उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७९
FNCCI Anjan

पोखरा । नेपाल उद्योग वणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । चैत अन्तिममा हुने महासंघको निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

चैत २८ र २९ मा हुने महासंघको साधारणसभा तथा निर्वाचनमा पोखराका श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेवारी दिने घोषणा मंगलबार गरेका हुन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले चैतपछि महासंघको नेतृत्व गर्नेछन् । ३ वर्षे कार्यकाल रहने महासंघमा ढकालपछि यसपटक जसले वरिष्ठ उपाध्यक्षमा चुनाव जित्छ सोही व्यक्तिले नेतृत्व गर्नेछ ।

अञ्जनसँगै उनको प्यानल नै घोषणा भएको छ । जसमा जिल्लागत उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार रहने छन् । एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधानको उम्मेदवारी रहने श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले आफू देशको अधिकांश ठाउँमा पुगेर व्यापारी, व्यवसायीको गुनासो सुनेको र त्यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । धेरै व्यवसायीहरुको गुनासो बैंकको चर्को ब्याजदर रहेको उनको भनाइ थियो ।

लक्ष्मी ग्रुपका निर्देशक अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन् । उनले उमेशलाल श्रेष्ठलाई हराएर यसअघि चुनाव जितेका थिए ।

महासंघका हालका उपाध्यक्ष श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन् । उनी महासंघमा आबद्ध भएको भने २० वर्ष पूरा भएको छ । महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेको अनुभवसमेत उनीसँग छ ।

लक्ष्मी ग्रुपका निर्देशक अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन्

लक्ष्मी ग्रुपले उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ । उत्पादनमूलकतर्फ सुजल फुड, सुजल प्लास्टिक, सिद्धिलक्ष्मी स्टिल, सुजल डेरी छन् । खाद्य उद्योगतर्फ लक्ष्मी ग्रुपको कन्फेक्सनरी उत्पादन नेपालभर नै लोकप्रिय छ । चोकोफन, सुजल गम, स्मार्ट ललीपप, मिल्क फल्सलगायत ब्रान्ड छिमेकी देश भारत र चीनमा निर्यात हुन्छन् ।

सोही ग्रुपको सुजल प्लास्टिकले खाद्य तथा पेय पदार्थ उद्योगका लागि बोतल र जारमा पूर्ण प्याकेजिङ उत्पादन गर्छ । यसले एक्वा हन्ड्रेड, बिस्लेरी, किन्ले, स्प्रिंगले, थस्र्टपाइ जस्ता प्रख्यात ब्रान्डलाई सेवा दिइरहेको छ । लक्ष्मी ग्रुपअन्तर्गतकै स्टिल उत्पादन गर्ने संस्था सिद्धिलक्ष्मी स्टिलले समृद्धि स्टिल, एक्सरिब्ड टिएमटी रिबार्स उत्पादन गर्दै आएको छ ।

लक्ष्मी समूहको सहायक कम्पनी दूध प्रशोधन गर्ने ठूलो कम्पनीका रुपमा सुजल डेरीले परिचय बनाएको छ । यो कम्पनीले दूध, दही, घिउ, आइसक्रिम, बटर, नौनी, पनिर र पाउडर उत्पादन र बिक्री गर्दै आएको छ ।

व्यापारतर्फ जयमा लक्ष्मी ट्रेडिङले चिनी, पाउडर दूध, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ ।

लक्ष्मी ग्रुपको महत्वपूर्ण बिजनेस अटोमोटिभ हो । कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेइकल्सको आधिकारिक बिक्रेता हो । यसले अटोपार्ट, लुब्रिकेन्टसमेत बिक्री वितरण गर्छ । त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकरिक बिक्रेता लक्ष्मी ग्रुप हो । लक्ष्मी गु्रप प्रिमियम अटो ब्रान्ड बिएमडब्लु गाडीको आधिकारिक बिक्रेता हो । यसैगरी जयमा इन्टरकन्टिनेन्टल कम्पनीले ओप्पो र कुलप्याड जस्ता मोबाइल ब्रान्डहरू आयात गर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width