‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७९
durga baral – BY Durga paudel (4)

पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती अहिले रथ उक्लने तयारीमा छन् । पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार उनको सम्मानमा  रथारोहणसहित विशेष नागरिक अभिनन्दनसहित गएको छ । कला क्षेत्रमा उनले पुर्‍याएको योगदान र संघर्षको सम्मानस्वरुप रथारोहण हुन लागेको हो । काम र मेहनत गर्ने कलाकारलाई सम्मान गर्नु राम्रै भएको वास्त्यायनको पनि बुझाइ छ ।

साहित्यकारहरु विजय वजिमय, सरुभक्त, तीर्थ श्रेष्ठ र गायक सरोजगोपाल बज्राचार्यसँग संगतसँगै ५० वर्षअघि वात्स्यायन पोखरेली युवा सांस्कृतिक परिवारमा जोडिन पुगेका थिए । वजिमय पत्रिका निकाल्थे र बेच्थे पनि । उनको पसलमा धेरै साहित्यकार पनि जम्मा हुन्थे । साहित्यकारहरुसँग भेटघाट हुँदै गर्दा सोहीताका बराल पोयुसाप अध्यक्ष बनाइए । अहिले सल्लाहकार छन् ।

पोखरा उपत्यकाको पूर्वी पाखो आर्वाविजयमा १९९९ चैतमा जन्मिएका बरालले ३ वर्षकै उमेरमा आमा गुमाउनुप¥यो । बाल्यकालमा ढुंगाका छपनी देख्नासाथ चित्र बनाइहाल्ने बराल फूपूको छत्रछायामा बैदाममा हुर्किए । ढुंगा र अँगारले उनी छपनीमा घोडा, खच्चड र देवीदेवताका चित्रहरु बनाउथे । नागपञ्चमीका दिन बावुले बनाएका नागका चित्र, घरका भित्तामा बनाइने कलात्मक बुट्टा र तुलसीको मठमा राख्न फुपुले बनाउने मूर्तिका कारण उनको ध्यान चित्रकारितातिर ढल्कियो । आर्वाको ठाँटीबाट पढाइ सुरु गर्दादेखि नै आफूले चित्र बनाउन थालेको उनी सम्झन्छन् । त्यहाँ पढाइने दुर्गाकवच, चण्डी र अमरकोषमा भन्दा उनको ध्यान अन्यत्रै थियो ।
‘मलाई पढाइभन्दा चित्रतिर ध्यान हुन्थ्यो,’ उनले भने, ‘यहाँका फाँट, डाँडाकाँडा र पोखराको प्राकृतिक दृष्यले पनि म कलातिर ढल्किएँ ।’ सानै उमेरदेखि आफूमा सौन्दर्य र कलासम्बन्धी चेत भएको उनले बताए । आफूले कोरेको व्यङ्ग्यचित्र (कार्टुन) मा वरपर कतै त कतै काग उभ्याउने उनको कलालाई लाखौं पाठक र दर्शकले मन पराउने गरेका छन् ।

२००९ सालमा पोखरा झरेर उनी फूपूको घरमा र पछि ७ वर्षको उमेरदेखि नदीपुरस्थित मामाको घरमा बस्न थाले । टुँडिखेलस्थित मल्टिपर्पज अर्थात् अहिलेको राष्ट्रिय माविमा भर्ना भए । उनको रुची साहित्यतिर पनि थियो । त्यहाँ उनका साथीमध्ये एक थिए–मनु ब्राजाकी । ब्राजाकीमा पनि साहित्यप्रति उत्तिकै मोह थियो । विद्यालयमा एक दिन चित्र बनाउने प्रतियोगिता भयो । दुवै एउटै बेञ्चमा थिए र उनीहरुले चित्र कोरे । बरालले बनाएको चित्र देखेर ब्राजाकीले प्रस्ताव राखे–अबदेखि तिमी चित्र बनाउन छाड, म कथाकविता लेख्न छाडिदिन्छु । तर बरालले चित्र बनाउन छाडेनन् र ब्राजाकीले साहित्य लेख्न ।

२०१८ सालको एसएलसी परीक्षा उत्तीर्ण गरी उनी पृथ्वीनारायण कलेज भर्ना भए । विज्ञान विषय लिएर पढ्न थाले । शिक्षिका थिइन्, एलियाम्मा जोन । जीव विज्ञान पढ्दा बिरुवा र जीवहरुका राम्रा चित्र बनाएको देखेर एलियाम्माले बराललाई विज्ञान पढ्न छाडेर छात्रवृत्तिमा चित्रकारिता पढ्न सुझाव दिइन् ।

२०१९ सालतिर उनी काठमाडौं पुगे । यसअघि पोखरामा घरेलु शिल्पकला भण्डारका हाकिमले पनि उनलाई काठमाडौं जान सुझाएका थिए । उनै हाकिमले कलाको पढाइ र छात्रवृत्तिको लागि सिफारिस पनि बनाइदिए । काठमाडौंस्थित घरेलु शिल्पकलामा ५० रुपैयाँ मासिक ज्यालामा डिजाइनरको काम थाले । करकट्टि हुँदा ३५ रुपैयाँ मात्र गोजीमा पथ्र्यो । ३ महिनापछि उनले घरेलु छाडे । खर्चका लागि पैसा भएन । यस्तैमा, पोखरा गैह्रापाटनका शालिग्राम कोइरालाले उनलाई नयाँ सन्देश साप्ताहिक चलाउने रमेशनाथ पाण्डे कहाँ पु¥याए । नयाँ सन्देशमा बरालका व्यङ्ग्यचित्र प्रकाशित हुन थाले । मासिक ७५ रुपैयाँ तलब भए पनि पाण्डेले उनलाई पैसा दिएनन्, बरु ऋषिकेश शाहकी श्रीमती सिद्धान्तले संचालन गर्दै आएको कपालको डिजाइनसम्बन्धी काम गर्ने ठाउँमा पु¥याए । यहाँ पनि बराल ठगिए, पैसा पाएनन् ।

