चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
Anjan Shrestha

पोखरा । नेपाल उद्योग वणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको लागि गत साता उम्मेदवारी घोषणा गरेका अञ्जन श्रेष्ठले सोमबार गृहनगर पोखरामा उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

पत्रकारसँग कुराकानी गर्दै उनले महासंघमा आफू २० वर्षदेखि जोडिएर काम गर्दै आएको र उद्योगी व्ययवसायीले भोगिरहेका विद्यमान चुनौतीलाई चिरेर अगाडि बढ्न सक्ने बताए । आफूसँग युवाको समूह रहेको बताउँदै उनले प्यानलका जिल्लागत उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीलाई पनि राखेर विचार व्यक्त गरे ।

लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठ अहिले महासंघमा वस्तुगत उपाध्यक्ष छन् । उनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष पनि हुन् ।

आगामी चैत २८ र २९ मा हुने महासंघको साधारणसभा तथा महाधिवेशनमा उनले वरिष्ठ उपाध्यक्ष पदका लागि गत मंगलबार उम्मेदवारी घोषणा गरेका थिए । तीनवर्षे कार्यकाल हुने महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था छ ।

कार्यक्रममा श्रेष्ठले तरलता अभावसँगै बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी कठिन अवस्थाबाट गुज्रनुपरेको स्मरण गराए । ‘राज्य गम्भीर र जिम्मेवार नबन्दा यो अवस्था आएको हो,’ उनले भने, ‘सरकारको राजस्व गुमेको मात्र नभई उत्पादनमा कमी आएको र रोजगारी गुमेको अवस्था समेत सिर्जना भएको छ ।’

अहिले व्यवसायी बैंकको साँवा र व्याज तिर्न सक्ने अवस्थामा नभएको बताउँदै उनले दायित्वलाई पुनर्तालिकीकरण र पुनर्संरचना गरेर अगाडि बढ्ने वातावरण सरकारले तयार गर्नुपर्ने माग राखे । आफूहरुले बैंकको कर्जा र ब्याज तिर्दैनौं नभनेको तर अहिले क्षमता भएन मात्र भनेको उनले बताए । प्रधानमन्त्रीसँग उद्योगी व्यवसायीको हालैको भेटसँगै व्यवसायीको आन्दोलन स्थगित भएको स्मरण गराउँदै उनले ब्याजदर घटाउने आश्वासन प्रधानमन्त्रीबाट पाएको र सो विषय शीघ्र कार्यान्वयन हुनुपर्ने माग पनि राखे ।

लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठले महासंघमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्

‘मार्केट फोर्स’ ले नभई बैंकहरुले मनोमानी ढंगले ब्याजदर बढाएको बताउँदै उनले बढाउँदा एक्कासि बढाए पनि अहिले घटाउने कुराका लागि प्रक्रिया पूरा गर्न लामो समय लगाइएको पनि आरोप लगाए । बैंकहरुले आफ्नो आधारदरमा नै आफ्नो सम्पूर्ण खर्च उठाइसक्ने बताउँदै श्रेष्ठले त्यसपछि लिने प्रिमियम किन धेरै लिनुपर्‍यो भनी प्रश्न गरे । बैंकले प्रिमियम घटाएर ब्याजदर पनि घटाउनुपर्ने माग उनले राखे ।

नियामकले सिसिडीबाट सिडी रेसियो कायम गर्नु, कर्जासम्बन्धी ४ करोड र १२ करोडको नीतिका कारणले तरलता अभाव भएको बुझाइ उनको छ । पुँजीको क्षयीकरण, संकुचन र सम्भवत पलायनका कारण पनि तरलता अभाव उत्पन्न भएको उनले बताए । अमेरिकामा कोभिडको बेला सरकारले नागरिकको खातामा पैसा नै राखिदिएको स्मरण गराउँदै श्रेष्ठले यसअघि नेपाल श्रीलंका हुन्छ भनेर तर्साइएको र अहिले अमेरिकामा केही बैंक डुबेको विषय देखाएर आतंकित पार्ने काम भएको बताए ।

नेपाली अर्थतन्त्रमा उद्योग व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले निजी क्षेत्रको सम्मान र मर्यादाका लागि पनि सरकार गम्भीर बन्नुपर्ने सुझाव राखे । आफू निर्वाचित भए यसका लागि समेत आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

लुकेको र स्रोत नखुलेको सम्पत्तिका विषयमा बोल्दै उनले एक पटकलाई त्यस्तो सम्पत्ति घोषणा गर्ने अवसर सरकारले दिनुपर्ने व्यवसायीको माग रहेको बताए । यस्तो घोषणा उद्योगी व्यवसायीले मात्र नभई सबै नेपालीले गर्न पाउने व्यवस्था गरे अर्थनन्त्रमा थप ऊर्जा प्राप्त हुने विचार उनको थियो । अर्थतन्त्रलाई बढावा दिनु सट्टा संकुचनमा राख्ने काम भएको बताउँदै श्रेष्ठले विभिन्न वस्तुको आयातमा सरकारले लगाएको रोक पनि क्रमश खोल्दै जानुपर्ने सुझाव राखे ।

जिल्लागत उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुमार्गीले नेपालको न्युन आन्तरिक उत्पादन, रसिया युक्रेन युद्ध लगायतका कारण नेपाली अर्थतन्त्र समेत प्रभावित भएको बताए । नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष र नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाको बचत रकमबाट सरकारले उद्योगी व्यवसायीलाई सहुलियत दरमा ऋण दिनुपर्ने माग राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width