पोवि अस्पतालमा आकस्मिक सेवा

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७९
pu teaching hospital

पोखरा । पोखरा विश्वविद्यालयले शिक्षण अस्पतालमा आगामी वैशाखदेखि आकस्मिक सेवा संचालन गर्ने भएको । गत २२ भदौदेखि ओपिडी सेवा संचालन हुँदै आएकोमा पूर्णरूपमा सञ्चालन गर्ने उद्देश्यले आकस्मिक सेवा दिन लागेको हो ।

विश्वविद्यालयका स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको बताए । उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुंगो लगाउने बताए । ‘मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ तर सञ्चालन अनुमतिपत्र पाएपछि १ सय शैयाको अस्पतालको रूपमा हामी पूर्ण रूपमा सेवा दिन्छौं,’ डिन नागिलाले भने ।

अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको बताए । विश्वविद्यालयका इ.सुदीप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण भइसकेकोले रंगरोगनको अन्तिम कार्य हुँदै गरेको बताए ।

पोखरा–३०, ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि करिब ११ रोपनी जग्गामा अस्पताल निर्माण भएको हो । अस्पतालमा प्याथोलोजी ल्याब, रेडियोलोजी ल्याब, ओपिडी, आकस्मिक, जनरल बार्ड, माइनर ओटी, फार्मेसी लगायत रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जनाए ।

अस्पताल परिसरमा सडकबत्ती, खुला स्थान र पर्याप्त पाकिङ व्यवस्था लगायत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width