तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
khude pokhari progrem photo

पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी ३ वर्षदेखि पस्र्याङ्मा आफ्नै घरमा सरेकी छन् ।

उनको घर नजिकै छ खुँडेपोखरी । त्यो पनि निकै जोखिमपूर्ण । कता कहिलेकाहीँ कुनै व्यक्ति वा आफैं पनि पोखरीमा परी दुर्घटना त हुने होइन भन्ने चिन्ताले सताइरहन्छ उनलाई । पोखरी खुला छ, केही ठाउँबाट ढल पनि आउँछ । स्थानीयले रातको समयमा वा छलेर पनि पोखरीमै फोहोरमैला फाल्ने गरेका छन् । यी विविध घटना देखेकी उनलाई केही दिन अघिसम्म पोखरी सुन्दर बन्ला भन्ने उनको मनमा पूर्ण विश्वास भने थिएन ।

तर पछिल्ला गतिविधिसँगै उनलाई पोखरीले मुहार फेर्ला भन्ने आश लाग्न थालेको छ । गत फागुन ९ गते ४ वर्षे सुहान क्षत्रीको पोखरीमा परी अकालमा मृत्यु भयो, त्यसपछि पोखरीको संरक्षणबारे नियमितजसो बहस चल्न थाल्यो । स्थानीयले वडा तथा पोखरा महानगरपालिकाको ध्यानाकर्षण पनि गराए । जसअनुसार वडाको पहलमा भेला बसी स्थानीय अञ्जु क्षत्रीको संयोजकत्वमा संरक्षण समिति गठन गरियो । वडाले १० लाख बजेट व्यवस्था पनि गर्‍यो । सन्तोषीलाई पनि सदस्यमा समेटियो र कार्य अगाडि बढाउन भनियो ।

समितिले नापी कार्यालय गई फिल्ड बुक उतारेर पोखरीको क्षेत्रफल करिब ११ रोपनी रहेको यकीन गर्‍यो । पहिलो चरणमा यही चैत ४ गते नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरपालिका, वडा कार्यालय, वातावरण संरक्षणका लागि महाअभियान कास्की, फेवा डुंगा व्यवसायीलगायत विभिन्न संघसंस्था एवं स्थानीयको सहभागितामा पोखरी सरसफाइ गरियो भने दोस्रो चरणको सरसफाइ शनिबारमात्रै भयो ।

आफैं सहभागी समितिले विभिन्न निकायको सहयोगमा पोखरी संरक्षणको काम अगाडि बढाएपछि भने सन्तोषीलाई अब पोखरीले मुहार फेर्छ भन्ने पूर्ण विश्वास पलाएको छ । जसअनुसार उनी शनिबार सबेरै उठेर सरसफाइमा सहभागी भइन् । त्यसपूर्व आफू आबद्ध पोखरेली दिदीबहिनी समूहका सदस्यलाई पनि आह्वान गरिन् र खुलेर पोखरी सरसफाइको कार्यमा दिदीबहिनीहरु जुटे ।

पोखरीलाई बाटिका पार्कका रुपमा विकास गर्ने योजना छ

सन्तोषीलाई जस्तै पर्वत घर भई हाल पस्र्याङ बस्दै आएकी सावित्री पौडेललाई पनि खुँडेपोेखरीबारे चिन्ता छ । उक्त चिन्तासँगै उनी पनि शनिबार सरसफाइमा भेटिइन् । अब भने पोखरी साँच्चिकै पोखरीकै रुपमा देख्न पाइन्छ कि जस्तो लाग्दै छ । त्यसका लागि स्थानीयवासी तथा वडा सरकारको संकल्प आवश्यक पर्ने सावित्रीको ठहर छ ।

सन्तोषी र सावित्रीले जस्तै आम पस्र्याङवासीले पनि खुँडेपोखरी संरक्षण भएको हेर्न चाहेका छन् । चाँडोभन्दा चाँडो पोखरी चिटिक्क बनाइ पोखराको केन्द्रभाग नजिकैको महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने उनीहरुको माग छ ।

