खर्कमा पर्यटक चहलपहल

धनबहादुर गुरुङ
चैत्र १४, २०७९
Khumai Korchon Story Photo

पोखरा । भैँसी र भेडा चर्ने खुमैडाँडाको खर्कमा पर्यटक चहलपहल देख्दा मिर्सा गाउँका सूर्यबहादुर गुरुङ निकै खुसी छन् । भैँसी र भेडामात्र देखिने खर्कमा अहिले जता हेरे पनि मान्छेहरु मात्र भेटिन्छन् ।

उहिले कहिलेकाँही सेता छाला भएका विदेशी पुग्ने गरेकोमा खासै पर्यटक चहलपहल नभएको उनी सम्झन्छन् । ‘पहिला त यो डाँडा पुरै भैसी र भेडा चर्ने खर्क हो,’ उनले भने, ‘घाचोक, मिर्सा, चौरातिरकाहरु असारदेखि साउनसम्म भैसी ल्याएर यतै गोठ बनाएर राख्थे ।’

उहिलेका भैँसी गोठ अहिले पर्यटकीय स्थलमा परिवर्तन भएको उनले बताए । माछापुच्छ्रे गाउँपालिका १ मा पर्ने खुमै डाँडामा पाहुनाको ताँती देख्दा निकै खुसीको अनुभूति भएको उनले सुनाए । ‘पहिला हामीले भैँसी र भेडा चराउँदै गर्दा अलि अलि विदेशी आएको देख्थ्यौं,’ उनले भने, ‘अहिले त विदेशीभन्दा नेपाली आउने गरेका छन् ।’

खुमैबाट माछापुच्छ्रे, अन्नपूर्ण, हिमचुली, मर्दी लगायतका हिमाल देख्न सकिन्छ । हिमाल नजिकै भएकाले पनि हिउँ पर्ने अनि गुराँस फुल्ने समयमा धेरै पर्यटक पुग्ने गरेको उनले सुनाए । छोटो दुरीको पदयात्रा भएकाले पनि पर्यटकहरु त्यहाँ आकर्षित भएको गुरुङले बताए ।

पछिल्लोे समय सामाजिक सञ्जालबाट भाइरल बनेको खुमैडाँडा पर्यटकको रोजाइमा परेको छ । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ । माछापुच्छ्रे १ का युवाको अगुवाइमा ग्रेट माछापुच्छ्रे ट्रेल (जिएमटी) समिति नाम दिएर पूर्वाधार बनाएपछि पर्यटक आकर्षित भएका हुन् । यसअघि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले माछापुच्छ्रे मोडल ट्रेक खुला गरेको थियो । पछि युवाले त्यो रुट ब्युँताउन जिएमटी समिति बनाएका हुन् ।

समुद्री सतहदेखि ३२४५ मिटर उचाइको खुमैडाँडालाई केन्द्र बनाएर सरीपाखा–खुमै–कोर्चां पदयात्रा तय गरिएको छ । यो पदयात्रा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) भित्र पर्छ । जिएमटी गठन गरेर पूर्वाधार बनाएपछि पर्यटकको लर्को लागेको खुमैका पर्यटन व्यवसायी सञ्जय थापाले बताए । ‘यो सिजनका लागि पर्यटक आउन थालेका छन’, उनले भने, ‘दसैं तिहारपछि अलि बढी पाहुना आउन थालेका हुन् । अहिले दैनिक १ सयभन्दा बढीको हाराहारीमा पर्यटक आउँछन् ।’

बुटवलकी निशा घिमिरे खुमैडाँडामा पुग्दा छुट्टै संसारमा पुगेको अनुभूती गर्दै थिइन् । उनी माछापुच्छ्रे १, सरिपाखादेखि झण्डै ७ घण्टा उकालो चढेर खुमैडाँडा पुगेकी हुन् । नाकै ठोकिने उकालो छिचालेर जब खुमै टेकिन्, उनको थकान कता पुग्यो पुग्यो पत्तै भएन । ‘बाटोको कुरै नगरौं एकदमै उकालो । बीचमा पानी पर्‍यो यात्रा झनै कठिन बनाइदियो,’ उनले भनिन्, ‘जेहोस् यहाँ आइसकेपछि एकदम रमाइलो भयो म कहाँ आइपुगे जस्तो फिल भयो ।’

