पोखरा । पोखरा ३ नदीपुरका महेन्द्र राईले ६ महिनाअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को फर्म अनलाइनबाट भरे । फारम भरेवापत उनले साइबरमा २ सय ५० रुपैयाँ तिरे । एक सातापछि यातायात व्यवस्था कार्यालय (लाइसेन्स) पुगेर सोधपुछ गर्दा सूचीमा उनको नाम देखिएन । नाम काटियो या फर्म भर्नेले राम्रोसँग भरिदिएन, थाहा पाएनन् ।
लाइसेन्स नबोकी यात्रा गर्दा समस्या झेल्नु परेपछि उनी मंगलबार यातायात व्यवस्था कार्यालय (लाइसेन्स) नै फर्म भर्न पुगे । उनलाई कार्यालयतिरै गएर फर्म भरे पालो छिटो आउँछ भनेर साथीले सुझाएका थिए । आफैंले भर्न नसक्ने भएपछि सहारा खोज्दै बिचौलियासँग पुगे । त्यहाँ पुगेपछि १५ सयदेखि २ हजारसम्मको रेट सुनेपछि आफू फस्दै छु भन्ने उनलाई थाहा भयो । तर, अनलाइन भर्न नजान्दा विविध सेवा नामका बिचौलियासँग बाझ्नुभन्दा अर्को उपाय थिएन ।
यसरी नै लाइसेन्सको अनलाइन फर्म भर्न नजान्दा धेरैजसो मानिसहरुले हैरानी खेपिरहेका हुन्छन् । अनलाइन फर्म भर्न नजान्दा यातायात कार्यालयमा गएर घन्टौं लाइन लाग्नुपर्ने बाध्यता र फर्म भर्दा हुनसक्ने गल्तीले थप तनाब सिर्जना गर्छ । कतिपयले आफैं फर्म भर्न नजान्दा साइबर पुगेर धेरै पैसा तिर्न बाध्य छन् । यद्यपि कतिपयलाई लाइसेन्सको अनलाइन फर्म इन्टरनेटको सहायताले स्मार्ट फोन, ल्यापटप वा डेस्कटप कम्प्युटरबाट सहजै भर्न सकिन्छ भन्ने थाहासमेत छैन ।
तर, थाहा भएकाहरु पनि अनलाइनमा फर्म भर्न नसकेर हैरानी खेप्दै आएका छन् । कति बेला पालो आउँछ अनि कति कोटापछि बन्द हुन्छ भन्ने सबै बिचौलियालाई मात्र थाहा हुने गरेको सेवाग्राही महेन्द्र राईले बताए । उनले बिचौलियाले महँगो शुल्क लिएर अनलाइन फर्म भर्दा पनि कार्यालय मुकदर्शक बनेको आरोप लगाए । ‘हामीले भर्छु भन्दा पनि पालो कति बेला आउँछ, आउँछ । सबै यी बिचौलियालाई मात्र थाहा हुन्छ । यो सबै यिनीहरुको सेटिङ हो,’ उनले भने, ‘यातायात कार्यालयका हाकिमहरुकै अगाडि घुस लिँदा पनि केही गर्न सक्दैनन् ।’
स्कुटरको ब्लुबुक रिन्यु गर्दा ३ हजारमा काम सकिन्छ, यहाँ त एउटा फर्म भरेकै २ हजारसम्म लिने रहेछ
बिचौलियाको पनि समय लाग्ने भएकाले केही रकम लिएर काम गर्दा हुनेमा अधिक पैसा असुल्ने गरेको उनको आरोप छ । ‘सबैलाई अनलाइनको पहुँचमा नहुन सक्छन् । यहाँ बिचौलियाले त्यसमा सहजीकरण त गरेका छन् तर पैसा अचाक्ली लिने गर्छन्,’ उनले भने, ‘एउटा स्कुटरको रिन्यु गर्दा ३ हजारमा काम सकिन्छ, यहाँ त एउटा फर्म भरेकै २ हजारसम्म लिने रहेछ । यो त सरासर भ्रष्टाचार भयो नि ।’
यता, यातायात व्यवस्था कार्यालय (लाइसेन्स) का निमित्त प्रमुख शंकरबहादुर थापाले अनलाइन फर्मको काम सबै यातायात व्यवस्था विभागबाट हुने बताए । जसले गर्दा पोखराको कार्यालयसँग कुनै सरोकार नहुने उनको भनाइ थियो । ‘यहाँ हामीले भर्न परे पनि आइटीको साथीहरुलाई लगाउने हो,’ उनले भने, ‘हामीले यहाँबाट केही गर्नै सक्दैनौं, सबै माथिबाटै हुन्छ ।’ पोखरा कार्यालयका लागि दैनिक रुपमा मोटरसाइकलको १ सय स्कुटरको १ सय ५० को मात्र कोटा हुने अनि बन्द हुने उनले सुनाए । ‘दिनमा हजारौंले फर्म भर्न खोज्छ तर कोटा पूरा भएर बन्द भएपछि कसैले केही गर्न सक्ने कुरा रहँदैन,’ उनले भने, ‘कार्यालय लम्बेतान गरेर अनलाइन फर्म ननिस्केको भन्ने हुँदैन ।’
बजारमा कसले कति रकम लिएर फर्म भर्छ भन्ने कुरा आफूहरुको क्षमताभन्दा बाहिरको कुरा भएको थापाले बताए । ‘कसैले बढी लेला कसैले कम लेला पसल पसल चहार्दै जाने कुरा सम्भव भएन नि,’ उनले भने, ‘हामीले त भिजिट डेटको दिन अनलाइन फर्म दर्ता, लिखित र प्रयोगात्मक परीक्षा गरिदिने हो ।’ काबु बाहिरको विषयमा आरोप लगाउनुु गलत रहेको उनको भनाइ थियो । उनले कार्यालयले घुस नलिएको अनि फर्ममा ढिलो चाँडो पनि नगरेको प्रष्ट पारे । सबै काम यातायात व्यवस्था कार्यालयले गर्ने भएका कारण अनलाइन फर्म राम्रो कि नराम्रो भन्ने विषय विभाग मातहत रहेको उनले प्रष्ट्याए ।
Related News
सम्बन्धित समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
१० हजार नपाएको झोंकमा हत्या !
hero news full width
मुख्य समाचार
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९