उक्त माग पूरा हुने संरक्षण समितिकी संयोजक अञ्जु क्षत्रीको भनाइ छ । उनले भनिन्, ‘महिलाले नेतृत्व गरेकी छु; त्यसमा हालसम्म सबैको पूरापुर सहयोग मिलिरहेको छ । दीर्घकालीन रुपमा पोखरीलाई बाटिका पार्कका रुपमा विकास गर्ने योजना पनि छ, सर्वप्रथम अब पोखरीको डिपिआर तयार गर्नुछ, त्यसपछि जग्गाको सीमांकन तथा तारबार गर्ने, त्यसपछि सिसी क्यामेरा तथा सेन्सर लाइट जडानलगायत कार्यहरु पनि गरिनेछन् ।’ क्यामेरा राखेसँगै फोहोरमैला फाल्ने समस्याको अन्त्य हुने क्षत्रीको विश्वास छ ।

पोखरीको संरक्षणबारे शुक्रबारमात्रै मुख्यमन्त्री खगराज अधिकारीलगायत कृषि मन्त्रालयको पनि ध्यानाकर्षण गराएको र त्यहाँबाट पनि केही न केही बजेट व्यवस्था हुने उनको विश्वास छ ।

पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले लामो समयसम्म बेवास्ता गरिएको खुँडेपोखरीलाई आफ्नो कार्यकालमा पर्यटकीय स्थलमा रुपमा विकास गर्ने बताउँछन् । यहाँ मानवीय क्षतिसमेत हुँदै आएको छ, तारबार गरेपछि त्यो रोकिन्छ भन्ने विश्वास छ । यसअघि कहिल्यै पनि नगरिएको पोखरी सरसफाइको कार्य आफ्नो कार्यकालमा थालिएको उनले बताए ।

अध्यक्ष बरालले पोखरी किनारमा बत्तीको व्यवस्था गर्न लागिएको उल्लेख गर्दै पोखरीलाई पर्यटकीयस्थल बनाउन आम पस्र्याङवासीले साथ दिनुपर्ने पनि औंल्याए । उनले फोहोर गर्ने नभई फोहोर गर्नेलाई दण्डित गर्न स्थानीयले भूमिका खेल्नुपर्ने पनि जनाए ।

यसअघि उक्त पोखरीको संरक्षणबारे विभिन्न सञ्चार माध्ययममा समाचार प्रकाशन, प्रसारण हुन थालेसँगै पोखरा महानगरपालिकाले सो पोखरी संरक्षणमा चासो देखाएको हो । जसअन्तर्गत विभिन्न संघसंस्थाको सहयोगमा शनिबार दोस्रो चरणको सरसफाइ गरी पोखरीमा रहेको जलकुम्भीलगायत फोहोर सामग्री हटाइएको हो ।

करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरी यसअघि संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो । पोखरीको रेखदेखमा कुनै पनि निकायको ध्यान पुग्न नसकेका कारण दिनप्रतिदिन पोखरी प्रदूषित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • वातावरण दिवसमा पोखरा १२ मा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । वातावरण दिवस अवसरमा पोखरा वडा कार्यालय १२ र युएनडिपीद्वारा संयुक्त कार्यक्रम गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र…
  • पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । विश्व वातावरण दिवस अवसरमा पोखरा बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भएको छ । विद्यालय…
  • तामाङ मातृभाषा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    हेमजा । गण्डकी प्रज्ञा प्रतिष्ठान आयोजना तथा कोकोम्हेन्दो साहित्य समाजको व्यवस्थापनमा पोखरामा तामाङ मातृभाषा प्रशिक्षण भएको छ । सो अवसरमा…
  • अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    हेमजा  । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेपाली सेनाद्वारा सम्मानित भएका छन् । उनलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरी सम्मान…
  • नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखरा इन्जिनियरिङ कलेजको आर्किटेक्चर तेस्रो वर्षका विद्यार्थी भारत प्रस्थान गरेका छन् । नेसनल एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर…

hero news full width

trending post

ट्रेन्डिङ्ग