लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
gcc basu

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राजनीतिक स्थिरता भएमात्र उद्योग व्यवसाय फस्टाउन सक्ने बताएका छन् । मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहे पनि राज्यले उचित नीति बनाउन नसक्नु दुखदायी भएको उनको धारणा छ ।

नेपाल उद्योग वाणिज्य संघको गण्डकी प्रदेशको सोमबार छैटौं प्रदेशसभा उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले देशमा स्थायित्व हुने गरी सरकार बनेमा लगानीकर्ताले समेत ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने बताए । उनले राजनीतिक अस्थिरताका कारण कुनै पनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको पनि बताए ।

‘राजनीतिक स्थिरता भयो भने स्वदेशीसँगै विदेशी पुँजीकर्ता समेत लगानी गर्न डराउँदैनन् । तपाईँहरु (उद्योगी व्यवसायी) कै कारण लाखौंले नेपालमा रोजगार पाइरहेका छन्,’ उनले भने, ‘विश्वका विकसित राष्ट्रहरुलाई हेर्ने हो भने राज्य संचालन गर्ने नेताको सिर्जनशील कार्यले उद्योग व्यवसाय फस्टाएका छन् र देशको अर्थतन्त्र उकासिएको छ तर हाम्रो जस्तो मुलुकमा अस्थिरताका कारण केही पनि हुन सकेको छैन ।’

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अग्रिम स्थानमा रहे पनि उद्योग व्यवसायको क्षेत्रमा भने निकै पछि रहेको बताए । उनले अब गण्डकी सरकार उत्पादनसँग जोडिनुपर्ने सुझाव दिए । अब गण्डकी प्रदेशमै आयातित सामानलाई प्रतिस्थापन गर्ने गरी स्थानीयस्तरमै उत्पादन गरी बजारमा ल्याउन उद्योग तथा व्यवसायीलाई उनले आग्रह गरे ।

उनले गण्डकीमा सडक पूर्वाधारसँग अब उद्योग पूर्वाधारलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए । उनले गण्डकीमा सुरक्षित औद्योगिकीकरण सुरु भएकाले लगानीकर्ता तथा उद्योगपतिलाई गण्डकीमै ठूला उद्योग खोल्न आग्रह गरे । साथै अहिले बैंकहरुले लिएको चर्को ब्याजदरको विषयमा आफैँ बसेर छलफल गरी समस्याको समाधान निकाल्न समेत सुझाव दिए ।

गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अग्रिम स्थानमा रहे पनि उद्योग व्यवसायमा निकै पछि

गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले उद्योग व्यवसायी र राज्य एकअर्कासँग जोडिएको क्षेत्र रहेको बताए । उनले अहिलेको स्थितिमा एकअर्कोलाई समस्या सुनाउने स्थिति बाहेक अन्य विकल्प नबनेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राज्य आर्थिक धरातलमा दिनप्रतिदिन फस्दै गए पनि यसलाई रोक्न राज्य निरिह बनेको टिप्पणी गरे । राज्यले राजस्व चुहावट र करछलीका कारण आन्तरिक ऋण लिन बाध्य भएको मुल्मीको बताए । राज्यले उचित नीतिको व्यवस्था नगर्दा उद्योग व्यवसायीको मात्र नभई समग्र राज्यकै अर्थतन्त्र धरासायी बनेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बैंक तथा वित्तीय संस्थाले कर्जामा गरेको ब्याज वृद्धि तथा अव्यावहारिक चालु पुँजी कर्जा निर्देशिका कारण यो वर्ष सिंगो निजी क्षेत्र प्रताडित बनेको गुनासो गरे । यसबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएको बताए । उनले महासंगको मुख्य चासो उद्योग व्यवसायीमैत्री वातावरण रहेको सुनाए । राज्यलाई कर तिरेर समेत आफूहरुले सहज रुपमा सामग्री बिक्री गर्न नपाएको कोइरालाको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाइ, पूर्व अध्यक्ष चण्डीराज ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले उद्योगी व्यवसायीको हितमा बोलेका थिए ।

पत्रकार मिश्र सम्मानित

पत्रकारिता माध्यमबाट व्यवसायीको हकहितको पक्षमा कलम चलाएकोमा संघले पत्रकार वासुदेव मिश्रलाई सम्मान गरेको छ । संस्थाका सचिवालय कर्मचारी समेत रहेका मिश्रलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला ओढाइ नगदसहित सम्मान गरेका हुन् ।

सो अवसरमा मिश्रसँगै कर्मचारी निशान खनाल, कोषाध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र मोतिप्रसाद पौडेल पनि नगदसहित सम्मानित भए । गैंडाकोट उद्योग वाणिज्य संघलाई उत्कृष्ट शाखा घोषणासहित सम्मान गरियो ।

Related News

सम्बन्धित समाचार

hero news full width