्वास छैन भनेपछि तत्काल संसद् फेस गर्ने वा राजीनामा दिने हो,’ उनले भने, ‘२९ दिन कुरेर केही भइहाल्छ कि भनेर बस्दा महत्वपूर्ण काम रोकिन्छन् ।’ विश्वास गुमेको सरकारले दूरगामी निर्णय गर्न मिल्दैन । गण्डकी प्रदेशमा माओवादी केन्द्रले समर्थन चैत १० गते फिर्ता लिएपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् । रकमान्तर गरी नयाँ योजना थप्न र आगामी सरकारलाई भार थप्ने गरी बहुवर्षे योजनाको संख्या बढाउने ध्याउन्नमा अधिकारी सरकार अहिले व्यस्त छ । मुख्यमन्त्री अधिकारीले संविधानले व्यवस्था गरे अनुसार आफूले संसद फेस गर्ने, कसैले भनेकै आधारमा राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा बोल्दै नेता पाण्डेले पोखरामा छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । प्रदेश सरकारमा आफूले नेतृत्व गर्ने मौका पाए जनतालाई सरकार छ भन्ने अनुभूति दिने उनको दाबी थियो । कांग्रेसले अहिलेदेखि मिहिनेत गरेर आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पाण्डेले दाबी गरे । ‘अब गठबन्धन प्रथा अन्त्य हुनुपर्छ,’ उनले भने, ‘गठबन्धनले जनता र कार्यकर्तामा पनि अन्योल आएको छ, अब त्यस्तो हुन दिनु हुँदैन ।’ हरेक कांग्रेस कार्यकर्ताले शिर ठाडो बनाउने गरी काम गरेर देखाउने उनले प्रतिबद्धतासमेत जनाए ।

नेपाली कांग्रेस बागलुङले १ वर्ष अघिदेखि चलाएको अभियानमा जग्गा व्यवस्थापन गरेपछि भवन बनाउन लागेको हो । १० करोड लागत अनुमान गरिएको भवन लिफ्ट सहित ६ तले हुनेछ । भवनमा कांग्रेस र भ्रातृ संगठनका कार्यालय तथा सभाहलसमेत रहनेछन् । भवन २ वर्षभित्रै सक्ने गरी काम सुरु भएको पार्टी सभापति जीतबहादुर शेरचनले जानकारी दिए ।

स्थानीय कृष्णशंकर श्रेष्ठ, सहदेव राजभण्डारी, जयराम भारीलगायतका कार्यकर्ताले दिएको र थप किनेको ४ रोपनी जग्गामा भवन बन्न लागेको हो । बागलुङ नगरपालिका ३ को देउराली चोकमा बन्न लागेको भवनका लागि चन्दा अभियान थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width