पोखरा । कुनै पनि राजनीतिक दलको एकल बहुमत नभएका कारण गण्डकी प्रदेशमा ३ राजनीतिक पार्टीको समर्थनबाट एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । दोस्रो दल एमालेको २२, तेस्रो दल माओवादीको ८ र चौंथो दल राप्रपाको २ सिटको समर्थनमा नयाँ सरकार बनेको हो । अहिले राजनीतिक समीकरण फेरिएको छ । २७ सिट जितेर प्रतिपक्षमा रहेको कांग्रेस पुनः सत्तामा फर्किने लगभग पक्का छ । राजनीतिक समीकरण फेरिएपछि गण्डकीमा माओवादीले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ । दलका नेता हरिबहादुर चुमान अब माओवादीले मुख्यमन्त्री पाउने बताउँछन् ।
‘एमालेलाई दुई पटक र कांग्रेसलाई एक पटक हामीले सरकारको नेतृत्वमा पुर्याएका छौं । अब सरकारको नेतृत्व गर्ने पालो माओवादीको हो,’ उनले भने, ‘हामीले अध्यक्षज्यूलाई सोहीअनुसार ब्रिफिङ गरेर फर्किएका छौं । गण्डकीमा माओवादीकै नेतृत्व हुन्छ ।’ चुमानले दाबी गरेझैं गण्डकीमा अब बन्ने मुख्यमन्त्री माओवादीबाट हुने सम्भावनाबारे छलफल सतहमा आएको छ । अहिलेको सरकार संविधानको धारा १६८ उपधारा (२) अनुसार बनेको हो । यदि यो सरकारले विश्वास गुमाए नयाँ सरकार उपधारा (३) अनुसार बन्छ ।
धारा १६८ (१) अनुसार बहुमत प्राप्त राजनीतिक दलले सरकारको नेतृत्व गर्छ । यदि बहुमत कसैको नआए उपधारा (२) अनुसार २ वा सोभन्दा बढी दलहरु मिलेर सरकार निर्माण हुन्छ । उपधारा (३) ले अघिल्लो सरकारले विश्वासको मत नपाए संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो राजनीतिक दलको संसदीय दलका नेता मुख्यमन्त्री बन्ने व्यवस्था गरेको छ । त्यसैले उपधारा (२) बमोजिमको सरकार ढल्नेबित्तिकै उपधारा (३) बमोजिम सरकार बन्छ । त्यो भनेको नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सोझै मुख्यमन्त्रीमा नियुक्त हुन्छन् ।
‘(२) अनुसार बनेको सरकार विघटन भएको अवस्थामा (३) मा नगई (२) अनुसार नै पुनः सरकार बन्दैन । (३) को सरकारले विश्वासको मत नपाएमात्रै (२) मा फर्कन सक्ने अवस्था हुन्छ,’ संविधानका जानकार अघिवक्ता कपिलमणि दाहाल भन्छन्, ‘संविधान पछि फर्किँदैन । अघि बढ्छ ।’ माओवादी दलका नेता चुमानले सम्भावना हुँदाहुँदै नयाँ बाटो खोजी नहुने बताउँछन् । ‘सम्भावना नभएको अवस्थामा मात्रै (३) मा जाने हो । सम्भावना हुँदाहुँदै अर्को उपधारा किन चाहियो ?,’ उनले भने, ‘यही उपधाराअनुसार नयाँ सरकार बन्न सक्छ । त्यसैले अब सरकारको नेतृत्व माओवादीले दाबी गरेको हो ।’
केन्द्रमा कांग्रेससहित ११ दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा पुनः विश्वासको मत पाएका छन् । यसअघिको सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिएको छ । सोही समीकरण प्रदेशमा पनि आउने र नयाँ सरकार बन्ने प्रचण्डले घोषणा गरिसकेका छन् । गोरखामा सडक शिलान्यास कार्यक्रममा मंगलबार प्रचण्डले भने, ‘प्रदेशमा पनि नयाँ गठबन्धनअनुसार सरकार बन्छ । सरकारको नेतृत्वमा आलोपालो हुन्छ ।’
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिन विलम्ब गर्न नहुने बताए । ‘समीकरण फेरिएपछि माओवादीले समर्थन फिर्ता लिनुपर्छ । जति छिटो फिर्ता लियो उत्ति छिटो नयाँ प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘गण्डकीमा सरकारको नेतृत्व कसले गर्ने भन्ने प्रश्न नै छैन । त्यो कांग्रेसले गर्छ ।’ प्रचण्ड र पाण्डे गोरखाको एउटै निर्वाचन क्षेत्रबाट चुनावी सहकर्मी हुन् । गोरखा २ बाट प्रतिनिधि सभामा प्रचण्डले चुनाव जिते भने सोही गठबन्धनबाट पाण्डेले गोरखा २ (ख) बाट चुनाव जितेका हुन् । चुनावमा मत माग्ने क्रममा प्रचण्डले नै पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।
वागमतीमा मुख्यमन्त्री शालिकराम जमकट्टेललाई कांग्रेसले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । राप्रपाले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्ने भएको हो । एमालेले भने मत दिने वा नदिने धारणा सार्वजनिक गरेको छैन । संसद बैठकमा नै आफ्नो धारणा राख्ने र निर्णय सुनाउने संसदीय दलको बैठकले निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
वातावरण दिवसमा पोखरा १२ मा विविध कार्यक्रम
पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०