माछापुच्छ्रे गाउँपालिकामा पर्ने खुमैडाँडामा आन्तरिक पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो

खुमै पुग्नेहरु त्यो दिन बास बसेर बिहानै ३६९० मिटरको उचाइमा रहेको कोर्चां पुग्छन् । खुमैभन्दा कोर्चां उचाईमा रहेकाले त्यहाँ हिउँ पर्छ । हिउँ खेल्न रहर गर्नेहरु त्यहाँ पुग्छन् । कोर्चां पुगेपछि माछापुच्छ्रे हिमाल झनै आकर्षक दृष्य देखिन्छ । तर, कोर्चांमा बासको व्यवस्था छैन । त्यहाँ जानका खुमैमा रात बस्नै पर्छ ।

कोर्चांमा पनि पर्यटक चहलपहल बढेको त्यहाँ चिया बेच्दै आएका हेमन्त गुरुङले सुनाए । ‘कोर्चां आउने जति सबै खुमैमा बस्छन् । खुमैबाट यहाँ आउन २ घण्टा हिंड्नुपर्छ । यहाँ एउटामात्रै क्याम्प छ,’ उनले भने, ‘पर्यटक बढ्न थालेपछि अब व्यवस्थित क्याम्पिङ बनाउँदै छौं । यो गाउँकै संयुक्त लगानी हो ।’ खुमै र कोर्चां पुग्ने पर्यटकको संख्या बढ्दा खुमैडाँडाका ३ होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । पर्यटक बढी हुँदा व्यवस्थापनमा समस्या भएको हाटल व्यवसायी सुरेश सुनामले बताए । त्यहाँको होटलको क्षमता १ सय १० जनाको हो तर अहिले बढी पाहुना खुमै पुग्दा डाइनिङ हलमा सुताउनु परेको सुनामले बताए ।

पर्यटक बढ्दा व्यवस्थापनमा समस्या भएकाले सुधार गर्नुपर्ने चितवनबाट खुमै पुगेकी पर्यटक रेश्मा पुर्जा पुनले सुझाव दिइन् । ‘यहाँको भ्यु त निकै राम्रो छ । यहाँको दृष्यले हामीलाई लोभ्यायो तर पाहुना धेरै हुँदा राम्ररी सुत्न पाइएन,’ उनले भनिन्, ‘भिरको उकालो बाटो त्यसैमाथि पानी पर्दा त साह्रो समस्या यहाँको बाटो त सुधार गर्नै पर्छ अनि होटलले पनि कति पाहुना कसरी राख्ने भन्ने बारेमा सोच्नैपर्छ ।’

खुमै लगायत त्यस क्षेत्रको पर्यटनको सम्भावना खोजी गर्दै पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउन माछापुच्छ्रे गाउँपालिकाको १६ औं कार्यपालिका बैठक शनिबार खुमैडाँडामा बसेको थियो । पछिल्लो समय खुमै जाने पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । ‘केही महिना यता खुमै डाँडामा पर्यटकको आगमन धेरै भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘पाहुना त आउनुभएको छ तर उहाँहरूका लागि के आवश्यक छ भनेर बुझ्न अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।’

बैठकले सरीपाखा–खुमै–कोर्चासम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा गरी व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको उनले बताए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्युनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए ।

उक्त पदमार्ग पोखराबाट बिहानै हिंडेमा २ दिनमै सकिन्छ । हेमजादेखि सरिपाखासम्म १३.३ किलोमिटर मोटर यात्रामा पुगिन्छ । त्यसपछि सरिपाखादेखि खुमैडाँडासम्म जंगलै जंगलको यात्रा गर्नुपर्छ ।

सरिपाखादेखि टुँबु डाँडा, हिलेखर्क, देउराली, गाईखर्क, चिचिम्ले हुँदै खुमैडाँडा पुग्न कम्तीमा ५ घण्टा लाग्छ । खुमैडाँडामा एक रातको बास, रातिको खाना, बिहानको खाजा खएको २ हजार रुपैयाँ लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width