फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
Firke

पोखरा । फेवाताल किनारको सिमसार क्षेत्र पुरेर घडेरी बनाउन अहिले दिनहुँजसो डोजर चलेका छन् । फिर्के खोलाका किनारमा मापदण्ड मिचेर संरचना बनाउने काम रोकिएकै छैन । ३ तहका सरकार एकले अर्काको मुख ताकेर बसेका छन् । काम रोक्नतिर ध्यान पुग्न सकेको छैन । नागरिक समाज कास्कीले यसबारेमा पटकपटक सरकारी निकायमा जानकारी समेत गराइसकेको छ ।

धेरै पटक ध्यानाकर्षण गराउँदा र अख्तियारमा उजुरी दिँदा समेत फिर्के खोला दोहन र अतिक्रमण नरोकिएको भन्दै नागरिक समाजका प्रतिनिधिले पोखराका मेयरसँग भेटेको छ ।

समाजका प्रवुद्ध वर्ग र विद्यालय समेतले फिर्के खोला मिचेको भन्दै त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले माग गरेका छन् । त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारवाही नभएसम्म आफ्नो अभियान नरोकिने भन्दै केही सञ्चारकर्मीका साथ पौडेल आइतबार पोखरा महानगर प्रमुख धनराज आचार्यको कार्यकक्षमा पुगेका थिए ।

फिर्के खोला पुर्ने, अतिक्रमण गर्ने काम भएको र आफूखुसी पर्खाल लगाएर कतिपय ठाउँमा खोला साँघुरो पारी पुल हालिएको भन्दै उनले यस्तो कार्य तत्काल रोकिनुपर्ने माग राखे । २०३२ सालको नापी र नक्सा अनुसार फिर्केको सिमांकन हुनुपर्ने भन्दै उनले आवश्यक छानबिन गरी दोषी व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने बताए । फेवा तालको वरपर समेत सिमसार पुर्ने काम भएको भन्दै उनले यस्तो कार्य रोक्न महानगर सक्रिय हुनुपर्ने बताए । फेवा ताल रामसार क्षेत्रमा समेत सूचीकृत रहेको स्मरण गराउँदै पौडेलले व्यक्तिगत नै भए पनि सिमसार क्षेत्र पुर्ने र त्यहाँ संरचना बनाउने कार्य अवैध भएको बताए ।

महानगर प्रमुख आचार्यले गलत भएको ठाउँमा महानगरले कारवाही अगाडि बढाउने र खोला तथा ताल अतिक्रमण कार्यमा संलग्न हुनेहरुको उपकरण जफत समेत गरिएको बताए । फेवा तालको माथिल्लो भागमा त निकै माथिसम्म कुनै संरचना बनाउन नपाइने उनले स्मरण गराए । फिर्के, सेती, बुलौंदी लगायतको मापदण्ड महानगरले तोक्ने तयारी अगाडि बढाएको जानकारी दिंदै उनले यसअघि व्यापक छलफल हुन जरुरी भएको भनाई राखे । फिर्केको राइट अफ वे क्लियर गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि उनले दिए ।

यसका अतिरिक्त पोखरा महानगरपालिका र एसियाली विकास बैंक (एडिबी) बीच दिगो पर्यटन विकासका लागि हालै सम्झौता भएका विभिन्न १५ परियोजना मध्ये फिर्के खोला करिडोर डेभलमेन्ट प्रोजेक्ट पनि रहेको उनले स्मरण गराए । पोखराको पर्यटन विकासलाई दिगो बनाउने दीर्घकालीन योजनाअनुसार ३ वर्ष भित्र परियोजना कार्यान्वयनका लागि एडिबीले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने छ । परियोजना कार्यान्वयनले पोखराको पर्यटनमा नयाँ आयाम थपिने विश्वास महानगरप्रमुख आचार्यको छ । त्यसपछि फिर्केमा बाह्रै महिना पानी बग्ने बनाउने, विद्युतीकरण गर्ने, फुटट्रेल र साइकल लेन बनाउने योजना रहेको छ ।

फिर्के र फेवाको सिमसार क्षेत्रमा दिनहुँजसो दोहन भए पनि रोक्न कसैले चासो दिएका छैनन्

केही महिना अघि वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी समेत दिएको थियो । यस विषयमा जिल्ला प्रशासशन कार्यालय कास्कीको पनि ध्यानाकर्षण गराइएको थियो । त्यसअघि पोखरा ५ को कार्यालयमा ज्ञापनपत्र समेत नागरिक समाजका तर्फबाट बुझाइएको थियो ।

फिर्के खोलाको मापदण्ड रेखांकन गर्न २०७४ सालको अन्त्यतिर पोखरा महानगरपालिकाले विज्ञ टोली बनाएको थियो । फिर्के खोलाको मापदण्ड १० मिटर कायम गरिएको भए पनि ५ मिटर भित्रका संरचनालाई रेजा लगाएर छाडिएको भन्दै उतिबेलै गुनासो आएको थियो ।

२०७२ सालको महाभुकम्प पछि खोलाको मापदण्ड १० मिटर हुनुपर्ने व्यवस्था सरकारले पनि गर्यो । सरकारले ल्याएको बस्ती विकास निर्देशिकामा यस्तो कुरा उल्लेख छ । त्यसअघि २०६० सालमा भने फिर्केको मापदण्ड खोलाको जग्गा छाडेर ६ मिटर कायम गरिएको थियो । पछिल्लो प्राविधिक नापजाँचका अनुसार फिर्के खोला वरपर १ सय ९२ घरटहरा मापदण्ड भित्र पर्छन् । विद्यालयको संख्या मात्र तीन रहेको छ भने सरकारी कार्यालय, मठमन्दिर र सामाजिक संघसंस्थाले समेत फिर्के मिचेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटस्थित अँधेरीकुनाबाट सुरु भई फिर्के खोला फेवा तालमा पुगेर अन्त्य हुन्छ । ८ किलोमिटर हाराहारी लम्बाइको यो खोला पस्र्याङ, सिद्धार्थ चोक, मालेपाटन, मासबार हुँदै तालसम्म पुग्छ । फिर्केले महानगरका १८, २, ४, ५, ६, ७ र ८ नम्बर वडालाई छोएको छ । खोला ५ देखि १५ मिटर चौडाइको छ । सुन्दर सम्भावना बोकेको फिर्केलाई प्रदूषणले भने नराम्रो गरी गाँजेको छ । ढलदेखि शौचालय सम्म खोलामा मिसाइएको छ । प्लास्टिकजन्य फोहोर पनि खोलासँगै बग्छन् । नागरिक समाजको अगुवाइमा केही वर्षअघि फिर्के बुलौंदी वृहत सफाइ अभियान सञ्चालन गरिएको थियो ।

यसैबीच फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका वाइयुके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका जेसिबी र ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । फेवातालको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा जेसिबी र २ वटा ट्रिपर नगर प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरको निर्देशन अटेर गरेपछि नियन्त्रणमा लिइएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । महानगरले यसअघि पनि फेवातालमा पुर्न निस्किएका डोजरलाई समात्दै जरिवाना तिराउँदै छाड्ने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width