एबिसीमा हेलिकोप्टर उडाउँदा पटके शुल्क

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७९
abc~prakash 2

पोखरा । अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडान नियन्त्रण बाहिर गएपछि पालिकाले कानुन बनाएर नै उडान खुला गर्ने भएको छ । यसअघि पालिकाले नै रेस्क्यु बाहेकका उडान भर्न नपाउने निर्णय गरेको थियो । तर रेस्क्युकै नाममा जथाभावी व्यवसायिक उडान भरेपछि पालिकाले नियमन गर्नुको सट्टा कानुन बनाएर खुला गरिदिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडान पर्यटन शुल्क कार्यविधि २०७९’ निर्माण गरेको हो । उक्त कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएपछि आधार शिविरमा हेलिकोप्टर उडाउन चाहने कम्पनीलाई सूचिकृत हुन पालिकाले सूचना निकालेको छ ।

‘उडान गर्न चाहने हेलिकोप्टर कम्पनीलाई आवश्यक कागजातसहित उडान सूचीकरणको लागि सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ । प्रवक्ता भरतमान गुरुङले घोषित रुपमा उडान बन्द भए पनि अघोषितरुपमा खुला उडान भइरहेकोले व्यवस्थित गर्न कार्यविधि बनाइएको बताए । ‘एकातिर घोषितरूपमा उडान बन्द गरेजस्तो तर रेस्क्युको नाममा पहुँचवालाहरुको सेटिङमा फेक रेस्क्यु उडान गरी अघोषितरूपमा खुला उडान हुँदै आइरहेको छ,’ उनले भने, ‘अबदेखि व्यवस्थित एवं पालिकाको दायराभित्र रहेर मात्र सीमित उडान हुनेछ ।’

हरेक दिन बढीमा १२ पटकमात्रै हेलिकोप्टर उडान भर्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ । उद्धारका लागि भने गाउँपालिकाका अध्यक्षको निर्णयबाट सोभन्दा बढी उडान भर्न पाउने उल्लेख छ ।

अन्नपूर्ण गाउँपालिकाले लिन्छ प्रतिउडान १० हजार

अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटकले एक्यापले तोकेको रुट परमिट अनिवार्य लिएको हुनुपर्ने छ । परमिट नलिएकालाई उडान गर्न नदिने गुरुङले बताए । उडान सूचीकरण गर्दा पर्यटन शुल्कवापत प्रतिउडान १० हजार लाग्ने छ । सूचीकरणबाट प्राप्त शुल्कको ३ प्रतिशत पर्यटन सूचना केन्द्र सञ्चालन कोषमा जम्मा गर्ने र आकस्मिक उद्धारका लागि हुने उडानमा शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ ।

यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र पर्छ । सोही क्षेत्रमा पालिकाले कर लिन अहिलेकै अवस्थामा सजिलो छैन । तर एक्याप नवीकरण समेत नभएको अवस्थामा पालिकाले आफ्नो क्षेत्रभित्र राजस्व संकलनको कानुन बनाउनु कानुनसम्मत नै भएको गुरुङ बताउँछन् । ‘एक्यापले आफ्नो नियम लागु गर्छ । एक्याप क्षेत्रभित्रको आम्दानी केन्द्रले टुंग्याओस् भन्ने थियो । त्यो कार्यान्वयन भएको छैन । एक्याप नवीकरण बाँकी छ,’ उनले भने, ‘संघ सरकारले विस्तारै काम गर्ला । आफ्नो अधिकारभित्रको कुरालाई कानुनबाट कार्यान्वयन गरौं भनेको हो ।’

एबिसीमा धेरै उडान भएर प्रदुषण बढेको गुनासो स्थानीयले निरन्तर गुनासो गरेपछि नियमनको प्रयास गरिएको उनले बताए । १० हजार प्रतिउडानको शुल्क पनि खासै महँगो नभएको उनको दाबी छ ।

‘हेलिकोप्टर उडानमा घुम्नेहरु क्षमता भएकैहरु हुन्छन् । १० हजार महँगो होइन,’ उनी भन्छन् । अहिले दैनिक कति उडान हुन्छ भन्ने कुनै रेकर्ड छैन । तर स्थानीयका अनुसार दिनमै २० उडानसम्म हुने गरेको छ । जनप्रतिनिधिको अघिल्लो कार्यकालमा एबिसीमा हेलिकोप्टर उडान प्रतिबन्ध लगाउने निर्णय थियो । पछि रेस्क्युलाई छोड्ने निर्णय भयो । अहिले बनेको कार्यविधिमा उडान व्यवस्थापन तथा सहजीकरणका लागि गाउँपालिका अध्यक्षको अध्यक्षतामा समितिको परिकल्पना गरिएको छ । सबै हेलिकोप्टर कम्पनीले मासिक आफ्नो उडान विवरण पालिकामा पठाउनुपर्ने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width