पोखरा । सात वर्षअघि स्थानीयले तालगाउँस्थित मस्र्याङ्दी नदीमा माछा देखे । त्यसअघि मनाङका खोलामा माछा भेटिएको रेकर्ड थिएन । त्यसअघि नै तालमाथिको गाउँ खोत्रोमा ट्राउट माछाको व्यावसायिक पालन सुरु भएको थियो । तर सफल भएन । धेरैले सोही ट्राउट फार्मका माछा नै मस्र्याङ्दीमा भेटिएको बताएका छन् । त्यसयता तालगाउँमा ट्राउट माछा मासिएको छैन । त्यसबाहेक जेठताका चेप्टे (स्थानीय नाम) माछा पनि देखिन्छन् । तर निकै सानामात्रै । असार लागेपछि फेरि हराउँछन् ।
‘जेठमा देख्छौं । त्यसपछि वर्षैभरि हराउँछन्,’ स्थानीय मीनराशि गुरुङले भने, ‘ट्राउट त अहिले पनि प्रशस्तै छ । स्थानीयले मारेर खान्छन् ।’ साविकको कृषि विकास कार्यालयले अनुसन्धानका लागि खोत्रोमा पालेको माछा नै टंकीबाट पानी बग्दा खोलामा परेको उनले सुनाए ।
माछा प्राविधिकका अनुसार ट्राउट माछा शून्यदेखि २५ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ तर यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त हुन्छ । मनाङमा भने पानी सिजन अनुसार फरक पर्छ ।
‘कहिलेकाहीँ पानी जम्छ । माइनस डिग्रीमा पुग्छ । नभए पनि बाह्रैमहिना अत्यधिक चिसो भइरहन्छ,’ उनले भने, ‘तर माछा मासिएको छैन । केहीले ट्राउटको व्यावसायिक पालन गर्न थालेका छन् । सफल पनि भएको छ ।’ नासों ८, ताचैमा वडाध्यक्ष याद घलेले व्यावसायिक माछापालन थालेका छन् । बढी चिसो भएका कारण छिटो वृद्धि नभए पनि माछापालन भने सफल भएको उनी बताउँछन् ।
१ वर्षअघि उनले ४७ लाख लागतबाट माछापालन योजना बनाए । ४७ लाख लागतमा व्यवस्थित र आधुनिक केज निर्माण गरेका छन् । त्यसमा ५० प्रतिशत सरकारले अनुदान सहयोग गरेको छ भने बाँकी रकम आफैँले लगानी गरेका हुन् । अहिले घलेको माछाफार्ममा १ करोडभन्दा बढी लगानी पुगिसकेको छ । ‘नजिकै तातोपानीको मुहान छ । त्यहाँबाट तातोपानी ल्याएर चिसोपानीसँग मिसाएपछि केजमा पठाएको छु,’ उनले भने, ‘अहिलेसम्म ठिकै उत्पादन भइरहेको छ । सोचेजस्तो चाहिँ भएको छैन ।’ घलेले सुरुमा १५ हजार भुरा छोडेका थिए । मौसम प्रतिकूलताले सबै हुर्किन नसकेको उनले बताए । ‘कहिले पानी बन्द भएर मर्छ । कहिले रोग पनि लाग्दो रहेछ,’ उनी भन्छन्, ‘अहिले ८ हजार जति छ ।’
उनले ४७ लाख लागतमा व्यवस्थित र आधुनिक केज निर्माण गरेका छन्
१ सय किलो जति उत्पादन गरेर पनि बेचिसकेका छन् । प्रतिकिलो १ हजार ५ सय लिन्छन् । ‘घरघरै डेलिभरी पनि गरिदिन्छु । मनाङ धेरै समय माइनस डिग्रीमा हुन्छ । यहाँ झन् माछाको बजार राम्रो हुँदो रहेछ,’ घलेले थपे, ‘उत्पादन गर्न सके बजारको समस्या छैन । विस्तारै फोनबाटै अर्डर गर्नेहरु पनि बढेका छन् । अब पर्यटकीय सिजन सुरु भएको छ, बजार बढ्छ होला ।’ १८ वर्ष जति शिक्षक भएर काम गरेपछि उनी राजनीतितिर ढल्किए । गाउँमा राजनीति मात्रै गरेर दैनिकी चलेन । घले विस्तारै कृषि कर्मतिर लागे । तर मनाङ धेरै विकट भएकोले उत्पादन खर्च पनि अत्यधिक बढी हुने उनको अनुभव छ ।
‘सानो समस्या परे पनि जिल्लामा प्राविधिक छैनन्, सोधेर ओैषधी चलाउनुपर्छ । आफ्नै खर्चमा उनीहरुलाई पोखरा र काठमाडौंबाट ल्याउनुपर्छ,’ भन्छन्, ‘दाना महँगो छ । अझै महँगो त ढुवानी पर्छ ।’
मनाङको पानी बढी चिसो भएकोले भुरा उत्पादन राम्रो हुने भएकोले त्यसतर्फ आकर्षित भएको घले सुनाउँछन् । ‘साथीहरुले भुरा उत्पादन गर्नुस् लिन आउँछौं भन्नुभएको छ । अब तालिम लिएर भुरा उत्पादन गर्ने योजना छ,’ उनले भने । सुरुमा उनले नुवाकोटबाट भुरा हालेका हुन् । माछा उत्पादन नहुने भएपछि मनाङलाई माछाको खासै कार्यक्रम पनि परेको छैन । ‘मनाङमा माछा हुँदैन भन्ने सरकारी मानसिकता छ । माछापोखरीमा पनि विशेषज्ञ टोली ल्याएर जाँचेर काम गरेको छु । राम्रोसँग उत्पादन हुने रहेछ,’ घलेले भने, ‘अब सरकारको ध्यान मनाङमा पनि पुग्नुप¥यो । चिसो ठाउँको माछा झनै स्वादिलो हुन्छ । हामी सफल भएका छौं ।’
घलेले गाउँका अरु युवालाई पनि गाउँमै कृषि उद्यम गर्न सुझाव दिएका छन् । उनी गाउँमै सफल भएको देखेर अरुले स्याउ, ओखर लगायत खेती गर्न थालेका छन् । ‘कृषि, पशुको लागि सम्भावना भएको ठाउँ छ । गाउँलेहरु १५० को गोलभेंडा किनेर खान्छन्, खेततबारी बाँझो छ,’ वडाध्यक्ष घले भन्छन्, ‘बिस्तारै मैले गरेको देखेर अरु पनि प्रभावित भएका छन् ।’ स्याउ र ओखरमा सरकारले निकै धेरै अनुदान वितरण गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०