निराश भएपछि पोखरा फर्कने उनमा सोच पलायो । तर, मन बदलियो र कसैले उनलाई दिल्ली जान सुझाए । ठूलो शहर, ठूलो सपना । कलाकारिता पढ्ने र सिक्ने हुटहुटीले उनलाई गाँजेको थियो । दिल्ली शहरमा भौंतारिँदै गरेका बराल एउटा साइनबोर्ड बनाउने पसलमा पुगे । पसलको मालिकले परीक्षा लियो र साइनबोर्डमा लेख्न लगायो । इनामेल नचलाएका उनले ढिलो काम गरे र लेखाइ अब्बल भएन । उसले भन्यो यसरी यहाँ चल्दैन, हुन्न । ‘बरु चित्र बनाउन आउँछ कि ?’ भनेर उसले सोधे । बरालले चित्र बनाउन थाले । तर १०÷१२ दिनभन्दा बढी दिल्लीमा टिकेनन् । मालिकले पनि नेपाल सानो ठाउँ र प्रतिस्पर्धा गर्न सजिलो हुने तर भारतमा कडा प्रतिस्पर्धा रहेको सुनाउँदै स्वदेश नै फर्कन सुझाए । रक्सौलसम्मको भाडा उसैले हालिदियो । त्यहाँबाट रित्तो खल्ती बोकेर बराल बस चढे र पुनः काठमाडौं उत्रिए ।

पुनः कामको खोजीमा लागे । ५ दिनसम्म पानीको भरमा भोकै बसे । जनक शिक्षा सामग्रीमा उनको साथी ड्राइभरको काम गर्थे । उनैले होटेलमा लगेर बराललाई केही खुवाए र जनक शिक्षामा डिजाइन शाखाका हाकिम केशव दुवाडीसँग पनि भेटाइदिए । यो २०२२ सालको कुरा हो । दिनको ५ रुपैयाँमा काम सुरु भयो । नासुसरहका उनी अस्थायी कर्मचारी बने त्यहाँ । पछि स्थायी पनि भए । तालिमको लागि त्यहींबाट जापान जाने अवसर पनि पाए । ३ महिनापछि नेपाल फर्किए र लगत्तै उनी पोखरा नै फिर्ता भए ।
२०२६ सालमा पोखरा फर्किएका बरालले मोहोरिया टोलमा २०३० सालमा इगल आई आर्ट स्टुडियो खोलेर फोटो र चित्रकारिताको काम गर्न थाले । फ्ल्याट भाडामा लिएर विभिन्न अर्डरको काम थाले । पहिले पोखरा छाड्नुअघि र फर्किएपछि पनि खेमनारायण श्रेष्ठको फोटो पसलमा काम गरेका थिए । पोखरा आएपछि रामबजारस्थित सुुशील गोसलीको फोटो स्टुडियोमा पनि उनले काम गरे ।

अंग्रेजी उति नजाने पनि उनी टाइम्स अफ इन्डियाका कार्टुन हेर्थे । संग्रह गरेर राख्थे । राष्ट्रपुकार, देशान्तर, सुरुची र गोरखापत्रका लागि पनि व्यङ्ग्यचित्र बनाए । पृथ्वीनारायण क्याम्पसमा कला प्रशिक्षक भएर पनि काम गरे । पञ्चायती शासकको विरोध गरेर व्यङ्ग्यचित्र बनाउँदा डर भयो । नेपाली पढाउने प्राध्यापक सामनाथ पौडेलले बराललाई ‘वात्स्यायन’ उपनाम राखेर चित्र बनाउन सुझाए । वात्स्यायन ६४ कलाका ज्ञाता र गुरु भएको बताइन्छ ।

त्यसपछि बराल पचासको दशकबाट कान्तिपुर पब्लिकेसन्सका लागि व्यङ्ग्यचित्र बनाउँदै आएका छन् । उनी अहिले मोतियाबिन्दुका कारण बायाँ आँखाको अप्रेसन गरी स्वास्थ्य लाभ गर्दैछन् । तिलगंगा आँखा अस्पतालमा नै दाहिने आँखाको पनि अप्रेसन गर्ने तयारीमा उनी छन् । स्वास्थ्य अवस्थाका कारण अहिले चित्र नबनाएको उनले सुनाए । कान्तिपुर पत्रिका छाडिसकेका त छैनन् तर कोभिडपछि पत्रिकाको पृष्ठसंख्या र ब्यापार घटेपछि उनी त्यति सक्रिय पनि छैनन् । उनले हास्यव्यङ्ग्य विधामा वासुदेव–विद्यादेव लुइँटेल गुठीले प्रदान गर्ने वासुदेव लुइँटेल पुरस्कार–२०५४ लगायत थुप्रै पुरस्कार पाएका छन् । उनी नेपाल ललितकला संस्थानको सदस्य पनि भए । उनले पहिलो एकल चित्रकला प्रदर्शनी २०३५ सालमा सोही संस्थानमा नै गरेका थिए । फोटोग्राफी र शारीरिक सुगठनको विकास र विस्तारमा पनि उनको योगदान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width